कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बालुवाटारमा संवैधानिक परिषद्को बैठक, सभामुख सापकोटा र कांग्रेस सभापति देउवा अनुपस्थित

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहभागी भएका छन् ।

बालुवाटारमा संवैधानिक परिषद्को बैठक, सभामुख सापकोटा र कांग्रेस सभापति देउवा अनुपस्थित

सभामुख अग्नि सापकोटा र प्रतिपक्ष दल कांग्रेसका नेता शेरबहादुर देउवा भने बैठकमा अनुपस्थित भएका छन् ।

देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्दै संसदीय मूल्य मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमै प्रहार गरेको भन्दै बैठकमा आफूले पनि भाग नलिने र अरु सदस्यलाई पनि भाग नलिन आग्रह गरेका थिए ।

त्यस्तै संवैधानिक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा गएकाले त्यसैको निरन्तरता हुने बैठकमा सहभागी नहुने बताएका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन सदस्यहरुलाई आग्रह गरेका थिए ।

प्रधानन्यायाधीशले जोगाउनुपर्ने संवैधानिक परिषद्को लाज

सरकारले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धीसहित सातवटा अध्यादेश जारी गरेको पाँचौं दिन आइतबारका लागि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक डाकेका हुन् ।

उनले प्रतिनिधिसभामा सोमबार विश्वासको मत लिन लागेका छन्, हालकै अवस्थामा विश्वासको मत पाउने सम्भावना छैन । यस्तो अवस्थामा उनले एक दिनअघि संवैधानिक निकायमा नियुक्तिका लागि बैठक डाकेका हुन् । बैठकले विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका प्रमुख आयुक्त, आयुक्त तथा सदस्य सिफारिस गर्ने कार्यसूची रहेको छ

गत मंसिर ३० गते जारी गरिएकामा झैं यस पटकको अध्यादेशमा पनि संवैधानिक परिषद्को अध्यक्ष र तत्काल बहाल सदस्यहरूको बहुमत भए गणपूरक संख्या मानिने व्यवस्था छ । यसबाट प्रधानमन्त्रीसहित अरू दुई सदस्य उपस्थित भए संवैधानिक परिषद्को बैठक बस्न सक्नेछ । सर्वसम्मतिमा निर्णय हुन नसके प्रधानमन्त्रीसहित तत्काल बहाल सदस्यहरूको बहुमतले निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ।

संविधानअनुसार, संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रमुख विपक्षी दलको नेता, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र उपसभामुख हुन्छन् । अहिले उपसभामुखको पद रिक्त छ । सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाले साथ नदिने भएकाले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको साथमा निर्णय गर्न प्रधानमन्त्री ओलीले बैठक डाकेका हुन् ।

प्रकाशित : वैशाख २६, २०७८ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?