१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जसपा अझै अनिर्णीत

ठाकुर पक्ष नमाने बहुमतबाटै ओलीविरूद्ध जाने यादव पक्षको तयारी
एमालेको खनाल–नेपाल पक्षले असहयोग गरे ठाकुर पक्ष पनि गठबन्धनमा आउने सम्भावना 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव नेतृत्वको पूर्वसमाजवादी धारले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको प्रस्तावविरुद्ध मतदानका लागि केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलको बहुमतबाट निर्णय गर्ने तयारी गरेको छ ।

जसपा अझै अनिर्णीत

यादवनिकट नेता रामसायप्रसाद यादवले अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष नमानेमा बहुमतबाटै निर्णय हुने बताए । ‘सर्वसम्मति भएन भने बहुमतबाट निर्णय गर्ने लोकतान्त्रिक विधि नै हो,’ उनले कान्तिपुरसँग भने, ‘हाम्रो पहिलो प्रयास सर्वसम्मत निर्णय गराउनेमा हुनेछ, भएन भने पार्टी र दलको बहुमतबाटै ओलीले राखेको प्रस्तावविरुद्ध मतदानमा जाने निर्णय हुन्छ । यसमा कुनै द्विविधा छैन ।’

यादव पक्षले केन्द्रीय कार्यकारणी समिति र संसदीय दलबाट आफ्नो पक्षको प्रस्ट बहुमत रहेको दाबी गर्दै आएको छ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा लागेका चार सांसदको पद खारेज गर्दा यादव पक्षले केन्द्रीय कार्यकारणी समितिको बहुमत सदस्यको हस्ताक्षर भएको निर्णय सार्वजनिक गरेको थियो । महेन्द्र राय यादवसहित तीन सदस्यले पूर्वराजपा धार छाडेपछि पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्ष बहुमतमा पुगेको छ । तीनमध्ये महेन्द्र राय सांसदसमेत भएको र पूर्वसमाजवादीमा रहेका सांसद कसैले पनि अहिलेसम्म कित्ता परिवर्तनको घोषणा नगरेकाले संसदीय दलमा पनि यादव पक्ष बहुमतमा देखिएको छ । दलमा दुवै पक्षका १७/१७ सांसद थिए । तीमध्ये महेन्द्र रायले कित्ता परिवर्तन गरेपछि यादव पक्ष बहुमतमा पुगेको हो । ती समूहका एक/एक सांसद निलम्बनमा छन् ।

५१ सदस्यीय केन्द्रीय कार्यकारणी समितिमा एकीकरणका बखत पूर्वराजपाबाट २६ र समाजवादीबाट २५ सदस्य हुने गरी भागबण्डा गरिएको थियो । लुम्बिनीका चार प्रदेश सांसदलाई पदमुक्त गर्ने र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव लैजाने दुई एजेन्डामाथि वैशाख १४ गतेको बैठकले निर्णय गरेको भनी यादव पक्षले सार्वजनिक गरेको डकुमेन्टमा २६ जनाको हस्ताक्षर थियो ।

प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने तयारीमा रहेका अर्का अध्यक्ष महन्थ ठाकुर नेतृत्वको पूर्वराजपा पक्ष भने पछिल्लोपटक सत्तारूढ एमालेभित्रकै आन्तरिक कलहलाई नियालिरहेको छ । एमाले नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिई सांसदबाट राजीनामा दिने चर्चा चलेपछि ठाकुर पक्ष तत्काल कुनै निर्णयमा पुग्न सकेको छैन । उनीनिकट नेताहरूका अनुसार एमालेको खनाल–नेपाल समूहले ओलीलाई असहयोग गर्ने निर्णय लिएमा ठाकुर पक्षले तटस्थताको नीति लिने सम्भावना छ ।

आफ्नै पार्टीका नेतालाई नमिलाएसम्म जसपाको पूर्वराजपा धारको मतले मात्रै प्रधानमन्त्री ओलीको सत्ता टिक्दैन । खनाल–नेपाल समूहलाई मिलाउन सकेमा मात्रै पूर्वराजपा धारको मतले प्रधानमन्त्री ओलीको पद जोगाउन सक्छ । सत्तारूढ दल एमालेभित्रै हुने भूमिकाले जसपाको निर्णय तलमाथि पर्न सक्ने पूर्वराजपा धारका नेता मनीष सुमनले बताए । ‘सत्तारूढ पार्टीभित्रै प्रधानमन्त्रीलाई असहयोग भयो भने हाम्रो भोटको के काम ? हाम्रो भोट निर्णायक हुने अवस्था आयो भने मात्रै सहयोग गर्ने कि नगर्ने भन्ने निर्णय हुन्छ,’ उनले भने, ‘एमालेको खनाल–नेपाल पक्षको सहयोग भएन भने पार्टीको हितका लागि पनि तटस्थ बस्ने भूमिकामा हामी पुग्न सक्छौं ।’ कतिपय नेताहरूले भने एमालेबाटै असहयोग भएमा जसपा सिंगो रूपमा ओलीविरुद्धको गठबन्धन सरकारमा जाने दाबी गरेका छन् ।

कस्तो निर्णय लिने भन्नेबारे पार्टीको केन्द्रीय कार्यकारणी समिति र संसदीय दल बैठक बसेर मात्रै तय हुने उनको भनाइ छ । ‘यही निर्णय हुन्छ भनेर अहिल्यै कसैले ढिपी कस्ने काम नगरौं, संस्थागत रूपमा जे निर्णय हुन्छ, त्यसलाई मानेर अघि बढ्नुपर्छ,’ उनले भने । पूर्वराजपा धारकै अर्का एक नेताले एमालेको खनाल–नेपाल पक्षले ओलीलाई असहयोग गर्ने नीति लिएमा जसपा एक ढिक्का भएरै वैकल्पिक सरकारको पक्षमा जाने दाबी गरे । एमाले एकढिक्का भएर सरकार बचाउन अघि बढेमा भने ठाकुर पक्षले ओलीलाई सघाउने निश्चितजस्तै छ । ठाकुर पक्षलाई फकाउन ओलीले मधेस र थरूहट आन्दोलनका क्रममा परेमा जसपा स्थानीय कार्यकर्ताका मुद्दा फिर्ता गर्ने निर्णय गरेका छन् । तीन चरणमा उनले करिब डेढ सय स्थानीय कार्यकर्ता जोडिएका १८ वटा मुद्दा फिर्ता लिइसकेका छन् ।

पूर्वसमाजवादी धारले भने वैचारिक कोणबाटै ओलीविरुद्ध जाने निर्णय हुने बताउँदै आएको छ । यादव पक्षले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट लुम्बिनी प्रदेशका आफ्नै पार्टीका चार सांसदको पद खोसिदिएपछि जसपाभित्र तीव्र ध्रुवीकरण बढेको हो । अध्यक्ष ठाकुर पक्षले पनि पार्टी र दलमा बहुमत पुर्‍याउने उद्देश्यका साथ हस्ताक्षर थालेपछि पार्टी विभाजनको जोखिम बढेको छ । यद्यपि ठाकुरले गरेको हस्ताक्षरप्रति वरिष्ठ नेता राजेन्द्र महतो नै असन्तुष्ट बनेपछि अहिले रोकिएको छ । ठाकुरले समसामयिक निर्णयका लागि आफूलाई प्राधिकार दिने भाषा माइन्युटमा लेखेर हस्ताक्षर गराएका थिए । त्यसको दुरुपयोग हुन सक्ने भन्दै सशंकित बनेका महतोले असन्तुष्टि जनाएका हुन् । महतोको असन्तुष्टिपछि माइन्युटमा लेखिएको भाषा संशोधन गरिएको थियो तर बहुमत नपुग्ने भएपछि हस्ताक्षर रोकिएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिने तय भइसकेका कारण अध्यक्ष यादवले केन्द्रीय कार्यकारिणी समिति र दलको औपचारिक बैठक राख्न चाहेका छन् तर ठाकुर पक्षले मानेको छैन । यादवले बुधबार साँझ महतोलाई टेलिफोन गरेर यस विषयमा छलफल गरेका थिए । महतोले लुम्बिनीका चार सांसदको राजनीतिक भविष्य समाप्त पारिदिएको भन्दै यादवसँग असन्तुष्टि जनाएका थिए । ‘तपाईंले बहुमतको हस्ताक्षर गरेर बैठक नबसी चार जना साथीको राजनीतिक भविष्य समाप्त पारिदिनुभयो, त्यसलाई नसच्चाएसम्म कसरी बैठक बस्ने ? त्यस्तै काम गर्ने हो भने हामी पनि बहुमत पुर्‍याएर गर्न सक्छौं,’ महतोको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

औपचारिक बैठक बस्ने/नबस्ने अन्योल भइरहेकै बेला माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले ठाकुर र महतोसँग संवाद अघि बढाइरहेका छन् । कांग्रेसका एक नेताको दाबीमा एमालेको नेपाल पक्षले असहयोग गरेको खण्डमा मात्रै ठाकुर र महतो पक्षले वैकल्पिक सरकारका लागि सघाउने छन् तर यादव पक्ष बिनासर्त ओलीको विकल्प खोज्नुपर्ने बताउँदै आएको छ ।

‘प्रतिगामी प्रधानमन्त्रीको पक्षमा जसपा हुन्न, विरोधमा जान्छ, संघीयता र संविधानलाई समाप्त पार्ने, समावेशी र लोकतन्त्रविरुद्ध षड्यन्त्र गर्ने प्रधानमन्त्रीलाई सत्ताबाट हटाउने हाम्रो वैचारिक अडान हो,’ पूर्वसमाजवादी धारका नेता रामसहायप्रसाद यादवले भने, ‘ओलीको पक्षमा जाने वा तटस्थ बस्ने भन्ने कुरै हुन्न । सर्वसम्मत भएन भने हामीसँग पार्टी र दलमा यथेष्ट बहुमत छ । त्यसको आधारमा निर्णय हुन्छ । विचार र सिद्धान्तको कुरामा व्यक्तिको कुरा प्रमुख हुँदैन ।’

प्रकाशित : वैशाख २६, २०७८ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?