१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

घरमै गम्भीर, अस्पताल लैजाँदा मृत्यु

अस्पतालमा बेड नपाएर होम आइसोलेसनमा बस्नुपर्ने संक्रमितको बाध्यता छ । संक्रमणले च्यापेपछि अस्पताल चहार्दाचहार्दै संक्रमितको ज्यान जाने गरेको छ ।

रुपन्देही, पाल्पा, अर्घाखाँची — तिलोत्तमा–५ का ८३ वर्षीय वृद्धलाई १५ दिनअघि रुघाखोकी लाग्यो । ज्वरो आयो । जीवनमा सिटामोल आवश्यक नपरेका उनलाई एक्कासि अक्सिजन खाँचो पर्‍यो । परिवारले कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षण गराए । संक्रमण पुष्टि भएपछि घरमै रेखदेख सुरु गरे ।

घरमै गम्भीर, अस्पताल लैजाँदा मृत्यु

‘अस्पतालमा बुझ्दा कतै बेड पाइएन,’ उनकी जेठी छोरीले भनिन्, ‘त्यसपछि नर्स बोलाएर घरमै अक्सिजन चढायौं ।’ घरमै ६ सिलिन्डर चढाए पनि अक्सिजनको मात्रा बढेन । त्यसपछि अस्पताल चहारेर बेड खोजी गरे । कतै बेड पाइएन । ‘त्यसपछि घरमै राख्न बाध्य भयौं,’ छोरीले भनिन्, ‘बुबाको अन्तिम छटपटी हेर्न मात्र सक्यौं, उहाँका आँसु पुछ्न सकेनौं ।’

कोरोना संक्रमणले बुटवल–११ का ३२ वर्षीय युवकको शुक्रबार मृत्यु भयो । ज्वरो आएपछि उनले केही दिन मेडिकलबाट औषधि किनेर खाएका थिए । एक्कासि श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हाइफ्लो अक्सिजन र आईसीयू बेड आवश्यक पर्‍यो । त्यसपछि आफन्तले कोरोना अस्पतालमा बेड खोजे । कतै पाइएन । अन्तिममा भैरहवास्थित भीम अस्पतालमा पुर्‍याए । त्यहाँ बेडको प्रतीक्षामा एक रात भुइँमै बिताए । ‘बेड खाली नहुँदै उनले अन्तिम सास फेरे,’ मृतकका आफन्त गोपाल परियारले भने ।

रोहिणी गाउँपालिकास्थित अस्थायी अस्पतालमा बिहीबार दुई संक्रमितले ज्यान गुमाए । रोहिणी–२ का ६० वर्षीय र २२ वर्षीय पुरुषको आईसीयू बेड नपाएर ज्यान गएको अस्थायी अस्पतालका डा. उमेश गुप्ताले बताए । संक्रमण पुष्टि भएपछि उनीहरू एक साता होम आइसोलेसनमा बसेका थिए । अक्सिजन आवश्यक परेपछि अस्थायी अस्पतालमा ल्याइएका उनीहरूको बिहीबार राति मृत्यु भएको उनले बताए ।

अस्पतालमा उपलब्ध सबैभन्दा धेरै लिटरको अक्सिजन जडान गर्दा पनि लेभल नबढेपछि आईसीयू खोजी गरेको र नपाइएको उनले बताए । पाल्पाको तानसेन नगरपालिका–३, भगवती टोलका ५६ वर्षीय पुरुषले संक्रमित भए पनि आफ्नो ख्यालै गरेनन् । बिहीबार बजारमा तरकारी लिन पुगेका थिए । रक्तचापका बिरामी उनलाई त्यही साँझ अस्पताल लैजानुपर्ने भयो । परिवार र आफन्तले शुक्रबार उनलाई लिएर अस्पताल चहारे । कतै आईसीयू, भेन्टिलेटर पाएनन् । शुक्रबार साँझ उनको मृत्यु भयो ।

होम आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितले अस्पतालको मुख नदेखेरै ज्यान गुमाउने क्रम बढ्दै गएको छ । संक्रमणले च्यापेपछि अस्पतालतिर दौडाइए पनि अस्पताल चहार्दाचहार्दै संक्रमितको ज्यान जाने गरेको छ । अस्पतालमा बेड नपाएर होम आइसोलेसनमा बस्नुपर्ने अधिकांश संक्रमितको बाध्यता छ । कतिपयलाई भने सामान्य लक्षण देखिँदासम्म बेवास्ता गर्दा पनि संक्रमणले जटिल अवस्थामा पुर्‍याउने गरेको छ ।

निस्दी गाउँपालिका–५, गल्धाका २८ वर्षीय संक्रमित युवाका परिवारले तानसेनको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा बेड पाइन्छ कि भन्दै चहारे । कतै बेड पाएनन् । एम्बुलेन्समा फर्किंदै गर्दा रामपुर नगरपालिका–९, जब्गादीमा अवस्था गम्भीर भयो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई गाउँपालिकाले निर्माण गरेको गल्धा, ढुंगानाबेंसीको आइसोलेसनमा लगियो ।

‘अक्सिजन लेबल ४५ मा झरेको थियो,’ निस्दी स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगरले भने, ‘उनलाई श्वासप्रश्वासमा समस्या नआओस् भनेर रातभर दुई सिलिन्डर अक्सिजन सकियो । अहिले सिलिन्डर खोज्न भौंतारिनुपरेको छ ।’

उनलाई अक्सिजन दिएर राखे पनि अवस्था गम्भीर नै छ । समयमा जानकारी नदिने र आफ्नै लापरबाहीले गर्दा ज्यान जोखिममा परेको हो । ‘कतिपय बिरामीले आफैं घर जान्छु भन्दै हिँड्दा पनि समस्या भएको छ,’ माथागढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशव जीसीले भने, ‘लापरबाहीले गर्दा आफ्नै ज्यान जोखिममा पारेको देखिएको छ ।’

गुल्मीको छत्रकोट–३ का ७६ वर्षीय पुरुषको शनिबार मृत्यु भयो । उनी पाँच दिनअघि संक्रमित भएपछि होम आइसोलेसनमै थिए । घरमा जुस, तातोपानी, जडीबुटी खाँदै बसेका थिए । छिमेकी खिमलाल पन्थका अनुसार शुक्रबार राति श्वास फेर्न अप्ठेरो भएर छटपटिए । शनिबार बिहान अस्पताल लैजान एम्बुलेन्स आइपुग्यो । त्यही बेला उनको मृत्यु भयो ।

‘श्वास फेर्न अप्ठ्यारो परेको छिनभरमै छटपटाएर ज्यान गयो,’ पन्थले भने । अर्घाखाँची अस्पतालमा तीन दिनदेखि उपचार गराइरहेकी मालारानी–६ का ५४ वर्षीया महिलाको श्वास फेर्न सकस भएरै शुक्रबार मृत्यु भयो । मृतकका आफन्तका अनुसार संक्रमित भएर अस्पताल पुगेको दुई/तीन घण्टामै उनको ज्यान गयो । ‘श्वास फेर्न गाह्रो हुने बिरामीलाई आईसीयूमा राखेर उपचार गर्नुपर्छ, अर्घाखाँचीमा आईसीयू छैन,’ अस्पताल प्रमुख डा. कपिल गौतमले भने । स्वास्थ्य कार्यालयका अनुसार अर्घाखाँचीमा अहिलेसम्म ३० र गुल्मीमा १६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

प्रदेशमा सबैभन्दा धेरै रूपन्देहीमा संक्रमित थपिरहेका छन् । त्यसपछि बाँकेमा धेरै संक्रमित पुष्टि हुने गरेका छन् । महामारी समुदायमा पुगेकाले केही समय संक्रमित बढ्ने देखिएको लुम्बिनी प्रादेशिक जनरल फिजिसियन डा. सुदर्शन थापाले बताए । ‘हाम्रो स्वास्थ्य प्रणालीको अवस्था यस्तै हो,’ उनले भने, ‘द्रुत तयारी नगरे भयावह अवस्था आउने देखिन्छ ।’ उनका अनुसार घरघरमा रहेका बिरामीको अवस्था गम्भीर बन्नाले र बेड, अक्सिजन अभाव हुँदासमेत मानिस सचेत नभएकाले समस्या बढ्ने संकेत देखिएको उनले बताए ।

प्रदेश स्वास्थ्य सचिव डा. विकास देवकोटाले यहाँ रहेका मेडिकल कलेजलाई कोरोना अस्पतालका रूपमा प्रयोग गरी बेड र अक्सिजन व्यवस्थापन गर्न लागेको बताए । ‘नेपालगन्जमा लिक्विड अक्सिजन ल्याउन बाटो खुलेको छ,’ उनले भने, ‘त्यसले केही सहज हुनेछ । हरेक उद्योगबाट संकलन गरिएका खाली सिलिन्डर भरेर प्रयोग गर्न लागेका छौं ।’ लुम्बिनी प्रदेशका सबै अस्पतालमा चाप छ । बेड पाइने आसमा भुइँमा बसेर उपचार भइरहेको छ । अस्पताल आउने अधिकांशलाई अक्सिजन, आईसीयू आवश्यक पर्ने चिकित्सकले बताए ।

अस्पतालमा गम्भीर बिरामी दिनहुँ थपिन्छन् । चिकित्सकका अनुसार पहिले भर्ना भएका बिरामी निको हुन समय लाग्ने देखिएको छ । निको भएपछि वा कसैको मृत्यु भए मात्र बेड खाली हुने गरेको छ । अस्पतालमा भर्ना भएका संक्रमितलाई कम्तीमा १२ र बढीमा २२ दिनसम्म बेडमै उपचार गर्नुपरिरहेको भैरहवास्थित भीम अस्पतालका कोरोना फोकल पर्सन डा. आरिफ हुसेनले बताए । उनका अनुसार भर्ना भएका बिरामीको मृत्युदर धेरै छ । भर्ना भएकामध्ये ३० प्रतिशत छिटो निको भइरहेका छन् ।

प्रकाशित : वैशाख २६, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?