कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अस्पतालको सिँढीमुनि छटपटाउँदै बिरामी

अर्जुन शाह

धनगढी — प्रदेशको रेफरल सेन्टरका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्षसमेत संक्रमित र अन्य बिरामीले भरिभराउ छ । बिरामीका आफन्त अक्सिजनका लागि भौतारिरहेका छन् ।

अस्पतालको सिँढीमुनि छटपटाउँदै बिरामी

अस्पतालमा शय्या अभावले ग्यालरी, सिँढीमुनि पनि बिरामी राखिएका छन् । स्वास्थ्यकर्मीहरू हैरान छन् । अस्पताल पुगेर पनि अधिकांशले उपचार पाउन नसक्दा रोइकराइ गर्दै भगवान् पुकारिरहेका छन् ।

अक्सिजनको सबैभन्दा ठूलो संकट देखिएको छ । सेती प्रादेशिक अस्पतालमा शनिबार बिहान मृत्यु भएका दार्चुलामा कार्यरत एक कर्मचारीका परिवारले शुक्रबार रातभर अक्सिजनका लागि हारगुहार गरे पनि कतै भेटाएनन् । ‘उहाँकी श्रीमतीको आग्रहमा हामीले पनि रातभर अक्सिजन सिलिन्डर खोज्यौं तर कतै भेटाएनौं,’ धनगढीका स्वयंसेवी प्रकाश चन्दले भने, ‘अक्सिजन नपाएर मेरा श्रीमान् बित्ने हुने भो, बचाइदिनुस् भनेर उहाँले रातभर धेरैसँग याचना गर्नुभयो तर केही उपाय लागेन ।’

भयावह रूपमा फैलिएको कोरोना संक्रमणले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्र तहसनहस हुन थालेको छ । दूरदराजका गाउँमा समेत भुसको आगोझैं संक्रमण फैलिइसकेको छ । बिरामीले उपचार पाउन सकेका छैनन् । मृत्युदर एकाएक बढेको छ । यस प्रदेशका विभिन्न जिल्लामा गरी शनिबार एकै दिन १५ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिममा शनिबारसम्म मृत्यु हुनेको संख्या १ सय ९२ पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार तीमध्ये १ सय १० जनाको मृत्यु पछिल्लो १० दिनयता भएको हो । वैशाख १६ गतेसम्म मृत्यु हुने संक्रमितको संख्या ८२ मात्रै थियो । सक्रिय संक्रमितको संख्या पनि त्यही गतिमा बढेको छ । सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या शनिबारसम्म ६ हजार ५ सय ७९ पुगेको छ । यीमध्ये पछिल्ला १० दिनमा ५ हजार १ सय ८४ जना सक्रिय संक्रमित थपिएका हुन् ।

मृत्यु र सक्रिय संक्रमित संख्या बढ्ने तुलनामा निको हुने दर निकै कम छ । पछिल्ला १० दिनमा निको हुनेको संख्या १ हजार ६ जनामात्र रहेको निर्देशनालयका तथ्यांक सहायक दिलीप भाटले बताए । सक्रिय संक्रमितको संख्या ३ हजार ३४ जनाले बढेको अवस्थामा निको भएकाको संख्या ७ सय ४६ जना मात्र छ । पछिल्लो २४ घण्टामा ६ सय ३९ सक्रिय संक्रमित थपिँदा १ सय १२ जना मात्र निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीका अनुसार यतिबेला फैलिएको संक्रमणपछिको मृत्युदर १ दशमलव ३ छ । यसअघिको मृत्युदर शून्य दशमलव ५ थियो । डाक्टरहरूका अनुसार अहिलेका संक्रमित अधिकांशमा श्वासप्रश्वाससम्बन्धी समस्या अत्यधिक छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार त्यसमा पनि तन्नेरी उमेर समूहका संक्रमितको मृत्युदर बढ्दै गएको छ । शुक्रबारसम्म मृत्यु भएकामध्ये कैलालीका सबैभन्दा धेरैको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार शनिबारसम्म कैलालीमा ८५ जना संक्रमितले ज्यान गुमाएका छन् । यस्तै कञ्चनपुरका ५८ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा बेड नपुगेर ग्यालरीमा यत्रतत्र बिरामी छन् । अधिकांश बिरामी रोइकराइ गर्दै उपचारका लागि छटपटाइरहेका छन् । अक्सिजनको हाहाकार छ । स्वास्थ्यकर्मीहरू पनि उत्तिकै तनावमा देखिन्छन् । संक्रमण तीव्र गतिमा फैलिँदै गएको अवस्थामा उपचारमा संलग्न चिकित्सकले संक्रमितले समयमै जाँच तथा उपचार नगरी ढिलो मात्रै अस्पतालमा आउने गरेकाले समस्या भइरहेको बताएका छन् ।

सुदूरपश्चिममा रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. नीराजनदत्त शर्मा पौडेलका अनुसार लक्षण देखिनेबित्तिकै वा शंका लाग्नेबित्तिकै जाँच तथा उपचार नगर्दा कोरोना संक्रमितको ज्यान जोखिममा परिरहेको छ । सुरुमै उपचार पाउन सके संक्रमितलाई बचाउने केही सहज हुने उनले बताए । ‘संक्रमितहरू ढिलो गरी अस्पताल आउने गरेका छन्,’ डा. पौडेलले भने, ‘त्यसबेलासम्म कतिपय बिरामीमा भित्रभित्रै निमोनिया छिप्पिसकेको हुन्छ । सुरुमा घरमै उपचार गर्न खोज्ने, उपचारमा गए पनि नजिकैको मेडिकलमा सामान्य परीक्षण गराएर औषधि सेवन गर्ने गरेको भेटिएको छ ।’

लापरबाही गर्दा संक्रमितको स्वास्थ्य जटिल बन्नुका साथै परिवार र छरछिमेकमा पनि कोरोना सरिरहेको हुने डा. पौडेलको बुझाइ छ । ‘प्रायः संक्रमितलाई हामीले मेडिकलमा सामान्य जाँच गराएर टाइफाइड र भाइरल ज्वरोको औषधि सेवन गरेको पाएका छौं,’ उनले भने, ‘रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएमा तुरुन्तै अस्पताल पुगेर चिकित्सकको सल्लाहमा उपचार गराइहाल्नुपर्छ ।’

प्रकाशित : वैशाख २६, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?