वीरमा ५ सयभन्दा बढी शय्याको युनिफाइड कोरोना अस्पताल- समाचार - कान्तिपुर समाचार

वीरमा ५ सयभन्दा बढी शय्याको युनिफाइड कोरोना अस्पताल

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले वीर अस्पतालको नयाँ सर्जिकल भवन, पुरानो भवन र ट्रमा सेन्टर प्रयोग गरेर ५ सयभन्दा बढी शय्याको युनिफाइड केन्द्रीय कोरोना अस्पताल बनाउने भएको छ । अस्पतालमा एक सय शय्याको आईसीयू, ५० भेन्टिलेटर हुनेछन् । एचडीयू बेड दुई सय र अरू अक्सिजनसहितको जनरल बेड तयार गरिँदै छ । 

कोरोना संक्रमितले आईसीयू नपाएर ज्यान गुमाउन थालेपछि मन्त्रिपरिषद् बैठकले शनिबार वीर र ट्रमा सेन्टरलाई केन्द्रीय रिफरल अस्पतालका रूपमा विकास गर्ने निर्णय भएको हो । सीसीएमसीले पनि वीरको नयाँ भवनलाई युनिफाइड अस्पताल बनाउन सिफारिस गरेको थियो ।

वीरको नयाँ सर्जिकल भवन, पुरानो भवन र ट्रमाका २–२ सय शय्यासम्म संक्रमितको उपचारमा प्रयोग गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरको नयाँ भवनमा शय्या थप गर्दै लैजाने तयारीसमेत छ । संक्रामक रोगसम्बन्धी ऐनअनुसार छुट्टै आदेशबाट कोरोना संक्रमितको उपचार गर्न केन्द्रीय अस्पताल बनाउने निर्णय भएको कृषि तथा पशुपन्छी सञ्चारमन्त्री पद्यमा अर्यालले जानकारी दिइन् । ‘आईसीयू नपाउने समस्या यो अस्पतालले समाधान गर्नेछ,’ उनले भनिन् । मन्त्रिपरिषद् बैठकले शनिबार कोभिड अस्पताल सञ्चालन आदेश २०७८ समेत पास गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयपछि के गर्ने भन्ने योजना बनाइसकेकाले संक्रमितको उपचारका लागि संरचना व्यवस्थापनतर्फ तत्काल लागिहाल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । वीर अस्पताल न्याम्सअन्तर्गर्त भए पनि नयाँ भवन स्वास्थ्य मन्त्रालय मातहत छुट्टै विकास समिति गठन गरेर सञ्चालन गर्न लागिएको हो । अस्पताल सञ्चालन गर्न मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिने भएको छ । अस्पतालमा जनशक्तिको व्यवस्थापन पनि मन्त्रालयले नै गर्नेछ । ‘उपचारमा चाहिने जनशक्ति वीर र ट्रमाकै प्रयोग गर्ने गरी कोभिड अस्पताल सञ्चालन गर्न लागिएको हो,’ मन्त्रालय स्रोतले भन्यो, ‘नपुग जनशक्ति करारमा लिन्छौं ।’

ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेलले सोमबारदेखि नै कोभिड अस्पताल सञ्चालन गर्ने योजनाअनुसार काम भइरहेको जानकारी दिए । अस्पतालमा भर्ना भएका ६४ जना बिरामीलाई बीर अस्पतालमा सारेर २ सय बेडमै संक्रमितको उपचारका लागि तयार रहन मन्त्रालयले निर्देशन दिएको उनले बताए । ‘हाम्रोमा ५० बेड नै आईसीयू बनाउन सकिने संरचना छ,’ उनले भने, ‘अक्सिजनको आपूर्तिसमेत सहज छ ।’

ट्रमामा लिक्विड (तरल) अक्सिजन ट्यांक छ । यो अभाव भए आपूर्तिकर्ताले सिलिन्डरबाट अक्सिजन दिने सम्झौता रहेको डा. पौडेलले जानकारी दिए । ‘यहाँ जतिसुकै संक्रमित आए पनि अक्सिजनको अभाव हुँदैन,’ उनले भने । वीर अस्पतालमा पनि अक्सिजन प्लान्ट छ । वीर अस्पतालका करिब सय बेड अन्य रोगको उपचारका लागि छुट्याएर बाँकी सबै कोभिडका लागि प्रयोग गर्न लागिएको स्रोतले जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिले संक्रमणको विश्लेषण गरी आवश्यक पर्ने निर्णयका लागि सिफारिस गर्न सक्ने मन्त्रालय स्रोतले जनाएको छ । ‘कोभिड अस्पताल सञ्चालक समितिले यो अस्पतालको मात्रै व्यवस्थापन गर्दैन, देशभरिको अवस्था के छ, कहाँ के गर्नु पर्ने हो भनेर समन्वयसमेत गर्नेछ,’ स्रोतले भन्यो । कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल सञ्चालनको अनुभवका आधारमा लगत्तै प्रदेशमा यही मोडलमा अस्पताल बनाउने मन्त्रालयको योजना छ ।

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. मिङ्मार शेर्पाले पाटनलाई पनि कोभिड डेडिकेटेड अस्पताल बनाउनुपर्ने बताए । ‘नयाँ भवनमा नयाँ संरचना राखेर काम हुनु साह्रो रामो हो । अब बेड नपाएर ज्यान गुमाउनुपर्ने अवस्था कमै हुन सक्छ,’ उनले भने, ‘यसैगरी पाटनलाई पनि सत प्रतिशत कोरोना डेडिकेटेड अस्पताल बनाउनुपर्छ ।’ संक्रमित बच्चाको उपचार गर्न कान्ति बाल अस्पताललाई तयारी अवस्थामा राख्नुपर्ने उनको सुझाव छ ।

हजार बेडको अस्थायी अस्पतालको डिजाइन बनाइँदै

नेपाली सेनाले पनि १ हजार बेडको होडिल्ङ सेन्टर बनाउन मन्त्रालयसँग छलफल जारी राखेको छ । मन्त्रिपरिषद्को वैशाख ६ को निर्णयअनुसार हजार बेडको होल्डिङ सेन्टरको डिजाइन अन्तिम चरणमा रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्ने क्रममा राजधानीमा सेनालाई १ हजार शय्याको अस्थायी अस्पताल बनाउन निर्देशन दिइसकेको बताएका थिए । ‘अस्पताल, होल्डिङ सेन्टर, क्वारेन्टाइन जे पनि गर्न मिल्ने गरी संरचना बनाउन डिजाइन बनाएर स्वास्थ्य मन्त्रालयसँग छलफलको चरणमा छ,’ प्रवक्ता पौडेलले भने, ‘डिजाइन टुंगिएपछि बजेट र ठाउँको खोजीमा लाग्छौं ।’

प्रकाशित : वैशाख २६, २०७८ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्

त्रिपुरासुन्दरी नगरपालिकाका मेयरको कोरोना संक्रमणबाट निधन

हरि गौतम

रुकुम पश्चिम — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको कोरोना संक्रमणबाट निधन भएको छ । 

कामको सिलसिलामा वैशाख पहिलो हप्ता काठमाडौं गएका ७६ वर्षीय बुढाको शनिबार काठमाडौंमै मृत्यु भएको उपप्रमुख चन्द्रकुमारी बुढाले बताइन् । केही व्यक्तिगत र केही कार्यालयको कामका लागि भनेर मेयर काठमाडौं गएको उनको भनाइ छ । काठमाडौंमा उपचारकै क्रममा मेयर बुढाको मृत्यु भएको हो ।

केही दिन पहिला स्वास्थ्यमा समस्या आएका बुढामा पछि भने कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

प्रकाशित : वैशाख २६, २०७८ ०७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×