कोरोनाले ब्रिटिस र सिंगापुर भर्ती मिति सर्‍यो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाले ब्रिटिस र सिंगापुर भर्ती मिति सर्‍यो

नेपालबाट लिइने भर्नाको पूर्वनिर्धारित कार्यक्रम प्रभावित हुनुका साथै पहिलेभन्दा भर्तीको कोटा पनि घट्यो
गणेश राई

काठमाडौँ — कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि ब्रिटिस सेना र सिंगापुर प्रहरीको भर्ती दर्ता मिति तीन हप्ता पछाडि सरेको छ ।

पोखरामा सम्पन्न इन्टेक–२१ मा ब्रिटिस आर्मीमा भर्ती भएको नव जवानहरू । तस्बिर साभार : आर्मी डट एमओडी डट यूके

‘देशभरि फैलि“दै गइरहेको कोभिड–१९ को महामारीको संक्रमण रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेशलाई पालना गर्दै ब्रिटिस आर्मी तथा सिंगापुर पुलिसको भर्ती दर्ता हुने मिति तीन हप्ताले पछाडि सारिएको जानकारी दिन चाहन्छौं,’ ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइट आर्मी डट एमओडी डट यूकेमा भनेको छ, ‘मिति बदली भएको नयाँ कल फर्वर्ड लिस्ट तुरुन्त वेबसाइटमा राख्नेछौं । हामीले अवस्थाको निरन्तर समीक्षा गरिरहने छौं अनि कुनै फेरबदल गर्न परेमा तथा आएमा तुरुन्तै खबर गर्नेछौं ।’

रिक्रुट इन्टक–२०२२ का निम्ति उक्त जानकारी गराएको हो । अघिल्लो सूचनामा जेठ १० गतेदेखि साउन १४ गतेभित्र रजिस्ट्रेसनको समय तोकेको थियो । ‘कृपया नेपाल सरकारले जारी गरेको आदेश पालना गर्नुहोस्,’ रिक्रुटमेन्ट हेर्ने डेपुटी रेक्रुटिङ अफिसर ज्याकमेलले भिडियो सन्देशमा भनेका छन्, ‘डिसेम्बरबाट सेन्ट्रल सेलेक्सन सुरु हुन्छ । सुरक्षित रहन सावधानी अपनाउनुहोस् । समूहमा नभई सकेसम्म एक्लै तालिम गर्नुहोस् । सधैं मास्क लगाउनुहोस् । २ मिटरको सामाजिक दूरी सधैं कायम राख्नुहोस् । साबुन पानीले सधैं हात धुनुहोस् । सधैं स्वस्थ अनि सुरक्षित रहनु होस् ।’ भर्ती प्रक्रिया निःशुल्क, निष्पक्ष र पारदर्शी हुने भएकाले कुनै व्यक्तिको पछाडि नलाग्न सुझाएका छन् ।

महामारीकै कारण बेलायत सरकारले आगामी वर्षका निम्ति भर्ती नीति कडाइ गरेको छ । यसअघि पूर्वमा धरान र पश्चिम पोखरामा रजिस्ट्रेसन र क्षेत्रीय छनोट गथ्र्यो भने यो पटक रजिस्ट्रेसन (नाम लेखाउने), क्षेत्रीय र केन्द्रीय छनोट पोखरामा गर्ने भएको छ ।

आउ“दो वर्षका निम्ति कोटा घटाएर ब्रिटिसतर्फ २ सय ३० जना र सिंगापुरका निम्ति १ सय ४० जना छनोट गर्नेछ । ब्रिटिसतर्फ विगतको तुलनामा १ सय १० जनाको कोटा घटाएको छ । रजिस्ट्रेसन खुला गरिए पनि क्षेत्रीय र अन्तिम छनोटका निम्ति ब्रिटिसतर्फ ३ हजार र सिंगापुरका निम्ति २ हजार जना मात्र बोलाउने भनिएको छ ।

यस पटक प्रतिस्पर्धीले नाम लेखाउने बेलामै गणितको जाँच दिनुपर्नेछ । त्यसैगरी बाह्र पटक ओभरआर्म हेभिङ, २० किलोको भारी बोकेर रिपिटेड लिफ्ट एन्ड क्यारी दौड १ मिनेट ४६ सेकेन्डमा पार गर्नुपर्नेछ । यसअघि क्षेत्रीय छनोटमा मात्र स्पर्धा गराइन्थ्यो ।

यसैगरी साधारण मेडिकल चेकअप, न्यूनतम १ सय ५८ सेन्टिमिटर उचाइ भएका प्रतिस्पर्धीले बडी मास इन्डेक्स (बीएमआई) का आधार छनोट हुन सक्नेछ । एसईईमा अंग्रेजी र गणितमा कम्तीमा ‘सी ग्रेड’ हासिल गरेको हुनुपर्ने छ । नागरिक र राहदानीसहित बाबु–आमाको नागरिकता साथै गाउँ/नगरपालिकाबाट ठेगाना प्रमाणित भएको सिफारिस अनिवार्य बुझाउन भनिएको छ । आगामी प्रारम्भिक चरणमै कोरोना भाइरसको लक्षण नदेखिएको र १० दिन क्वारेन्टाइनमा बसेको प्रमाण पेस गर्न भनिएको छ ।

भदौ १३ देखि असोज २४ गतेभित्र हुने क्षेत्रीय छनोटमा शैक्षिक जाँच, अंग्रेजी भाषा, शारीरिक तथा स्वास्थ्य परीक्षण र अन्तर्वार्ताको सामना गर्नुपर्नेछ । यसैगरी २ मिनेट ३० सेकेन्डमा आठ सय मिटर दौड पूरा गर्नुपर्नेछ । यसअघि २ मिनेट ४० सेकेन्ड समय दिइन्थ्यो । यस्तै दायाँ–बायाँ हातमा २०–२० किलो तौलको जेरिक्यान बोकेर २ सय ४० मिटर दूरी दुई मिनेटमा पार गर्नुपर्नेछ । सिंगापुरतर्फ कात्तिक २४ देखि एक महिनाभित्र क्षेत्रीय छनोट हुने जनाइएको छ ।

क्षेत्रीय छनोटमा परेकालाई केन्द्रीय छनोटमा बोलाइने छन् । सिंगापुरको माघ ८ देखि १७ गतेभित्र छनोट भइसक्नेछ । त्यसपछि ब्रिटिस गोर्खा माघ १९ देखि फागुन १० गतेभित्र छानिने जनाइएको छ । शारीरिक, शैक्षिक र मेडिकल जाँच लिइने जनाइएको छ ।

प्रकाशित : वैशाख २५, २०७८ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय जनगणना प्रभावित

२००७ सालको जनक्रान्तिका कारण राष्ट्रिय जनगणना तीन वर्ष पछाडि धकेलिएको थियो भने २०५८ मा माओवादी सशस्त्र द्वन्द्वले १२ जिल्ला प्रभावित भएको थियो ।
गणेश राई

काठमाडौँ — कोरोना भाइरसको महामारीको बढ्दो संक्रमणले १२ औं राष्ट्रिय जनगणना सुरु हुनै लाग्दा रोकिएको छ । मन्त्रिपरिषदले वैशाख १९ गते ‘राष्ट्रिय जनगणना २०७८ का सम्पूर्ण गतिविधि स्थगन गर्ने’ निर्णय गरेपछि रोकिएको हो । यो निर्णयसँगै केन्द्रीय तथ्यांक विभागले निर्धारण गरेको सबै तालिका प्रभावित हुन पुगेको छ । 

नेपालमा पहिलो राष्ट्रिय जनगणना वि.सं. १९६८ मा भएको थियो । त्यसयता हरेक १०/१० वर्षमा हुँदै आएको भनिए पनि पाँचौ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा तीन वर्षपछि सम्पन्न भएको थियो । जसलाई ‘जनगणना २००९/११’ भनी उल्लेख गरिन्छ । २००७ सालको जनक्रान्तिका कारण तीन वर्ष ढिला भएको थियो ।

‘१९९८ सालको गणनापछि २००८ सालमा अर्को जनगणना हुनुपर्ने थियो,’ तुङ्ग शिरोमणि बास्तोलाले ‘जनगन्तीका सय वर्ष’ पुस्तकमा लेखेका छन्, ‘समयमै जनगणना गर्ने उद्देश्यले २००७ साल मंसिर अन्त्यतिर कर्मचारी खटाएका थिए । परन्तु देशमा भैरहेको जनक्रान्तिले गर्दा गणनाको काम सुरु हुन सकेन । कर्मचारी फिर्ता बोलाइयो र गणनाको काम स्थगित भयो ।’

त्यसपछि २००९ जेठ १५ गतेलाई जनगणना दिवस मानेर महोत्तरीबाहेक पूर्वका जिल्लाहरूमा जनगणना भएको थियो । २०१० सालमा पनि जनगणना भएन । अन्तत: २०११ साल जेठ १५ गतेको सूर्योदयलाई कायम गरी पहिलो चरणमा हुन नसकेको महोत्तरी जिल्ला र पश्चिमका बाँकी जिल्लाहरुमा जनगणना सम्पन्न भएको थियो । त्यसरी दुई चरणमा गरिएका जनगणनाले नेपालको जनसंख्या ८४ लाख ७३ हजार (अनुपस्थितसमेत गरी) पुगेको थियो । उपस्थित जनसंख्या ८२ लाख ५७ हजार थियो । नतिजा प्रकाशन गर्दा पूर्वाञ्चलमा दुई वर्षभित्र वृद्धि भएको जनसंख्या भने हिसाब गरिएको थिएन ।

‘जनगणना सामान्यतया १०/१० वर्षमा लिइन्छ,’ विभागका पूर्व उपमहानिर्देशक डा. रुद्र सुवाल भन्छन्, ‘यदि महामारीले गर्दा निर्धारित समयमा जनगणना हुन नसकेमा त्यसलाई प्रतिवेदनहरूमा नोट लेखेर कारण खुलाउनुपर्ने हुन्छ । नत्र नतिजाप्रति गम्भीर प्रश्न उठ्न सक्छ ।’

त्यसैगरी दसौं राष्ट्रिय जनगणना २०५८ मा सशस्त्र द्वन्द्व (माओवादी जनयुद्ध) जारी थियो । सो वर्ष जेठ २८ गतेबाट असार १२ गतेभित्र मुख्य जनगणना भएको थियो । राजनीतिक द्वन्द्वका कारण १२ जिल्लामा जनगणना कार्य प्रभावित भएको थियो । मुख्य जनगणना हुनुभन्दा दुई महिनाअघि घरपरिवार सूचिकरणको काम भएको थियो । सूचिकरणमा घर संख्या, परिवारमा महिला र पुरुषको संख्यामात्र जनाइएको हुन्छ । उक्त जनगणनाले देशको कुल जनसंख्या २ करोड ३१ लाख ५१ ह्जार ४ सय २३ जना देखाएको थियो । तीमध्ये करिब चार लाख १४ हजार जनाको विस्तृत् जानकारी लिन (सारणीवद्ध गर्न) नसकिएको सुवालले बताए ।

विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले महामारी बढेको र लकडाउन निरन्तर भएकोले जनगणना सुचारु राख्नेबारे तत्काल अर्को निर्णय लिन नसकिने बताए । ‘भोलि लकडाउन हटेर घर–घर पुग्न सक्ने अवस्था भयो भने जनगणना लिन्छौं, तर त्यसका निम्ति स्टेरिङ कमिटीबाट टाइमलाइन बनाउनुपर्ने हुन्छ,’ महानिर्देशक श्रेष्ठले कान्तिपुरसित भने, ‘स्थिति सहज भएर लकडाउन आंंशिक रूपमा भएमा जनगणना हुन्छ तर जनगणना कार्यचाहिं आंंशिक रूपमा गर्दैनौं ।’

यो जनगणना संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछिको पहिलो जनगणना भएकाले वडास्तरको तथ्यांक आवश्यक देखिन्छ । १२ औं जनगणना ढिलो हुनपुगेमा कृषि जनगणनासमेत रोकिन सक्ने जनाइएको छ ।

प्रकाशित : वैशाख २१, २०७८ १८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×