२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पत्रकार दिनेश दाहालको कोरोना संक्रमणबाट निधन

काठमाडौँ — नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणबाट निधन भएको छ । उनी ४० वर्षका थिए ।

पत्रकार दिनेश दाहालको कोरोना संक्रमणबाट निधन

वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको शनिबार बिहान उपचारको क्रममा निधन भएको हो ।

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए । पत्रकार दाहाल पछिल्लो समय सिपोस्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए । स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् ।

उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा महासंघले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारलाई अपिल गरेको छ ।

प्रकाशित : वैशाख २५, २०७८ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?