२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कोरोना खोप आयात : विदेशीको बेवास्ता कि कमजोर कूटनीतिक पहल ? 

अहिले भारतबाहेक नेपाललाई खोप उपलब्ध गराउनसक्ने मुलुकहरुलाई हेर्दा उनीहरुको चिन्ता नेपालभन्दा भारतमा बढी देखिन्छ । नेपाल भने उनीहरुको सहयोगको अपेक्षामा छ ।
जगदीश्वर पाण्डे

काठमाडौँ — यो साता चीन र गत साता अमेरिकाले नेपाललाई कोभिड–१९ संक्रमणमा सहयोग गर्ने वाचा गर्‍यो । यी दुई मुलुकसहित नेपाललाई कोरोना भाइरस नियन्त्रण निम्ति एकपछि अर्को सहयोग आइरहेका छन् । अन्य विदेशी मुलुक र विकास साझेदारहरुले पनि नेपाललाई यो संकटका बेला सहयोग नगरेका होइनन् । 

कोरोना खोप आयात : विदेशीको बेवास्ता कि कमजोर कूटनीतिक पहल ? 

तर अहिले नेपाल यस्तो अवस्थामा पुगेको छ, जसलाई मसिना र साना सहयोगले पुग्ने देखिन्न । नेपाललाई अहिले मास्क र स्यानिटाइजरले मात्र पुग्दैन, भ्याक्सिन नै सहयोगस्वरुप चाहिन्छ ।

नेपाल अहिले आफ्ना जनतालाई कोभिड–१९ विरुद्धको संक्रमणबाट बचाउन भ्याक्सिन अर्थात् खोपको खोजीमा छ ।

भारतबाट १० लाख अनुदान र १० लाख किनेर खोप ल्याएको पनि हो । तर त्यसपछि भारत आफै कोरोनाको दोस्रो लहरका कारण संकटमा परेको छ । भारतमा दोस्रो लहरका कारण खरिद गरिसकेको १० लाख कोभिसिल्ड खोप आउन गाह्रो परेपछि नेपालले अन्य मुलुकसँग संवाद र सहकार्यलाई अघि बढाएको थियो । यस्तो अवस्थामा नेपालले रुस, चीन, अमेरिका र बेलायतसँग खोप ल्याउन पहल गरेको छ ।

औसत दैनिक ५० जना मानिस मर्ने स्थिति आउँदासमेत सरकारले खोप ल्याउनभन्दा बढी राजनीतिक खिचातानीमा समय बिताएको छ । जनतामाथि अन्याय गरेको छ । कूटनीतिक पहल कमजोर हुँदा रुसले नेपाललाई दिनसक्ने भनी प्रतिबद्धता गरेको ८० लाख डोज खोप सरकारले कहिले ल्याउँछ भन्ने प्रश्न उठ्न थालेको छ ।

खोप र यसमा हुने कमिसनबारे चर्चा भइरहँदा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाटीले रुसबाट खोप ल्याउन भएको पहल कहाँ पुग्यो भन्ने कुरा सार्वजनिक गरेका छैनन् । रुसबाट कोभिड–१९ को खोप स्पुतनिक–५ ल्याउने तयारी अन्तिम चरणमा पुगेर किन रोकियो भन्ने विषयमा स्वयं स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई पनि थाहा छैन ।

तर उत्तरी छिमेक चीनले भने नेपाललाई आवश्यक खोप पहिलेदेखि नै उपलब्ध गराउने बताउँदै आए पनि हालसम्म ८ लाख डोज भन्दा बढी उपलब्ध गराएको छैन । चीनमा अहिले भारतमा जस्तो कोरोना संकट पनि छैन । तर नेपालले चीनसँग लगातार प्रयास गर्दा पनि भ्याक्सिन ल्याउन सकेको छैन ।

आफ्नो प्रतिद्वन्द्वी हुँदाहुँदै पनि चीनले संकटमा भारतलाई भने सहयोग गरिरहेको छ । भारततिर लाग्यो भने चीन रिसाउँछ भन्ने चर्चा नेपालमा हुन्छ । तर विडम्बना यो महामारीका बेला चीनले नेपाललाई भन्दा भारतलाई नै बढी महत्व दिएको प्रष्ट हुन्छ । के यो नेपाली कूटनीतिक कमजोरी त होइन भन्ने प्रश्न उठेको छ । तर परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल भारत आफैमा ठूलो मुलुक भएको र उसको अन्य देशसँग आफ्नै सम्बन्ध रहेको बताउँछिन् । नेपालले पनि विभिन्न मुलुकसँग सहयोगको लागि सहकार्य गरिरहेको उनले बताइन् ।

दुई साताअघि चीनका स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री वाङ यीले ६ मुलुकबीच भएको छलफलमा चीनले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसबेला उनले नेपाललाई ५ मिलियन आरएमबी (करिब नौ करोड रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिबद्धता पनि गरेका थिए । चीनले आफ्नो स्वार्थलाई नेपालसहितका दणिण एसियाका ५ मुलुकको संयुक्त बैठकबाट पारित गरायो र वक्तव्य नै निकाल्यो । तर कोरोना संकटमा रहेको नेपाललाई खोप दिने विषयमा भने कुनै पनि प्रतिबद्धता गरेन ।

शुक्रबार बेइजिङस्थित नेपाली राजदूतावासले नेपालमा बढ्दो कोरोना महामारीलाई ध्यानमा राखेर चीनले तत्काल ३ हजार ५०० थान अक्सिजन सिलिन्डरमध्ये ४०० वटा अक्सिजन सिलिन्डर र १० वटा भेन्टिलेटर ४ दिनभित्र तयारी हालतमा राखिदिने प्रतिवद्धता जनाएको जानकारी दियो । बेइजिङस्थित नेपाली राजदूतावासका उपप्रमुख सुशील लम्सालका अनुसार चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपालले किन्न चाहेको २० लाख डोज खोपमध्ये १० लाख डोज मेभित्रमा उपलब्ध गराउनसक्ने चीनले संकेत गरेको बताए । चीनले यसअघि ८ लाख डोज कोरोनाको भ्याक्सिन अनुदान सहयोग गरेको थियो ।

नेपालस्थित चिनियाँ राजदुतावासका तृतीय सचिव चाङ सीका अनुसार नेपालका सम्बन्धित पक्ष चिनियाँ कम्पनीहरुसँग व्यापारिक प्रयोजनको लागि भ्याक्सिन खरिद गर्न सम्पर्कमा रहेको बताए । उनले सरकारी तहमा भ्याक्सिन ल्याउने सम्बन्धमा भने छलफल नभएको प्रष्ट पारे । यसमा नेपालको कूटनीतिक पहल कमजोर भएको परराष्ट्रविदहरु बताउँछन् ।

अर्कोतर्फ अमेरिकाले केहीदिन अघिमात्र ६० मिलियन डोज एस्ट्राजेनेका भ्याक्सिन अन्य मुलुकसँग साझेदारी गर्ने जनाएको थियो । नेपालले अमेरिकाले साझेदारी गर्ने भनिएको सोही खोपको लागि वासिङ्टनस्थित नेपाली राजदूतावासमार्फत् पहल गरिरहेको छ । तर अमेरिकाले अहिले उपलब्ध गराउन नसक्ने खोपका लागि नेपाली राजदूतावासले किन पहल गरिरहेको होला ?

नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची एलेनले अमेरिकाले एस्ट्राजेनेका उपलब्ध हुने बित्तिकै अन्य मुलुकसँग साझेदारी गर्न विकल्पहरु खोजिरहेको बताइन् ।

उनले आजसम्म अमेरिका विश्वमै कोभिड–१९ बाट सबैभन्दा बढी ग्रसित भएको र आफ्नो मुलुक नेपाली जनतासँग साथमै रहेको पनि बताइन् । उनले अमेरिकाले कोभ्याक्सलाई दुई अर्ब डलर प्रतिबद्धता गरेको र थप दुई अर्ब डलर रकम कोभ्याक्सलाई आउन बाँकी रहेको बताइन् । यसबाहेक खोपका विषयमा अमेरिकाले कुनै पनि कुरा गरेको प्रस्ट पारिन् ।

बुधबार सामाजिक सञ्जालमा सांसद गगन थापाले अमेरिकाबाट खोप ल्याउन सरकारले पहल गर्नुपर्ने बताएका थिए । जबाफमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कुरा भइरहेको बताएका थिए । तर अमेरिकाले खोपको सम्बन्धमा अहिले नै आफूले निर्यात गर्न नसक्ने प्रष्ट पारिसकेको छ । नेपाललाई तत्काल खोप सहयोग गर्न नसकिने अमेरिकाले प्रस्ट पारे पनि भारतको सवालमा भने अमेरिका सक्रिय रुपमा सहयोग गर्न लागिपरेको छ । एकातिर अमेरिकाले भारतमा एकपछि अर्को गर्दै स्वास्थ्य सामग्रीहरु पठाएर सहयोग गरिरहेको छ भने अर्कोतिर भारतलाई छिटोभन्दा छिटो कसरी खोप उपलब्ध गराउन सकिन्छ भनेर गृहकार्य पनि गरिरहेको छ ।

२०७७ माघ २२ गते नेपालको लागि बेलायतकी राजदूत निकोला पोलिटले बेलायत सरकारले नेपाललाई कोभ्याक्स खोप उपलब्ध गराउने बताएकी थिइन् । ‘बेलायत सरकारले कोभ्याक्सलाई करिब साढे सात खर्ब रुपैयाँ रकम (५५० मिलियन पाउन्ड) को व्यवस्था गरेकोमा नेपालमा २० लाखभन्दा बढी डोज खोप आगामि महिना आइपुग्ने भएकोले निकै हर्षित छु,’ राजदूत पोलिटले ट्वीट गरेकी थिइन् ।

उनले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्वस्वास्थ्य संगठन र युनिसेफ नेपालसँग बेलायती सहकार्यमा उक्त खोप वितरण हुने बताएकी थिइन् । तर उक्त खोप हालसम्म नेपाल आइपुगेको छैन । नेपालले भने अहिले बेलायतले दिने भनेको खोपलाई द्विपक्षीय रुपमा उपलब्ध गराउन पहल गरेको छ । परराष्ट्र मन्त्री ज्ञवालीले सोही भ्याक्सिन आयातको लागि द्विपक्षीय कुराकानी भएको बताए । तर बेलायतले अहिले नै नेपाललाई खोप उपलब्ध गराउन नसकिने संकेत दिइसकेको छ ।

अहिले भारतबाहेक नेपाललाई खोप उपलब्ध गराउनसक्ने मुलुकहरुलाई हेर्दा उनीहरुको चिन्ता नेपालभन्दा भारतमा बढी देखिन्छ । उनीहरुले नेपाललाई सुरुदेखि नै खोपको प्रतिबद्धता गरिरहेको भए पनि ठूला सहयोग गर्न भने भारततिरै जोडतोडका साथ लागिपरेका छन् ।

अरु बेला नेपाललाई हतियार बनाएर अर्को मुलुकसँग जोरी खेल्ने भारत, अमेरिका, चीन, बेलायत कोरोना संकटको यस घडीमा आफै मिलिरहेका छन् । नेपाल उनीहरुको सहयोगको अपेक्षामा छ । विदेशी मुलुकहरुको नेपालप्रति बेवास्ता हो या नेपालको कमजोर कूटनीति भन्ने यसबेला प्रश्न उठेको छ ।

प्रकाशित : वैशाख २५, २०७८ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?