१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नारायणी अस्पतालमा आइपुगेन रेम्डेसिभिर

औषधि व्यवस्था विभागले मंगलबार र बिहीबार गरी २०४ भाइल रेम्डेसिभिर पठाएको बताए पनि अस्पतालले भने अहिलेसम्म आफूहरूकोमा नआइपुगेको दाबी गरेको छ । 
भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिका १२ राधेमाई निवासी ४३ वर्षीय महिला चार दिनदेखि नारायणी अस्पतालको आईसीयूमा भर्ना छिन् । यसअघि वीरगन्जकै एक निजी अस्पतालमा उपचार गराइरहेकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि गत मंगलबार नारायणीमा सारिएको थियो ।

नारायणी अस्पतालमा आइपुगेन रेम्डेसिभिर

स्वास्थ्यमा सुधार नदेखिएपछि बिहीबार चिकित्सकले उनका परिवारलाई रेम्डेसिभिरको व्यवस्थापन गर्न सुझाए । आफन्तले वीरगन्जदेखि लिएर काठमाडौंसम्म खोजबिन गरे तर रेम्डेसिभिर जोहो गर्न सकेनन् । जबकि औषधि व्यवस्था विभागले गत मंगलबार ५४ भाइल र बिहीबार १ सय ५० भाइल रेम्डेसिभिर नारायणी अस्पताललाई वितरण गरेको वेबसाइटमार्फत जनाएको छ ।

वीरगन्जकै एडभान्स मेडिकेयर हस्पिटलमा एक ४० वर्षीय पुरुषलाई ६ भाइल रेम्डेसिभिर आवश्यक रहेको अस्पतालले जनाएको छ । गत आइतबारदेखि भर्ना भएका ती पुरुषमा कडा निमोनिया देखिएको छ । आफन्तले यहाँको सरकारी अस्पताल मात्र नभई औषधि र सर्जिकलका बिक्रेताहरुलाई सम्पर्क गर्दा पनि रेम्डेसिभिर फेला परेको छैन् । ‘एक औषधि बिक्रेताले एक भाइलको ३० हजार रुपैयाँ पर्ने बताएका थिए,’ ती संक्रमितका आफन्त भन्छन्, ‘त्यति रकम दिन तयार हुँदा पनि रेम्डेसिभिर पाइएन् ।’ अहिले अस्पतालमा भर्ना भएका कोरोना सिकिस्त बिरामीलाई चिकित्सकले रेम्डेसिभिर सिफारिस गर्ने गरेका छन् । औषधि व्यवस्था विभागले दुई चरणमा गरी २ सय चार भाइल रेम्डेसिभिर नारायणी अस्पताललाई वितरण गरेको आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । तर, अस्पतालमा रेम्डेसिभिर आइनपुगेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

पर्साका सांसद प्रदीप यादवले शुक्रबार अपराह्न सामाजिक सञ्जालमा औषधि व्यवस्था विभागले नारायणी अस्पतालका लागि रेम्डेसिभिर पठाइसकेको भए पनि यहाँका संक्रमितले रेम्सेडिभिर नपाएको गुनासो गरे । ‘वैशाख २३ मा विभागले एक सय ५० भाइल रेम्डेसिभिर पठाएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, अस्पताल प्रमुखको गैरजिम्मेवारीका कारण नाजुक अवस्थामा रहेका संक्रमितले रेम्डेसिभिर इन्जेक्सन पाउन सकेका छैनन् ।’

उनले अस्पताल प्रमुखलाई तत्काल कारबाहीको दायरमा राखी संक्रमितहरुलाई सहज रुपमा रेम्डेसिभिर उपलब्ध गराउन अनुरोध समेत गरेका छन् । ‘स्वास्थ्य मन्त्रालयमा कुरा गर्दा नारायणीमा पठाइसकिएको भन्छन्,’ सांसद यादवले भने, ‘नारायणीमा बुझ्दा हामी कहाँ आएकै छैन् भन्छन्, आखिर रेम्डेसिभिर कहाँ गयो ?।’

नारायणी अस्पतालका फार्मेसी प्रमुख हरेन्द्र यादवले औषधि विभागले रेम्डेसिभिर वितरण गरेको सार्वजनिक गरेको भए पनि हालसम्म अस्पतालमा आइनपुगेको बताए । ‘रेम्डेसिभिर लिन मान्छे काठमाडौँ पठाएका छौ,’ उनले भने, ‘शनिबारसम्म आइपुग्छ ।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्‍जयकुमार ठाकुरले एक भाइल पनि रेम्डेसिभिर नारायणीमा नआएको दाबी गर्छन् । ‘महामारीको बेला चरित्र हत्या गरेर मनोबल खसाउन कम गर्नु हुन्न,’ डा.ठाकुरले भने, ‘एक भाइल पनि रेम्डेसिभिर आएको छैन ।’

प्रकाशित : वैशाख २५, २०७८ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?