कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अस्पताल चहार्दाचहार्दै मृत्यु

अवस्था गम्भीर बनेपछि एम्बुलेन्स बोलाए, चार घण्टा ढिलो आइपुग्यो । कुनै अस्पतालले भर्ना गर्न मानेनन्, कसैले गेटै खोलेनन् । भेरी अस्पताल पुर्‍याएर पालो कुर्दा रात बित्यो, बिहान सास गयो ।
मधु शाही

नेपालगन्ज — गाउँ त्रासमा थियो । छिमेकीले झ्यालबाट सामुन्नेको घरतर्फ चियाइरहेका थिए । बन्द उक्त घरभित्र एउटा शव थियो । त्यहाँ आफन्त पनि थिए । कोहलपुर–२ स्थित उक्त घर र टोलमा शुक्रबार बिहानैदेखि सन्नाटा छाएको थियो । 

अस्पताल चहार्दाचहार्दै मृत्यु

कोरोना संक्रमण भएर मृत्यु भएकी महिलाको शव घरभित्र राखिएको भन्दै स्थानीय नजिक जान डराएका थिए । शवलाई प्लास्टिकले बेरिएको थिएन । न त सेनिटाइज गरिएको थियो । मृतकका श्रीमान् भारतमा थिए । उनी फर्किएपछि शव व्यवस्थापन गर्ने भन्दै आफन्तले बाटो हेरिरहेका थिए । छिमेकी ईश्वरीप्रसाद विश्वकर्माले शव घरभित्रै राख्दा असुरक्षित हुने जनाउँदै स्थानीय जनप्रतिनिधिलाई खबर गरे । तर, कोही आएनन् । ‘खै कसैले मतलब गर्दैनन्,’ उनले भने ।

आफन्तका अनुसार ११ दिनदेखि रुघा, खोकी र ज्वरो आएकी ३२ वर्षीया ती महिलाले स्थानीय मेडिकलमा गएर सामान्य उपचार गराएकी थिइन् । केही दिन ज्वरो रोकिएजस्तो भयो । तर, बुधबार उनलाई सास फेर्न गाह्रो भयो । त्यो दिन घरमै बित्यो । बिहीबार बिहान ७ बजे एम्बुलेन्स बोलाइयो । तत्काल आएन । चार घण्टा ढिला एम्बुलेन्स आएको छिमेकीले बताए । ‘बेलैमा एम्बुलेन्स आएको भए उपचार हुन्थ्यो कि ?’ मृतकका ससुराले दुखेसो पोखे ।

एम्बुलेन्स आएपछि सुरुमा कोहलपुर मेडिकल कलेज पुर्‍याइयो । त्यहाँ अस्पतालले अक्सिजन नभएको र पीसीआर परीक्षण नगरेकालाई भर्ना नलिने भन्दै सूचना टाँसेको थाहा पाए । त्यसपछि नजिकैको कौशिला मेमोरियल अस्पताल पुर्‍याइयो । उक्त अस्पतालका चिकित्सकले अक्सिजनको मात्रा घटेको जानकारी गराए । अस्पतालले कोभिड–१९ का बिरामी भएको भन्दै अन्यत्र लैजानू भन्दै फर्काइदियो । आफन्तले स्वास फेर्न नसकेर छटपटाइरहेकी बिरामीलाई एम्बुलेन्समा राखेर नेपालगन्जस्थित नर्सिङ होम लगे । ‘त्यहाँ पुग्दासम्म उनी सिकिस्त भइसकेकी थिइन्,’ शुक्रबार घरमै भेटिएकी एक आफन्तले भनिन्, ‘नर्सिङ होमले गेट नै खोलेन ।’ साँझपख झिनो आशा लिएर भेरी अस्पताल पुर्‍याए । उनीहरूले त्यहाँ सिकिस्त बिरामी बेडको पर्खाइमा भुइँमै लाइन लागेर बसेको देखे । पालो आयो भने बेडमा राखौंला भन्दै चिकित्सकको मुख ताक्दै रात बिताए ।

शुक्रबार बिहान बिरामी हेर्न आएका चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरे । बिहान ८ बजे शव घर ल्याइयो । बाहिर राख्दा संक्रमण फैलिने डरले आफन्तले कोठाभित्र शव राखे । स्थानीयका अनुसार मृत्युपछि शव घरबाहिर निकाल्ने चलन हुन्छ । संक्रमितको शव जतिसक्दो छिटो व्यवस्थापन गर्नु पर्छ ।

कोलहपुर नगरपालिका–५ मा शुक्रबार कोरोनाको लक्षण देखिएको तर पुष्टि नहुँदै मृत्यु भएका अर्का एक व्यक्तिको शव घरमै ल्याउन परिवार बाध्य भए । एक सातादेखि ज्वरो आउने, खोकी लाग्नेजस्ता लक्षण देखिएपछि ५९ वर्षीय पुरुषले स्थानीय मेडिकलबाट औषधि किनेर खाँदै आएका थिए । निको नभएपछि कोहलपुर मेडिकल कलेजमा शुक्रबार पीसीआर जाँच गराउन आएका बिरामीले अस्पतालकै परिसरमा ज्यान गुमाए । कोहलपुर मेडिकल कलेजका चिकित्सक डा. देवेन्द्र आचार्यले पीसीआर जाँच गराउन आएका बिरामीको अचानक मृत्यु भएको दृश्य मोबाइलमा खिचेको बताए । ‘आफन्तले रिक्सामा शव बोकेर घर लगे,’ उनले भने, ‘यस्तो स्थितिको कसले अनुगमन र व्यवस्थापन गर्ने हो ?’

कोहलपुर नगरपालिकाका कोभिड फोकल पर्सन गेराज खनालले कोभिड संक्रमण पुष्टि नभएकालाई नगरपालिकाले सहयोग गर्ने मापदण्ड नभएको जवाफ दिए । कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा तीन दिनदेखि अक्सिजनको अभाव देखाउँदै कोभिडका बिरामी भर्ना गर्न बन्द गरिएको छ । शुक्रबार नगरपालिकामा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी प्रमुख ओम राना, प्रदेश सांसद आरती पौडेल, नगरपालिकाका प्रमुख लुटबहादुर रावत, उपप्रमुख सञ्जुकुमारी चौधरी, नगर प्रशासन प्रमुख छविलाल नेपाली लगायत विभिन्न पार्टीका नेतासमेत सहभागी भएर अक्सिजन व्यवस्थापन गर्ने विषयमा छलफल गरेका थिए ।

उपचार नपाएर संक्रमितको मृत्यु भइरहेको र घरघरमै शव राखिएको विषयमा राजनीतिक दल र प्रशासन गम्भीर नबनेको आरोप स्थानीयले लगाएका छन् । ‘कहाँ कसको मृत्यु हुन्छ, हामीले तुरुन्तै थाहा पाउन सम्भव हुँदैन,’ कोभिड अनुगमन समितिकी संयोजक नगरपालिकाकी उपप्रमुख सन्जुकुमारी चौधरीले भनिन् । प्रमुख जिल्ला अधिकारी गेलालले नेपालगन्ज मेडिकल कलेजमा अक्सिजन आपूर्तिका लागि चितवनमा अनुरोध गरिएको बताए । अस्पताललाई जति अक्सिजन उपलब्ध हुन्छ, त्यति उपचार गर्न निर्देशन दिएको उनले सुनाए ।

प्रकाशित : वैशाख २५, २०७८ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?