२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

राष्ट्रिय सभा उपनिर्वाचनमा 'एमाले भर्सेस एमाले'

एमालेबाट रामबहादुर थापा, खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङको उम्मेदवारी 
सुवास विडारी

हेटौंडा — राष्ट्रिय सभाको वाग्मती प्रदेशतर्फ रिक्त सदस्य पदका लागि शुक्रबार तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारूढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा, माओवादी केन्द्रको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट काभ्रेका कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय सभा उपनिर्वाचनमा 'एमाले भर्सेस एमाले'

हेटौंडा–५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालयमा माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रस्तावक र नेपाली कांग्रेस वाग्मती प्रदेश प्रमुख सचेतक राधा घलेको समर्थनमा देवकोटाले बिहान ११ बजेर १५ मिनेटमा मनोनयन दर्ता गराएका थिए । कांग्रेस, माओवादी र एमालेको माधव नेपाल समूहका नेताहरूको उपस्थितिमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । देवकोटाको उम्मेदवारी दर्ताका क्रममा नेपाल समूहका नेता पुरुषोत्तम पौडेल उपस्थित थिए ।

जित सुनिश्चित भएपछि मात्रै थापालाई उम्मेदवार बनाउने बताएको एमालेले शुक्रबार बिहान स्थायी कमिटी बैठकबाट थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको थियो । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक तथा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत उनका समर्थक छन् । गृहमन्त्री थापा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट हेटौंडा आएका थिए । उनले १२ बजेर ३० मिनेटमा मनोनयन दर्ता गराएका हुन् ।

नेमकिपाका उम्मेदवार तामाङको प्रस्तावकमा नेमकिपाकै प्रदेश सांसद सुरेन्द्रराज गोसाईं र समर्थकमा प्रदेश सांसद सिर्जना सायाँजु छन् । तत्कालीन नेकपा विभाजनपछि एमाले प्रवेश गरेका गृहमन्त्री थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । जेठ ६ गते हेटौंडास्थित भुटनदेवी माविमा मतदान हुनेछ । प्रदेशसभा सदस्य, पालिका प्रमुख र उपप्रमुख गरी कुल ३ सय ४८ मतदाताले मतदान गर्ने सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलले जानकारी दिए ।

देवकोटालाई कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको संयुक्त गठबन्धनले साथ दिएको छ । देवकोटाले यसअघि वाग्मती प्रदेशको नीति तथा योजना आयोगमा दुई वर्ष उपाध्यक्षको रूपमा काम गरेका थिए । देवकोटाले संविधानको रक्षाका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । ‘अहिले सरकारबाटै संविधान र संघीयतामाथि प्रहार भइरहेको छ, यसलाई रोक्न मेरो उम्मेदवारी हो,’ उनले भने । गृहमन्त्री थापाले राष्ट्रिय सभा सदस्यमा आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरेका छन् । ‘वाग्मती प्रदेशको ९ हजार ५६४ मतमध्ये हाम्रो पार्टीसँग ५ हजार १३० मत छ, यो मतले नै निर्वाचनमा मेरो विजय सुनिश्चित छ ।’ उनले पार्टीभित्रको अर्को समूहले देवकोटालाई समर्थन दिएको विषय हल्लामात्रै भएको दाबी गरे ।

उपनिर्वाचनमा प्रदेशसभाका १ सय १० र स्थानीय तहका २ सय ३८ गरी कुल ३ सय ४८ मतदाता छन् । प्रदेशसभाका एक सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ । प्रदेशसभामा एमाले ५७, माओवादी केन्द्र २३, कांग्रेस २२, विवेकशील साझा पार्टी २, राप्रपा २, नेमकिपा २ र स्वतन्त्र एक गरी १ सय १० मतदाता छन् । स्थानीय तहमा एमालेको १३३, कांग्रेसको ६७, माओवादीको ३३, नेमकिपाको २, राप्रपाको दुई र जसपाको १ मत रहेको छ ।

एमालेको प्रदेशमा रहेका ५७ सांसदको भोट एकढिक्का भए २,७३६ मतभार प्राप्त हुनेछ । स्थानीय तहका १३३ जनप्रतिनिधिको १८ मतभारले २,३९४ मतभार हुनेछ । जसमा खनाल–नेपाल समूहको विद्रोह नहुने अवस्था भयो भने एमालेको कुल ५,१३० मतभार हुनेछ ।

कांग्रेसको प्रदेशमा २२ सदस्यको ४८ मतभारका हिसाबले १,०५६ र स्थानीय तहमा रहेका ६७ जनप्रतिनिधिको १८ मतभारका हिसाबले १,२०६ मतभार हुन्छ । कांग्रेससँग जम्मा मतभार २,२६२ छ ।

माओवादीको प्रदेशमा रहेको २३ सिटको ४८ मतभार हुने हुँदा १,१०४ र स्थानीय तहका भोट हाल्न पाउने ३३ जनप्रतिनिधिको ५९४ गरी १,६९८ मतभार छ । यस हिसाबले कांग्रेस र माओवादी केन्द्रमात्रको गठबन्धनसँग ३,९६० मात्र हुन आउँछ ।

साना दलमध्ये विवेकशील साझाको प्रदेशसभामा तीन सदस्य छन्, जसको मतभार १४४ मत हुन्छ । विवेकशीलले कसलाई सहयोग गर्ने टुंगो लागेको छैन । राप्रपाको प्रदेशमा दुई सांसदको ९६ र एक स्थानीय जनप्रतिनिधिको १८ गरी १३२ मत भार छ । नेमकिपाको प्रदेशमा दुई सिटको ९६ र स्थानीय तहका दुई जनप्रतिनिधिको ३६ गरी १३२ मतभार छ ।

प्रकाशित : वैशाख २५, २०७८ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?