२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बेड खोज्दाखोज्दै बुटवलमा वडा सदस्यको मृत्यु

अमृता अनमोल

बुटवल — अस्पताल खोज्दा खोज्दै बुटवलमा एक जनप्रतिनिधिको एम्बुलेन्समै मृत्यु भएको छ । कोरोना संक्रमित बुटवल उपमहानगरपालिका ७ का वडा सदस्य नवीन थापा मगरको अस्पतालमा बेड नपाएर एम्बुलेन्समै मृत्यु भएको हो । 

बेड खोज्दाखोज्दै बुटवलमा वडा सदस्यको मृत्यु

श्वासप्रश्वासमा समस्या आएपछि कोरोना संक्रमित थापालाई शुक्रबार राति बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ बेड नपाएपछि क्रिमसन अस्पताल मणिग्राम, भिम अस्पताल हुँदै युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवा पुर्‍याइएको थियो । तर मेडिकल कलेजमा पनि उपचार सेवा नपाउँदा उनको एम्बुलेन्समै मृत्यु भएको हो । बिहान साढे ४ बजे एम्बुलेन्समै मृत्यु भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । मेडिकल कलेजमा बेड खाली भए पनि अक्सिजन नहुँदा एम्बुलेन्सको अक्सिजनकै सहारामा बाहिर चौरमा राखिएको थियो ।

थापाको उपचारका लागि अस्पताल खोज्न चहारेका उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईले अस्पतालकै प्रांगणमा उपचार नपाएर मर्नुको पीडा बताइनसक्नुको भएको बताए । उनले फेसबुकमा नविनले उपचारका लागि भोगेको सास्तीबारे बताएका छन् ।

अन्तिम अवस्थामा मेघराज छिटो अस्पतालभित्र लैजाउभन्दा पनि केही गर्न नसकेको उनले दुखेसो पोखे । ‘मैले तपाईंको शरीर लगलग कापिरहेको देखें, अनुहारबाट फिटफिट पसिना चुहाइरहेको देखें, तपाईंको आँखाबाट आँशुका धाराहरू बगिरहेको देखेँ, उपचारको आशामा तपाईं व्यग्र भइरहेको देखेँ, तपाईं तडपिइरहेको देखेँ, तपाईं छटपटाइरहेको अनि उकुसमुकुस भइरहेको देखेँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘मेघराज छिटो गर न म यहाँ एम्बुलेन्सभित्र अक्सिजन लगाएरमात्र बस्न सकिरहेको छैन । मलाई छिटो अस्पतालभित्र लगिहाल न भन्दै चिच्याइरहेको सुनेँ । तर म निरीह भए । लाचार भएँ, मैले तपाईंको लागि केही गर्न सकिनँ दाइ, मैले तपाईंलाई बचाउन सकिनँ ।’

रुपन्देहीमा उपचार अभावमा मृत्यु हुने थापा पहिलो व्यक्ति होइनन् । कोरोनाको पहिलो लहरमा बुटवल ८ का वडासचिव नारायण ज्ञवालीको पनि उपचार अभावमा मृत्यु भएको थियो ।

प्रकाशित : वैशाख २४, २०७८ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?