देउवा र दाहालबीच भेटवार्ता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवा र दाहालबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । निकट स्रोतका अनुसार शुक्रबार साँझ करिब ६ बजे दाहाल देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । 

राष्ट्रिय सभाको उपनिर्वाचन र नयाँ सरकार गठनका विषयमा उनीहरुबीच करिब आधा घण्टा छलफल भएको स्रोतले बतायो ।

गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेता देउवालाई भेट्न उनको निवास पुगेका थिए । वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसद्‌बाट विश्वासको मत लिने तयारी भएको बेला दाहाल र देउवाबीच छलफल भएको हो ।

बिहीबार एमाले नेता माधवकुमार नेपाल र भीम रावल पनि देउवा भेट्न उनको निवास पुगेका थिए ।

प्रकाशित : वैशाख २४, २०७८ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्

पनौतीको अक्सिजन प्लान्ट फेरि चालु

कान्तिपुर संवाददाता

काठमाडौँ — काभ्रेको पनौतीमा रहेको नवज्योति अक्सिजन प्लान्टलाई फेरि सञ्चालनमा ल्याइएको छ । अपरेटरको अभावमा केही समयदेखि बन्द प्लान्ट सैनिक प्राविधिकहरुको सहयोगमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको हो । कोरोना भाइरसको महामारीले संकट बढाएका बेलामा अक्सिजनको माग ह्वात्तै बढेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मार्फत नेपाली सेनालाई अपरेटर पठाएर सहयोग गरिदिनका लागि अनुरोध आएको थियो ।

‘सेनाले प्लान्ट सञ्चालनमा ल्याउन चार जना प्राविधिक पठाएर पुनः काममा ल्याउन थालिएको हो,’ सैनिक प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलले भने । उनका अनुसार उक्त प्लान्टको एक सय ५० घनमिटर क्युबबराबरको अक्सिजन उत्पादन गर्ने क्षमता छ । ‘त्यहा“का दुई प्लान्टबाट उत्पादन हु“दा एक दिनमा ठूला सिलिन्डर १ हजारदेखि १२ सय वटासम्म भर्न सक्ने रहेछ,’ पौडेलले भने । उक्त प्लान्टले यस अघि त्रिवि शिक्षण अस्पताललगायत अन्य अस्पतालहरुलाई अक्सिजन उपलब्ध गराउँदै आएको थियो ।

प्रवक्ता पौडेलका अनुसार अक्सिजनका सिलिन्डर ढुवानी गर्नलाई पनि सेनाले चारवटा ट्रक छुट्याएको छ । ‘कसैले आवश्यकता पर्नेबित्तिकै फोन गर्न सक्छन् । हामी सिलिन्डरहरु पुर्‍याइदिन्छौं,’ उनले भने ।

प्रकाशित : वैशाख २४, २०७८ १८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×