कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कामीरिता शेर्पा २५ औं पटक सगरमाथा चुचुरोमा

२९ वर्ष लामो पर्वतारोहण यात्राका क्रममा सर्वोच्च शिखरबाहेक उनले केटु र ल्होत्से एक–एकपटक, चोयु आठपटक र मनास्लु हिमाल तीनपटक आरोहण गरिसकेका छन् ।
सुरज कुँवर

काठमाडौँ — सोलुखुम्बुका ५१ वर्षीय पर्वतारोही कामीरिता शेर्पाले २५ औं पटक सगरमाथा चुमेर नयाँ विश्व रेकर्ड कायम गरेका छन् । कोरोना महामारीले नेपाललगायत एसियाली मुलुकको जनजीवन प्रभावित भएका बेला आफ्नै रेकर्ड ब्रेक गर्दै उनले संसारकै सर्वोच्च शिखरको सफल आरोहण गरेका हुन् ।

कामीरिता शेर्पा २५ औं पटक सगरमाथा चुचुरोमा

गत वर्ष मात्रै ८६ सेन्टिमिटर उचाइ वृद्धि भई ८ हजार ८ सय ४८.८६ मिटर अग्लो घोषित चुचुरोमा जब उनी शुक्रबार साँझ ६ बजे अन्य ११ जना शेर्पासहित डोरी टाङ्दै चुचुरोमा पुगे, लगत्तै उनको यो रेकर्डको खबरले सञ्चारमाध्यमहरूले संसारभरका आरोहीको ध्यानाकर्षण गर्‍यो । सञ्चारमाध्यममा औपचारिक रूपमा खबर आउनुअघि नै सामाजिक सञ्जालमा ‘२५ औं पटक सगरमाथा चढेर’ आफ्नै रेकर्ड ब्रेक गरेका कामीरितालाई बधाई दिनेहरूको ओइरो लागिसकेको थियो । उनी भाइरल र ट्रेन्डिङको सूचीमा परिसकेका थिए ।

‘बच्चाहरूले इन्स्टाग्रामबाट थाहा पाए,’ काठमाडौं बौद्धको तीनचुलीमा रहेकी कामीरिताकी पत्नी जाङ्मुले कान्तिपुरसँग खुसी साट्दै भनिन्, ‘आफ्नै रेकर्ड ब्रेक गरेर २५ पटक पुगेको खबर सुनेर एकदमै खुसी लागेको छ ।’ कामीरिताले चुचुरोमा जानुअघि गत मंगलबार आधार शिविरबाट ‘म माथि चुचुरोतर्फ जाँदै छु’ भनेर फोन गरेको जाङ्मुले सुनाइन् ।

‘चार दिनअघि फोनमा कुरा भएको थियो । त्यसपछि उहाँको यात्राका लागि गुम्बामा गएर पूजा गरेकी थिएँ,’ कलेज अध्ययन गर्दै गरेका छोरा र छोरीका साथ डेरामा बस्दै आएकी जाङ्मुले भनिन् । २४ वर्षको उमेरमा पहिलोपटक २०५१ मा सगरमाथामा पाइला राखेका कामीरिताले ‘अब के हिमाल आरोहणबाट संन्यास लिन्छन् ?’ भनी सोध्दा उनले यसबारे अहिल्यै भन्न नसकिने बताइन् । ‘उहाँका विदेशी साथीहरूले के भन्छन् अनि मात्रै भन्न सकिएला,’ जाङ्मुले भनिन् । उनको कुरा सुन्दा पर्वतारोहण पेसालाई ‘करियर’ बनाएका कामीरिता वातावरण अनुकूल भए अझ केही वर्ष सगरमाथा आरोहणमा जाने नै छन् ।

कामीरिताको हिमाल आरोहण गराउने आफ्नै कम्पनी छैन । उनी ५ वर्षयता आबद्ध सेभेन समिट ट्रेक्सको सिनियर हाई अल्टिच्युट गाइडका रूपमा सगरमाथा गएका हुन् । शुक्रबार फर्केपछि उनी पुनः भारतीय आरोहण दलको गाइडका रूपमा चुचुरोसम्म जाने छन् । उनले सफल आरोहण गरे एकै सिजनमा दुई पटक सगरमाथाको चुचुरोमा जानेछन् । सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार, यही सिजनमा कामीरिता २६ पटक सगरमाथा आरोहण गरेर फर्किंदै छन् ।

शुक्रबारको आरोहण उनी चौथो क्याम्पदेखि माथि डोरी टाँगेर बाटो बनाउने रोप फिक्सिङको नाइकेका रूपमा गएका थिए । उनीसहित संखुवासभाका ६ र सोलुखुम्बुका ६ गरी १२ जना शेर्पा बिहीबार बेलुकी ६ बजे ८ हजार मिटर उचाइमा रहेको चौथो क्याम्पबाट यस सिजनका लागि बाटो बनाउँदै उक्लिएका थिए । शुक्रबार ६ बजे चुचुरोमा पुगेका उनीहरू साँझ ९ बजे चौथो क्याम्पमा सकुशल फर्किसकेको सेभेन समिटले जनाएको छ । ‘डोरी टाङ्दै गएका १२ जना भोलि शनिबार ५३ सय मिटर उचाइको आधार शिविरमा फर्किंदै छन्,’ काठमाडौंमा रहेका मिङ्माले आधार शिविरमा रहेको आफ्नो कम्पनीको सूचना उद्धृत गर्दै कान्तिपुरसँग भने ।

सेभेन समिटका अनुसार, एकपटक उत्तरतर्फको तिब्बती मोहडाबाट सगरमाथा आरोहण गरेका कामीरिताले बाँकी २०५१ देखि २०७८ सम्म २४ पटक दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गरेका हुन् । आफ्नो २९ वर्ष लामो पर्वतारोहण यात्राका क्रममा उनले पाकिस्तानमा रहेको संसारकै दोस्रो अग्लो हिमाल केटु एकपटक, चौथो अग्लो ल्होत्से एकपटक, छैटौं चोयु आठपटक र आठौं अग्लो मनास्लु हिमाल तीनपटक आरोहण गरिसकेका छन् ।

यस सिजनमा सगरमाथा आरोहणका लागि मात्रै पर्यटन विभागले ४४ वटा आरोहण दललाई अनुमति दिएको छ । जसमा ९२ महिला र ३ सय १५ पुरुष छन् । यीमध्ये १२ वटा आरोहण दलका १ सय ३० जना सेभेन समिटमार्फत त्यता गएका हुन् । यो सिजनमा नेपालका १६ वटा हिमालका लागि ८४ वटा आरोहण दलले अनुमति पाएका छन् । यसमा ७ सय ४० जना छन् । यिनलाई सघाउने शेर्पासहितको संख्या करिब ३ हजार हाराहारी छ । जसमध्ये यतिबेला सगरमाथामा मात्रै विदेशी र नेपाली गरी २ हजार जना छन् ।

प्रकाशित : वैशाख २४, २०७८ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?