कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एमाले विवाद : राष्ट्रपतिदेखि दोस्रो तहका नेतासम्म सक्रिय, एकताको आधार भेटिएन 

'अझै ठोस मिलनबिन्दु भेटिएको छैन । अध्यक्षले मैले निर्णय गरेको छु त्यो मानेर आउनुस् भन्नुभयो । हामीले त्यो हुँदैन भन्यौं । हामीले २०७५ जेठ २ लाई आधार बनाएर एकताको विकल्प खोज्नुपर्छ भन्यौं' - योगेश भट्टराई
जयसिंह महरा

काठमाडौँ — नेकपा (एमाले)को एकता जोगाउनका निम्ती आफूले गरेका निर्णय मानेर पार्टी गतिविधिमा संलग्न हुन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले समानान्तर गतिविधि गरिरहेको वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपाल पक्षलाई आग्रह गरेका छन् । 

एमाले विवाद : राष्ट्रपतिदेखि दोस्रो तहका नेतासम्म सक्रिय, एकताको आधार भेटिएन 

राष्ट्रपति विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्रीसमेत रहेका संगठन विभाग प्रमुख विष्णु पौडैललगायतलाई पछिल्ला दिनमा पार्टीको विवाद मिलाउन परिचालन गरेका ओली आफैंले पनि नेपाल पक्षका नेताहरूसँग पटक-पटक छलफल गरेका छन् ।

छलफलमा सहभागी खनाल-नेपाल पक्षका नेताहरूले अध्यक्ष ओलीले पार्टी एकताका लागि ठोस प्रस्ताव अगाडि नसारेको र आफूहरूले राखेको प्रस्तावमा पनि स्वीकृति नजनाएको बताएका छन् ।

एमालेको विवाद उत्कर्षमा पुगेको बेला राष्ट्रपति भण्डारीले बिहीबार साँझ नेता नेपालसँग झन्डै पौने ३ घण्टा छलफल गरेकी थिइन् । राष्ट्रपति कार्यालय सितल निवासमा भएको छलफल एमालेको एकता जोगाउने विषयमा केन्द्रित भएको बताइएको छ ।

राष्ट्रपति र नेता नेपालबीच छलफल भइरहेका बेला प्रधानमन्त्री निवासमा अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईसँग छलफल गरेका थिए । झन्डै ३ घण्टा भएको छलफलमा पनि एकताको शुत्र नभेटिएको छलफलमा सहभागीले बताएका छन् ।

आफूले राष्ट्रपति, भुसाल र भट्टराईले अध्यक्ष ओलीलाई भेटेको भोलिपल्ट नेता नेपालले कुनै सहमति नभएको र आफूहरूको एकताको बटमलाइन यथावत रहेको बताएका छन् । शुक्रबार उनले भनेका छन्, '२०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो ।' उनले पार्टी एकताक लागि आफूहरू वार्ता र लचकता अपनाउने बताउँदै भनेका छन्, 'तर अहिलेसम्म कुनै सहमति भएको छैन ।' पछिल्लो समय भइरहेका छलफललाई लिएर आफू पक्षलाई 'भ्रममा नपर्न, नअलमलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन' पनि उनले आह्वान गरेका छन् ।

अध्यक्ष ओलीसँग बिहीबार साँझ लामो छलफल गरेका एमाले नेता योगेश भट्टराईले 'पार्टी मिलाउने कुरा भएको' बताए । उनले कुराकानी हुनु राम्रो भए पनि एकताको ठोस प्रस्ताव नआएको बताए । 'उहाँले मिल्ने एजेन्डा प्रस्तुत गर्नुभएको छैन । आफूले गरेका निर्णय मानेर जाउँ मात्रै भन्नुहुन्छ,' ओलीको भनाइ उल्लेख गर्दै भट्टराईले भेटबारे थपे, 'अझै ठोस मिलनबिन्दु भेटिएको छैन । अध्यक्षले मैले निर्णय गरेको छु त्यो मानेर आउनुस् भन्नुभयो । हामीले त्यो हुँदैन भन्यौं । हामीले २०७५ जेठ २ लाई आधार बनाएर एकताको विकल्प खोज्नुपर्छ भन्यौं ।'

आफ्नो र भुसालको कुरा सुनेपछि प्रधानमन्त्रीले फेरि 'छलफल गरौंला' भनेको र आफूहरू बालुवाटारबाट बाहिरिएको भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले महाधिवेशन घोषणा, माओवादी छोडेर आएका नेताहरूलाई दिएको जिम्मेवारी, स्थायी कमिटी गठन, नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोस्नेलगायतका निर्णय मानेर जानुपर्ने भुसाल र भट्टराईलाई भनेका थिए ।

ओलीले बालुवाटार बोलाउनुअघि भुसाल र भट्टराई अर्थमन्त्री विष्णु पौडेलसँग छलफलमा बसेका थिए । त्यहाँ पनि एकताको ठोस आधार नभेटिएको उनीहरूले बताएका छन् । पौडेलसँग छलफल गरेका नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले एकताको ठोस प्रस्ताव नआएको र आधार पनि नभेटिएको बताए ।

ओली र नेपालको बीचमा मध्यस्तताको काम गरिरहेका सांसद सोमप्रसाद पाण्डेले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसँगसम्मका कुराकानीमा एकताको स्पष्ट मार्गचित्र भेटिइनसकेको तर प्रयास जारी रहेको बताए ।

'अध्यक्षले आन्तरिक कुरा मिलाएर जाने कुरा गर्नुभएको छ । बुँदाहरूको वर्कआउटमा छौं,' पाण्डेले भने, 'हिजो राष्ट्रपतिसँग उहाँ (माधव नेपाल)को भेट भएपछि नयाँ परिस्थिति सिर्जना भएको छ । माधव नेपालले २०७५ जेठ २ मा फर्किनुपर्ने बटम लाइन मान्नुपर्छ भन्ने कुरा राखेँ भन्नुभएको छ ।'

अध्यक्ष ओलीसँग मध्यस्तता गरिरहेका नेताहरूले पनि एमाले र माओवादी एकता हुनुपूर्वको अवस्थामा फर्किनुपर्ने कुरा राखेको पाण्डेले बताए । 'यसमा प्रधानमन्त्रीले एस पनि भन्नुभएको छैन, नो पनि भन्नुभएको छैन । टेबुलमा बसेर छलफल भएपछि यी सबै कुरा टुंग्याउन सकिन्छ भन्ने प्रधानमन्त्रीको भनाइ छ,' पाण्डेले भने ।

नेपाल पक्षलाई गरेको कारबाही लगायतका कुरा फिर्ता गर्ने शर्त पत्रमै भएकाले त्यसमा समस्या नभएको अध्यक्ष ओलीले जवाफ दिएको उनले बताए ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीको तर्फबाट मध्यस्तताको काम गरिरहेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने दुवै नेताबीच एकता गराउने प्रयास भइरहेको बताएका छन् । उनले त्यसको अन्तिम कडीका रूपमा शुक्रबार नै दुवै नेताबीच वार्ताको सम्भावना रहेको जानकारी दिए ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकमा पनि नेपाल पक्षसँग कसरी सहमति गर्ने र एकता कसरी जोगाउने भन्नेबारे छलफल भएको उनले बताए ।

महासचिव पोखरेलले बुधबार नेपाल पक्षका नेताहरू भट्टराई, गणेश पहाडी लगायतलाई भेटेका थिए । उक्त भेटमा महासचिव पोखरेलले पार्टी मिलाउने प्रस्ताव के हो ? भनेर सोधेको उक्त छलफलमा सहभागी एक नेताले बताए । जवाफमा २०७५ जेठ २ नै आधार भएको जवाफ दिएको ती नेताको भनाइ थियो ।

महासचिव पोखरेललाई नेताहरूले व्यक्ति-व्यक्ति भेटेर समस्या समाधान नहुने । पार्टी एकता जोगाइराख्नका लागि ओली, खनाल र नेपालबीच छलफल गराउनुपर्ने सुझाएका थिए । शीर्ष नेताबीच गहन छलफल भएमा पार्टी एकता एकै भेटमा जोगिने र त्यसका लागि पहल गर्नुपर्ने सुझाव आफूहरूले दिएको ती नेताको भनाइ थियो । 'एकताका ढोका बन्द गर्ने र हामीलाई अल्झाउन मात्रै खोज्ने हो भने अब हामी अल्झिने पक्षमा छैनौं । वार्ता पनि भइरहन्छन् हामी आफ्ना योजना पनि तयार राखिराख्छौं,' ती नेताले भने ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा बैशाख २७ गते विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि प्रतिनिधिसभाको अधिवेशन पनि आह्वान गरिसकिएको छ । विश्वासको मत प्राप्त गर्नका लागि उनले प्रमुख प्रतिपक्ष कांग्रेसदेखि पार्टीभित्रकै विपक्षी खेमासँग छलफल गरिरहेका छन् ।

बैशाख २७ गतेलाई नै ध्यानमा राखेर प्रधानमन्त्री तथा अध्यक्ष ओलीको तर्फबाट पछिल्ला गतिविधि भइरहेको खनाल-नेपाल खेमाको बुझाइ छ । २७ गते पहिल्यै सहमति गर्ने र त्यसको कार्यान्वयनमा ओलीले बाधा हाल्ने हुन् कि भन्ने नेपाल पक्षको शंका छ । 'कुराकानी अत्यन्तै सकारात्मक तवरमा भइरहेको छ । त्यसको कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा हो,' सोमनाथ पाण्डेले भने, 'नेताहरूबीच विश्वास बढाउन गाह्रो भइरहेको हो । दुवै पक्ष सकारात्मक देखिनुहुन्छ तर विश्वास बढाउने, जगाउने प्वाइन्टमा पुगिसकेको छैन ।'

ओली-नेपाल भेट अन्योलमा

यसैबीच प्रधानमन्त्री तथा अध्यक्ष ओली र नेता नेपालबीच शुक्रबार भेटको तयारी भएको बताइएको छ ।नेता नेम्वाङले ओली र नेपालबीच भेटको सम्भावना रहेको बताएका छन् ।

नेपाल पक्षले भने भेटको टुंगो नलागिसकेको बताएको छ । दुवै पक्षलाई सहमतिमा ल्याउन पहल गरिरहेका सोमनाथ पाण्डेले 'छलफल भइरहेको तर टुंगो भइनसकेको' बताए ।

प्रकाशित : वैशाख २४, २०७८ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?