कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बलात्कार प्रयास अभियुक्त धामी पुर्पक्षका लागि थुनामा

विद्या राई

काठमाडौँ — अपांगता भएकी महिलालाई बलात्कार प्रयासको आरोप लागेका अभियुक्त तारासिंह धामीलाई धुलिखेलस्थित जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

बलात्कार प्रयास अभियुक्त धामी पुर्पक्षका लागि थुनामा

बिहीबार न्यायाधिश भिष्मराज प्रसाईंको इजलासले थुनछेक आदेशबाट अर्को फैसला नहुन्जेलसम्मका लागि पुर्पक्षको लागि थुनामा पठाएको हो । ‘अब मुद्दाको प्रमाण बुझ्ने, बकपत्र, अस्पतालको रिपोर्टहरु बुझ्ने काम हुन्छ,’ अदालतका सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए ।

अभियुक्त कसुरदार ठहरिए मुलुकी अपराध संहिता ०७४ को दफा ३४, ११८ र २१९ बमोजिमको सजाय आकर्षित हुने अधिवक्ता मिरा ढुंगानाले बताइन् । मुलुकी अपराध संहिता ०७४ को दफा २१९ मा १८ वर्ष वा १८ वर्षमाथिका महिलालाई जबरजस्ती करणी गरेको भए सात वर्षदेखि १० वर्षसम्म सजायको व्यवस्था छ । तर उद्योगमात्रै गरेकोमा तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

अभियुक्त धामीले काभ्रेकी ५८ वर्षीया महिलालाई चैत्र २३ गते बलात्कार प्रयास गरेका थिए । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ४० वर्षीय धामी काभ्रे बसेर जग्गा दलालहरुलाई सहयोग गर्थे । उनी बसेको घर र पीडितको घर आमुनेसामुने पर्छन् । अभियुक्त कहिले पानी थाप्ने निहुँमा, कहिले गफ गर्ने निहुँमा नीरमाया (परिवर्तित नाम)को कोठा छिर्थे । हालचाल, सन्चोविसन्चो सोधिरहन्थे । धामीले साहुको आँखा छलेर तात्तातो खाना ल्याइदिन्थे । सिजन अनुसारका फलफूल किनेर दिन्थे । नजिकको शुभचिन्तक बनिसकेका धामीले घरमा दिउँसो कोही नभएको मौका छोपेर यसअघि पनि बलात्कार प्रयास गरेका थिए ।

पीडित महिलाको ०६१ साल असारमा आँपको रुखबाट लडेर मेरुदण्ड भाँचिएको थियो । परिवारले साँखुको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गराए । उपचार गराएपनि कहिल्यै निको नहुनेगरी भाँचिएको मेरुदण्डले गर्दा ओछ्यानमै थलिएकी थिइन् । मेरुदण्ड भाँचिएदेखि पिसाब फेर्न युरिन ब्याग र दिसा गर्न डाइपर प्रयोग गर्न टुटेको छैन । कम्मरमुनिको भाग चल्दैन ।

धामीले ओल्टोकोल्टो परेर सुत्न नमिल्ने पीडितको ज्यान लछारपछार गरेर पुराना घाउमाथि घाउ थपिदिएको थियो । उनी अहिले साँखुकै सुष्मा कोइराला मेमोरियलमा उपचाररत छिन् । तीन महिनासम्म निरन्तर उपचार गर्नुपर्ने र तीनलाख जति खर्च लाग्ने अस्पतालले भनेको छ ।

यो पनि पढ्नुहोस्ः

आफ्नै ठानेको मान्छे यौनपिपासु बनेपछि...

प्रकाशित : वैशाख २४, २०७८ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?