राजस्व बढाएर ११ महिनापछि खोलियो काठ- समाचार - कान्तिपुर समाचार

राजस्व बढाएर ११ महिनापछि खोलियो काठ

यसअघि क, ख र ग वर्गको प्रति क्युबिक फिट क्रमश: १ हजार, ८ सय र ५ सय रुपैयाँ रहेको काठको राजस्व दर अहिले क्रमश: १ हजार ५ सय, १ हजार २ सय र ८ सय निर्धारण गरिएको छ ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — सरकारले राजस्व दर बढाएर ११ महिनादेखि बन्द रहेको काठ ओसार–पसार र विक्रीवितरण फुकुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गत जेठ १५ मा बन्द गरेको वैज्ञानिक वनअन्तर्गत काटिएका काठको ओसार–पसार र विक्रीवितरण खोल्ने निर्णय गरेको हो । 

वन पैदावार व्यवसायी र सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले ती काठ फुकुवा गर्न लामो समयदेखि सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसअघि काठ खुला गर्न व्यापारीले १ अर्ब रुपैयाँ घुस दिन खोजेको अभिव्यक्ति दिँदा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले विवादित बनेका थिए । बिहीबार मन्त्री आलेकै प्रस्तावमा काठ फुकुवा गर्ने निर्णय भएको हो ।

यसअघि क, ख र ग वर्गको प्रति क्युबिक फिट क्रमश: १ हजार, ८ सय र ५ सय रुपैयाँ रहेको काठको राजस्व दर अहिले क्रमश: १ हजार ५ सय, १ हजार २ सय र ८ सय निर्धारण गरिएको छ ।

वैज्ञानिक वन कार्यक्रमका नाममा अत्यधिक कटान भएको भन्दै सरकारले गत वर्ष त्यसरी काटिएका काठ ओसार–पसार र विक्रीवितरण बन्द गरेको थियो । रूख कटानबारे अध्ययन गर्न सरकारले गत वर्ष अधिकारकर्मी नेत्र तिमिल्सिनाको संयोकत्वमा वन प्राविधिकसमेत रहेको कार्यदल बनाएको थियो ।

गत चैत १२ गतेको मन्त्रिपरिषद्ले सरकारद्वारा व्यवस्थित, सामुदायिक, साझेदारी र वन संरक्षण क्षेत्रमा स्वीकृत कार्ययोजनाअनुसार काठ कटानको अनुमति दिन सक्ने निर्णय गरे पनि वैज्ञानिक वनअन्तर्गत काटिएका काठबारे सरकार मौन बसेको थियो ।

वैज्ञानिक वन लागू भएका सरकारी, सामुदायिक र साझेदारी वनमा बाहेक सुक्खड खडा र ढलापडा रूख काट्न पनि उक्त निर्णयले बाटो खोलेको थियो ।

वैज्ञानिक वन लागू भएका ७ सय ५० सामुदायिक वन, ३१ साझेदारी र सात चक्लाबन्दी वनमा गरी करिब ५५ देखि ६० लाख सीएफटी काठ भएको सरोकारवालाहरूको दाबी छ ।

नेपाल वन पैदावार व्यवसायी महासंघ (फेनफिट) का अध्यक्ष मन्जिलबाबु मास्केले यति बेला काठ फुकुवा भए पनि लकडाउन र जेठबाट वन प्रवेश प्रतिबन्ध लाग्नेलगायतका कारणले तत्काल उठाउन सकिने अवस्था नरहेको बताए ।

‘अब कात्तिकमा मात्र काठ उठाउन सकिएला,’ उनले भने, ‘ढिलो गरी निर्णय भएकाले काठको हैसियतसमेत बिग्रिएको हुन सक्छ ।’

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) का सचिव ठाकुर भण्डारीले ढिलै भए पनि काठ फुकुवा गर्ने निर्णय हुनु स्वागतयोग्य भएको प्रतिक्रिया दिए ।

व्यवसायीहरूका अनुसार नेपालमा वार्षिक ३–५ करोड क्युबिक फिट काठ माग भए पनि त्यसको आधा पनि उत्पादन हुँदैन । सालजस्तै देखिने गोलिया काठ मलेसिया, इन्डोनेसिया, म्यानमार, कम्बोडिया, युक्रेन, चीन, भारतलगायत मुलुकबाट भित्रिने गरेको छ ।

प्रकाशित : वैशाख २४, २०७८ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्

हेलचेक्‍य्राइँ बढेपछि थप कडाइ

एन्टिजेन परीक्षणको भरमा पहाडी जिल्ला, संक्रमित बढ्दै गएपछि सतर्कता बढाइयो
कुम्भराज राई, डिल्लीराम खतिवडा, विप्लव भट्टराई

ओखलढुंगा, उदयपुर, इलाम — ओखलढुंगामा हालसम्म लक्षण देखिएकामध्ये ६ जनाको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएको छ । खिजिदेम्बा गाउँपालिकामा एक, मोलुङ गाउँपालिकामा दुई र सिद्धिचरण नगरपालिकामा तीन जनामा कोभिड पोजिटिभ देखिएको हो ।

त्यसमध्ये एक जनालाई मिसन अस्पताल ओखलढुंगाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । कन्ट्याक्ट ट्रेसिङमा रहेकाको परीक्षण गरिएको छैन । कोभिडको दोस्रो चरण सुरु भएपछि हालसम्म जिल्लाबाट कसैको पनि पीसीआर परीक्षण गरिएको छैन । पीसीआरका लागि धरान वा काभ्रे पुर्‍याउनुपर्ने बाध्यता छ । ‘केही लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब संकलन गरी पीसीआरका लागि पठाउने तयारी भइरहेको छ ।’

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले भने, ‘तर कहाँ लैजाने भन्ने टुंगो भइसकेको छैन ।’ जिल्लाका विभिन्न स्थानीय तहहरूले आंशिक रूपमा निषेधाज्ञा जारी गरेका छन् । मानेभन्ज्याङ, चम्पादेवी, मोलुङ, लिखु गाउँपालिका र सिद्धिचरण नगरपालिकालगायतले अत्यावश्यकीय सेवाबाहेकका काम बन्द गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी मनिता कार्कीले भनिन्, ‘स्थानीय तहहरूलाई बाहिरी जिल्लाबाट आउनेलाई विशेष निगरानी गरी क्वारेन्टाइन लगायतमा राख्नका लागि सुझाव दिएका छौँ ।’

हालसम्म जिल्ला अस्पतालमा ६ शय्या र मिसन अस्पतालमा ६ शय्या गरि जम्मा १२ शय्याको मात्र आइसोलेसन तयारी अवस्थामा छन् । संक्रमितको संख्या बढ्दै गएमा कसरी उपचार गर्ने भन्ने विषयमा आवश्यक तयारी ढिलाइ भएको सरोकारवालाको भनाइ छ । स्थानीयले पीसीआर परीक्षण गर्ने मेसिन जिल्लामै उपलब्ध हुनुपर्ने माग गरेका छन् । यहाँका व्यवसायीले सरकारी तवरबाट नसक्ने भएमा निजी रूपमा शुल्क तोकेर पीसीआर मेसिन सञ्चालन गर्न अनुमति दिनुपर्ने बताएका छन् । गतसाल पनि स्थानीय तहले मिलेर जिल्लामा एउटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेका थिए । कतिपयले बजेटसमेत विनियोजन गरेका थिए । तर संक्रमण दर घट्दै गएपछि सो बजेट अन्य शीर्षकमै खर्च गरिएको थियो ।

निषेधाज्ञामा थप कडाइ

कोरोना संक्रमण बढ्दै गएपछि उदयपुरमा निषेधाज्ञालाई थप कडा पारिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई कडाइ गर्ने निर्णय गरेको हो । संक्रमण समुदायमै फैलिएपछि शुक्रबारदेखि ३१ गतेसम्म सबै प्रकारका सवारीसाधनलाई पूर्णरूपले रोक लगाउने निर्णय गरिएको केन्द्रका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले बताए । अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई जिल्लाबाहिर आउजाउमा समेत रोक लगाइएको सेढाईंले बताए ।

यसअघि बिहान १० बजेदेखि ३ बजेसम्म प्रमुख व्यापारिक केन्द्र सञ्चालन गर्न दिने निर्णयलाई परिमार्जन गर्दै सबै बजारलाई बिहान ६ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न दिइने भएको छ । अत्यावश्यक वा विशेष काम औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु वा सेवा खरिद बिक्रीबाहेक सामान्यतः कसैलाई पनि घरबाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गर्न आग्रह गरिएको छ ।

बैठकले राष्ट्रिय जनगणना २०७८ का सबै गतिविधि र राष्ट्रिय परिचयपत्रको जिल्लास्तरीय अभियान अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाउने निर्णय भएको सेढार्इंले बताए । साथै, उनले स्वास्थ्योपचारबाहेक अन्यत्र प्रयोग भइरहेका अक्सिजन सिलिन्डरहरू तीन दिनभित्र अक्सिजन उद्योग वा जिल्ला अस्पतालमा बुझाउन अनुरोध गरिएको पनि बताए । भारत तथा अन्य जिल्लाबाट प्रवेश गरी उदयपुरमा बसोबास गर्ने व्यक्तिको हकमा स्थानीय तहको अनुगमनमा अनिवार्य रूपमा १० दिन होमआइसोलेसनमा बस्ने निर्णय भएको छ । विवाहका लागि बेहुलाबेहुलीसहित दुईवटा सवारीसाधनमा ५/५ जनाका दरले ब्यानर राखेर आउजाउ गर्न दिने निर्णय भएको प्रजिअ सेढाईंले बताए ।

कोरोना संक्रमितको संख्या थपिँदै गएपछि इलाममा सजगता अपनाइएको छ । जिल्लामा बुधबार साँझसम्म ९९ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्लोपटक कोराना संक्रमणवाट जिल्लामा ४ जनाको निधन भइसकेको छ । संक्रमण बढेसँगै सदरमुकाम क्षेत्रमा बुधबारदेखि आवतजावत बन्द गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिले संक्रमण नियन्त्रणका लागि वैशाखसम्मका लागि आवतजावत बन्द गर्ने निर्णय गरेको हो । बन्दको समयमा खाद्यान्न र औषधि खरिदसहित अत्यावश्यक कामका लागि भने प्रतिबन्ध लगाइएको छैन । त्यस्तै इलाम नगरपालिका ५ बिब्ल्याँटे बजारमा लामो दूरीका सवारी पार्किङ बन्द गरिएको छ । इलाम उद्योग वाणिज्य संघ, सूर्योदय उद्योग वाणिज्य संघ, पूर्वेली जिप तथा ट्याक्सी यातायात सेवाले पनि एक साताका लागि व्यवसाय बन्द गर्न आग्रह गरेका छन् ।

इलाम नगरपालिकाले बजार तथा राजमार्ग क्षेत्रमा किटनाशक औषधि छर्कन सुरु गरेको छ । दमकल पुग्ने सबै क्षेत्रमा ७ दिनसम्म लगातार औषधि छर्कने नगर प्रमुख महेश बस्नेतले जानकारी दिए । यता पशुपतिनगरमा २० जना अट्ने होल्डिङ सेन्टर स्थापना गरिएको छ । जिल्लाका सबै स्थानीय तहमा आइसोलेसन र क्वारेन्टाइनको स्थापना गर्न कोभिड–१९ संकट व्यवस्थापन समितिले निर्देशन दिइसकेको छ ।

विराटनगरमा ७ संक्रमितको निधन

मोरङ– विराटनगरमा एकै दिन ७ कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा ४, नोवेल अस्पतालमा २ र न्युरो अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

कोभिड–१९ उपचार केन्द्रमा विराटनगर १० का ५७ वर्षीय, विराटनगर १३ का ५० वर्षीय, जहदा गाउँपालिका ५ का २५ वर्षीय र सुनसरीको कोसी गाउँपालिका ४ का ६५ वर्षीयको बिहीबार मृत्यु भएको छ । उपचार केन्द्रका संयोजक बैजनाथ साहका अनुसार स्वास्थ्य अवस्था गम्भीर रहेका चारै जनाको उपचारका क्रममा मृत्यु भएको हो । नोवेल अस्पतालमा विराटनगर ५ की ३७ वर्षीया र विराटनगर १९ का ६४ वर्षीयको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । न्युरो अस्पतालमा रंगेली नगरपालिका ३ का २६ वर्षीयको मृत्यु भएको छ । अस्पतालमा १७ दिनदेखि उपचाररत उनमा बुधबार कोरोना संक्रमण पुष्टि भएको र बिहीबार उपचारको क्रममा मृत्यु भएको अस्पतालका भारत श्रेष्ठले बताए ।

बीपीमा ३ को मृत्यु

सुनसरी– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा बिहीबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ–२ का ७५ वर्षीय, धरान–२ की ५३ वर्षीया र सिराहाको गोलबजार–६ का २९ वर्षीयको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित : वैशाख २४, २०७८ ०९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×