पर लैजाऊ फूलहरू...- समाचार - कान्तिपुर समाचार

पर लैजाऊ फूलहरू...

‘संगीतका लागि आज कालो दिन नै हो, उहाँ संगीतको विश्वविद्यालय नै हो । सम्पूर्ण संगीतप्रेमीले एक आदर्श गायक, संगीतकार र अभिभावक नै गुमाएको छ ।’
सुशीला तामा‌ङ

काठमाडौँ — ‘साँच्चिकै हुन पुग्यो...,
पर लैजाऊ फूलहरू, छोपिदेऊ तारा जून
बन्द गर गीतहरू तिम्रो याद आउने चीजहरू,
प्रेम दाइ !’

गीतकार राजेन्द्र थापाले बिहीबार दिउँसो भावुक शैलीमा आफ्नै रचना, नातिकाजीको संगीत र प्रेमध्वज प्रधानको स्वर रहेको यिनै गीतका पंक्तिहरू सामाजिक सञ्जालमा सेयर गरे । केही क्षणमा नै नेपाली संगीत जगत्ले प्रधानको महाप्रस्थानको खबरसँगै उनको नाममा श्रद्धाञ्जली व्यक्त गर्दै गए ।

थापाको रचनाले इंगित गरेजस्तै प्रधानको याद आउने सबै चीजहरू यतिबेला फूल बनेका छन्, जून बनेका छन् र उनकै गीत संगीतप्रेमीहरूका लागि स्मरण गर्ने अन्तिम कोसेली बनेका छन् । नेपाली सांगीतिक आकाशमा उनको मखमली स्वरमा गुन्जयमान गीतहरू भने कालजयी भएर सम्झाइरहने छन् ।

सिन्धुपाल्चोक चौतारामा जन्मिएका प्रधानको नम्र, सरल र अनुशासित जीवनशैली प्रमुख विशेषता थियो । जति धीमा बोली र हाउभाउ देखिन्थ्यो त्यसको ठीकविपरीत कैयौं गुणा रफ्तार प्रधानले नेपाली संगीतमा देखाए । नजिकबाट चिन्नेहरूका अनुसार संगीतमा अनुशासन र संस्कार चाहिन्छ भन्ने मान्यता राख्थे प्रधान । नेपाली सुगम संगीतलाई अनुपम उचाइ दिएका उनले ८३ वर्षको उमेरमा बिहीबार संसारबाट बिदा लिए । परिवारका अनुसार छातीमा समस्या देखिएपछि १२ दिनदेखि उनलाई सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा भर्ना गरिएको थियो । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेर उनले सांगीतिक यात्रालाई अगाडि बढाएका थिए ।

राष्ट्रिय, आधुनिक, नेवारी, फिल्मी गीत तथा भजन गरी साढे सात सय वटाभन्दा गीतमा उनले स्वर दिएका छन् । पछिल्लो समय ८० वर्षको उमेरमा उनले ‘प्रेमगीत’ एल्बम ल्याएर संगीतप्रतिको सक्रियतालाई देखाएका थिए । नेपाली संगीतमा शृंगार रसलाई मूलधारमा ल्याउनुमा प्रधानको अमूल्य योगदान रहेको गीतकार दिनेश अधिकारीले सुनाए । ‘प्रेम दाइले संगीतलाई आफ्नो समयमा गौरव थपेर जानुभो,’ उनले भने, ‘प्रेममाणिकको नाममा माणिकरत्नजस्ता सर्जकहरूसँग मिलेर उहाँले आधुनिक सुगम संगीतको धारलाई धेरै माथि पुर्‍याउनुभयो ।’

हिन्दी गीतको एकछत्र राज रहेको त्यो समयमा प्रधानले संगीतप्रमीलाई नेपाली गीतको स्वाद दिएका थिए । अधिकारीका अनुसार प्रधान रेडियो नेपालमा हिन्दी फिल्म ‘दिल ए नादान’ मा समावेश गीत ‘ए रात सुहानी’ गाएर पहिलो स्वर परीक्षामा उत्तीर्ण भएका थिए । गीतकार रत्नशमशेर थापा, राजेन्द्र थापाजस्ता सर्जकहरूका रचनामा रहेका ‘गोरेटो त्यो, गाउँको’, ‘पर लैजाऊ फूलहरू’ जस्ता कालजयी गीतहरूले प्रधानको सांगीतिक ख्यातिलाई झनै उचाइ दियो ।

लामो समयदेखि सहकार्य गरेका प्रधानको निधनले संगीत क्षेत्रलाई स्तब्ध बनाएको अधिकारीले बताए । ‘उहाँको सांगीतिक जीवन र सहकार्यको स्मरणमा तस्बिरसहित केही लेखेर यही शनिबार सामाजिक सञ्जालमा राख्ने योजना बनाएको थिएँ । खबर सुनेर एकदमै दुःख लाग्यो,’ उनले भने । संगीतमा एक अनुशासित कलाकार, स्वच्छ छविका दिग्गज स्रष्टाका रूपमा उनले प्रधानको स्मरण गरे ।

संगीतसँगै प्रधानले लामो समय अमेरिकी सूचना केन्द्रमा जागिरे जीवन बिताएका थिए । जागिरे जीवनमा पनि उनले संगीत यात्रालाई रोक्न दिएनन् । जागिरे जीवनबाट नै केही पैसा जम्मा गर्दै उनले २०१८ सालमा बम्बईमा गएर गीत रेकर्ड गराएका थिए । केही समय बम्बईमा रहेर उनले त्यहाँको संगीत क्षेत्रलाई हेरेर फर्केपछि आफ्नो कलाकारितामा अझै निखार ल्याएका थिए । भारतीय संगीत क्षेत्रमा भएको विकासलाई नेपालमा स्थापित गर्नॅपर्छ भन्ने मान्यतामा प्रधान प्रयासरत रहेको संगीतकार एवं गायक शम्भुजित बाँस्कोटाले सुनाए ।

२०२९ सालमा जमलस्थित राष्ट्रिय नाचघरमा एक नाटकको दौरानमा प्रधानसँग पहिलो भेटमा प्रभावित भएको बाँस्कोटालाई अझै स्मरण छ । त्यसपछि २०३३ सालमा संगीतमा प्रधानसँग सहकार्य थालनी भएको उनले सुनाए । नातिकाजीको अन्तिम संस्कारमा पशुपतिमा भेला हुँदा प्रधानले एउटा कुनामा लगेर बाँस्कोटालाई भनेका थिए, ‘शम्भुजितजी, संगीतको एउटा मिठास नै गयो ।’ त्यही उनको जस्तै पीडा आज कसलाई सुनाउने बाँस्कोटा आफैं भावविह्वल छन् । ‘वास्तवमा उहाँ संगीतकै लागि जन्मिनुभएको थियो । उहाँ सोख मात्र होइन प्रोफेसनल सिंगर हुनुहुन्थ्यो,’ उनले भने ।

पछिल्लो समय संगीत क्षेत्रमा स्रष्टाको प्रतिलिपि अधिकारका लागि पनि उनले आवाज उठाइरहेका थिए । स्रष्टा मारमा परिरहेको अहिले अवस्थामा सबैले सिर्जनाको मूल्य पाउनुपर्छ भन्ने अभियन्ताका रूपमा प्रधान खडा भएको बाँस्कोटाले सुनाए । उनले भने, ‘सिर्जनाबाट सबै जना बाँच्नुपर्छ भन्ने सकारात्मक सोच उहाँमा थियो । पछिल्लो नातिकाजी स्मृति दिवस र राष्ट्रपति भवनमा सम्मान ग्रहण भेटघाटकै क्रममा पनि यही कुरा दोहोर्‍याउनुभएको थियो ।’

प्रधानको प्रस्थानले संगीत क्षेत्रमा एउटा खम्बा नै ढलेको संगीतकार राजु सिंह र आभासले महसुस गरेका छन् । ‘संगीतका लागि आज कालो दिन नै हो,’ सिंहले सुनाए, ‘उहाँ संगीतको विश्वविद्यालय नै हो । सम्पूर्ण संगीतप्रेमीले एक आदर्श गायक, संगीतकार र अभिभावक नै गुमाएको छ ।’ आभासले भने, ‘संगीतको खम्बा ढल्यो ।’

सांगीतिक जीवनमा थुप्रै पुरस्कारहरू पाएका प्रधान सधैं सक्रिय रहन मन पराउँथे । उनले २०२३ सालमा पहिलोपल्ट नेपाली फिल्म ‘माइतीघर’ मा पार्श्व स्वर दिएका थिए । अन्याय, मायालु, जीवनरेखा, जीवनसंघर्षजस्ता दर्जन हारहारीका फिल्महरूका गीतमा उनले स्वर दिए । ‘घुम्तीमा नआऊ है’, ‘गोरेटो त्यो गाउँको’ , ‘आँखाभरि सपना’, ‘गुलाफी घुम्टो’, ‘टाढा नभइदेऊ फेरि’, ‘नमान लाज यस्तरी’ लगायत गीतहरू लोकप्रिय छन् ।

प्रकाशित : वैशाख २४, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

जसले कोरोनाले लगेका बुबाको खबर आमालाई सुनाउन सकेनन्

लक्षण देखिनेबित्तिकै अस्पताल पुर्‍याउन पाएको भए बुबालाई बचाउन सकिन्थ्यो कि भन्नेमा उनलाई थकथकी लागिरहेको छ
‘एक जना दिदीले दाहसंस्कार गर्नुभयो भन्ने सुनें, हामीले त बुबाको नाममा केही पनि गर्न सकेका छैनौं’
सुशीला तामा‌ङ

काठमाडौँ — अवस्था सामान्य थियो भने यतिबेला उनी सेतो वस्त्रमा हुने थिए । परिवारसँगै बाबुको मृत्यु संस्कारमा जुटिरहेका हुन्थे । तर उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेढ साताको बसेर शनिबार साँझमात्रै घर फर्किएका छन् ।

कोरोनाबाट निको भएको खुसीभन्दा बढी उनमा वियोगको घाउ छ । ‘बुबाको मृत्युको खबर आमालाई कसरी सुनाऊँ ?’ टेकुका डिकेन सुवालले भने, ‘अझ काजकिरिया गर्न पनि बाँकी नै छ ।’ आफू कोरोनामुक्त भए पनि सुक्खा खोकी लाग्ने गरेको उनले सुनाए ।

अघिल्लो शुक्रबार उनले बुबा शंकरराज सिंह सुवाललाई कोरोना संक्रमणकै कारण टेकु अस्पतालमा गुमाए । डिकेनकी आमा, श्रीमती र छोरालाई समेत संक्रमण भयो । ‘अस्पताल ल्याएको चार/पाँच दिनपछि बुबा बित्नुभएको खबर पाए पनि चुपचाप मन दह्रो बनाएर बसें,’ उनले भने, ‘मेरो छोरा र आमालाई अझै बुबा बित्नुभएको खबर थाहा छैन ।’ बुबाको मृत्युको खबर सुन्नुबाहेक अरू केही गर्न नसकेकोमा उनले दुखेसो पोखे । ‘हामी सबै हस्पिटलमै थियौं । हस्पिटल, वडा अध्यक्ष र एक जना दिदीले बुबाको दाहसंस्कार गर्नुभयो भन्ने सुनें । बुबाको नाममा हामीले केही पनि गर्न सकेका छैनौं,’ उनले भावुक हुँदै सुनाए । उनका अनुसार सुवाल केही वर्षदेखि मुटुका बिरामी थिए । मुटुमा पेस मेकर राखिएको उनलाई कोरोनाको लक्षण देखिएको थियो । संक्रमण भएको थाहा पाएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याएको डिकेनले बताए । ‘फोक्सोमा संक्रमण बढिसकेकाले बुबालाई तत्काल आईसीयूमा राख्नुपर्ने भयो । बल्ल टेकुमा आईसीयू वार्ड पाएपछि बुबासहित हामी पनि भर्ना भएका थियौं,’ उनले भने । पाँच दशकभन्दा बढी कला सिर्जनामा बिताएका सुवाल पछिल्लो समय पनि उत्तिकै सक्रिय थिए । ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापनादेखि नेपालमा आधुनिक चित्रकला विकासमा योगदान पुर्‍याएका उनको मृत्युमा छोराले अन्तिम संस्कारसमेत गर्न पाएका छैनन् । सुवाल ‘मेम्बर अफ आर्टिस्ट सर्कल’ का सदस्य तथा आधुनिक कलाकार समाज (सोमा) का अध्यक्षसमेत थिए ।

डिकेनकी आमा र श्रीमतीलाई सुवालको निधनपछि तुरुन्तै ललितपुरस्थित स्टार अस्पतालमा सारिएको थियो । शय्या अभावका कारण डिकेनलाई भने पुनः टेकुमै ल्याइयो । अस्पतालमा दैनिक देखिने भयावह अवस्थालाई उनले नजिकैबाट नियालिरहेका छन् । घरमा अब अभिभावकत्व बहन गर्नुपर्ने भएकाले मनलाई बलियो बनाउने प्रयास गरिरहेको उनले बताए । निको भएर उनकी आमा र श्रीमती शुक्रबार घर फर्किएका छन् । छोरा होम आइसोलेसनमा छन् । भर्खर तंग्रिएकी ७० वर्षीया आमाले आफ्ना श्रीमान्को मृत्युको खबर कसरी सहलिन् भन्ने चिन्ताले उनलाई अझै सताइरहेको छ । उनले सुनाए, ‘शरीर र अन्य रोगका कारण आमाको स्वास्थ्य अवस्था ठीक छैन । त्यही भएर हामीले अझैसम्म केही भनेका छैनौं । अब बिस्तारै सबै मिलाउनुपर्छ भन्ने सोचमा छु ।’

मृत्युसँग लडिरहेको सिंगो परिवार र आँखै अगाडि बुबाको जीवनको अन्तिम समयलाई बेहोरेका डिकेन कोरोनाले लाचार बनाएको सुनाउँछन् । यसलाई कमजोर नठान्न सबैप्रति उनको आग्रह छ । लक्षण देखिनेबित्तिकै अस्पताल पुर्‍याउन पाएको भए बुबालाई बचाउन सकिन्थ्यो कि भन्ने उनलाई थकथकी लागिरहेको छ । ‘अहिलेको अवस्थामा कोरोना भएको थाहा पाएपछि घरमा नै निको होला कि भनेर बस्नु हाम्रो ठूलो गल्ती हो,’ उनले भने, ‘अहिले मेरो परिवारले भोगेर थाहा भयो । भोलि अर्को परिवारले पनि यस्तै भोग्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।’

प्रकाशित : वैशाख १९, २०७८ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×