२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्‍वास प्रस्तावमा सोमबार मतदान हुने

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशको विशेष अधिवेशन वैशाख २७ गते बस्ने भएको छ । बिहीबार गण्डकी प्रदेश सचिवालयमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सोमबार बैठक तय गरेको हो । सोही दिन सरकारविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्‍वास प्रस्तावमा सोमबार मतदान हुने

सभामुख नेत्रनाथ अधिकारीले परामर्श समितिको बैठकले सर्वसम्मत रुपमा विशेष अधिवेशनको मिति तय गरेको बताए । उनले सोही दिनमा पक्ष र विपक्षमा लिखित मत विभाजन हुने बताएका छन् । बैठकमा सबै राजनीतिक दलको उपस्थिति थियो । प्रदेशसभा बैठक वैशाख १५ देखि अनिश्चितकालका लागि स्थगित गरिएको थियो । विशेष अधिवेशन वैशाख १३ देखि सुरु भएको थियो ।

अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ कै मध्यरातमा हिउँदे अधिवेशन अन्त्य गराएका थिए । चैत २५ मा सुरु भएको हिउँदे अधिवेशन जम्मा ३ दिन चल्यो । वैशाख १ मा जनमोर्चा र २ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीविरुद्ध कांग्रेस, माओवादी र जसपाका २८ सांसदले वैशाख २ मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

वैशाख २ मै तीन दलले विशेष अधिवेशनको माग गर्दै तत्कालीन प्रदेश प्रमुख अमिक शेरचन समक्ष निवेदन बुझाएका थिए । सो अनुसार प्रदेश प्रमुख शेरचनले वैशाख १३ मा विशेष अधिवेशन आह्वान गरेका हुन् । विशेष अधिवेशनको पहिलो दिनमै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्ताव टेबुल गरेका थिए ।

वैशाख १४ गतेको बैठकमा सत्तारुढ दलले सबै सांसदको पीसीआर परीक्षण गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गरेको थियो । १५ गते दिउँसो १ बजेसम्म स्थगित भएर सञ्चालन भएको बैठकमा राजमोका सांसद खिमविक्रम शाही उपस्थिति नभएपछि राजमोकी सचेतक पियारी थापाले सांसदको खोजी गर्न माग गर्दै सचिवालयमा निवेदन दिएकी थिइन् । थापाले सांसदको अवस्था सार्वजानिक नभएसम्म संसद् स्थगित गर्न माग राखेकी थिइन् । जनमोर्चाको माग अनुसार संसद् बैठक अनिश्चितकालको लागि स्थगित भएको थियो । पोखराको चरक मेमोरियल अस्पतालमा भेटिएका सांसद शाही अहिले पनि सोही अस्पतालमा उपचारत छन् ।

प्रकाशित : वैशाख २३, २०७८ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?