३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

आठ नाकामा बहुउपयोगी अस्थायी भौतिक संरचना बनाउँदै सेना

हरेक नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर, आइसोलेसन र एक सय अक्सिजन उपलब्धसहितको बेड पनि राख्न सकिने
जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि नेपाली सेनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा नेपाल–भारत सीमा क्षेत्रका आठ मुख्य नाकाहरुमा एक हजार क्षमताको बहुउपयोगी अस्थायी भौतिक संरचना बनाउने तयारी थालेको छ । 

आठ नाकामा बहुउपयोगी अस्थायी भौतिक संरचना बनाउँदै सेना

हरेक नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर, आइसोलेसन र एकसय अक्सिजन उपलब्धसहितको बेड पनि राख्न सकिने गरी बहुउपयोगी अस्थायी भौतिक संरचना बनाउने विषयमा स्वास्थ्य मन्त्रालयसँग डिजाइनका विषयमा छलफल भइरहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

मन्त्रिपरिषद्ले वैशाख ६ गते कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सम्बन्धित प्रदेशको समन्वयमा गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेलहिया, वीरगन्ज, रानी तथा काँकडभिट्टा अन्तर्राष्ट्रिय स्थलगत सीमा नाका र आवश्यक अनुसार अन्य थप अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाको नजिकै पायक पर्ने स्थानमा कम्तीमा एक हजार क्षमताको कोल्डिङ सेन्टरको निर्माण गर्ने निर्णय गरेको थियो ।

त्यसपछि वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा गरेको सम्बोधनमा नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र एक हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिएका थिए । साथै, उनले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने बताएका थिए ।

सरकारकै निर्णय बमोजिम सेनामा उपत्यकाको महाकालमा रहेको मिलिटरी अस्पतालमा ८० शय्याको बेड व्यवस्था हुने गरी गृहकार्य गरेको छ ।

प्रधानमन्त्री ओलीले अस्पाल भनेपनि सेनाले बहुउपयोगी अस्थायी भौतिक संरचना बनाउन लागेको हो । अन्य प्रदेशहरुमा भने अहिले स्वास्थ्य मन्त्रालयसँग निर्माण गरिने बहुउपयोगी अस्थायी भौतिक संरचनाको डिजाइनको बारे गृहकार्य भइरहेको सेनाले जनाएको छ ।

यो संरचना तयार गर्न केही समय लाग्ने सेनाले जनाएको छ । सैनिक प्रवक्ताका अनुसार सबैभन्दा पहिला स्वास्थ्य मन्त्रालयसँग ती संरचनाको डिजाइनको विषयमा टुंगो लागेपछि आवश्यक आर्थिक स्रोतका लागि अर्थ मन्त्रालय र सम्बन्धित नाकाहरुमा जग्गा प्राप्तीका लागि गृह मन्त्रालयलाई अनुरोध गरिनेछ । जग्गा प्राप्ती र आर्थिक पाटो टुंगिएर आएपछि सम्बन्धित स्थानमा सेनाले उक्त बहुउपयोगी अस्थायी भौतिक संरचना बनाउने कामको थालनी गर्नेछ । ‘संरचनाको लागत कति हुन्छ, बढी लागत भएमा हामीले सार्वजनिक खरिद ऐन अनुसार जानुपर्ने हुन्छ । त्यसको लागि पनि केहि समय लाग्छ,’ प्रवक्ता पौडेलले भने ।

एक हजार क्षमताको बहुपक्षीय भौतिक संरचनामा आवश्यक स्वास्थ्य सामग्री, आवश्यक जनशक्तिलगायतका सम्बन्धमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने प्रवक्ता पौडेलले बताए । ‘नेपाली सेनाको स्वास्थ्य संरचनामा भएका सामग्री र जनशक्तिले नाकाका ती बहुपक्षीय अस्थायी भौतिक संरचनामा अपुग हुन्छ । त्यसको लागि छुट्टै आवश्यकता पर्छ,’ उनले भने ।

नेपाली सेनामा करिब २३ सय सैनिक स्वास्थ्यकर्मीहरु छन् । सेनाले २०७२ सालदेखि अवकाश पाएका आफ्ना सैनिक स्वास्थ्यकर्मीहरुलाई काममा फेरि बोलाउन सक्ने गरि निर्देशन बुधबार जारी गरिसकेको छ । सेनाले त्यस यताका स्वास्थ्यकर्मीहरुलाई बोलाए थप ३ सय जना बढ्ने छन् ।

सेनाले अहिले कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापनको पनि जिम्मेवारी सम्हाल्दै आएको छ । कोभिड–१९ संकट व्यवस्था केन्द्र (सीसीएमसी) को निर्देशन अनुसार सेनाले आइसोलेसन, क्वारेन्टाइनलगायत आवश्यक स्थानमा सुरक्षा दिने जिम्मेवारी गरिरहेको प्रवक्ता पौडेलले बताए ।

प्रकाशित : वैशाख २३, २०७८ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?