पर्सामा कोरोनाबाट थप ६ को मृत्यु

शंकर आचार्य

पर्सा — कोरोना संक्रमणका कारण पर्सामा २५ घण्टायता थप ६ जना संक्रमितको मृत्यु भएको छ । ५ को वीरगन्जस्थित नारायणी अस्पताल र १ को एड्भासन्स अस्पतालमा मृत्यु भएको हो । 

पर्सामा कोरोनाबाट थप ६ को मृत्यु

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार, एडभान्स अस्पतालमा मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १४ की ६० वर्षीया महिला हुन् । उनको बुधबार बिहान १० बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको थियो ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार यो अस्पतालमा बुधबार राति ११ बजेर ३५ मिनेटमा वीरगन्ज महानगरपालिका-४ का ७० वर्षीय पुरुषको मृत्यु भएको थियो । बिहीबार बिहान ५ बजेर ५ मिनेटमा रौतहट गौरऔ-६ का ५४ वर्षीय पुरुषको, बिहान ८ बजे बिजयपुर रौतटहका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ।

बिहीबारै बिहान ११ बजेर १० मिनेटमा नारायणी अस्पतालमै रौतहट फत्तेपुर ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । बिहान ११ बजेर ३५ मिनेटमा यसै अस्पतालमा पर्सा जगरनाथपुर गाउँपालिका ८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नारायणी अस्पतालमा बिहीबार कोरोना संक्रमित बिरामीको चाप बढेको छ । अस्पतालका चिकित्सक डा. कैस हुसेनका अनुसार बिहीबार दिउँसो २ बजेसम्म अस्पतालमा १ सय ५ कोरोना संक्रमित बिरामी भर्ना रहेका छन् । उनीहरु मध्ये ७५ लाई आईसीयूमा राखेर उपचार गरिँदै छ । बाँकीलाई अक्सिजन दिइएको छ ।

वीरगन्जस्थित नेपाल भारत सीमामा रहेको हेल्थ डेस्कमा बिहीबार पनि ४ कोरोना संक्रमित फेला परेका छन् । भारतबाट नेपाल प्रवेश गरेका ४३ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये १ रुकुम र ३ पर्साका हुन् । नारायणी अस्पतालमा बुधबार १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा १ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : वैशाख २३, २०७८ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?