अन्तर्राष्ट्रिय तस्कर कुञ्जोकलाई ७ वर्ष कैद

वन्यजन्तुका अंग तस्करी मुद्दामा एक लाख जरिवानासमेत निर्धारण
कृष्ण ज्ञवाली

काठमाडौँ — जिल्ला अदालत रसुवाले नामुद वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङलाई सात वर्ष सजाय सुनाएको छ । वन्यजन्तु तस्करीमा गत असार ८ गते नै दोषी ठहर गर्दै जिल्ला अदालतले सजाय निर्धारणका लागि बुधबारको मिति तोकेको थियो । न्यायाधीश राजेन्द्र नेपालको इजलासले उनलाई सात वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।

अन्तर्राष्ट्रिय तस्कर कुञ्जोकलाई ७ वर्ष कैद

लाङटाङ राष्ट्रिय निकुञ्जले उनीविरुद्ध मुद्दा दायर गर्दै १५ वर्ष कैद सजाय मागदाबी गरेको थियो । करिब १६ वर्षअघिको तस्करीको घटनामा फरार तामाङ २०७७ असार ११ गते पक्राउ परेका थिए ।

२०६२ भदौ १६ गते शाही सरकारको पालामा नेपाली सेनाले बाघ र चितुवाको छाला, हड्डी लगायतका आखेटोपहारसहित ५ जनालाई पक्राउ गरेको थियो । कुञ्जोक त्यस घटनाका प्रमुख योजनाकारमध्येका एक भएको खुल्यो । तर त्यतिबेला उनी फरार थिए । अरू आरोपितको हकमा लाङटाङ राष्ट्रिय निकुञ्ज, पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतले मुद्दा टुंग्याइदियो । एक जनाबाहेक अरू सबै कसुरदार ठहरिए । फरार भएका कारण कुञ्जोकको मुद्दा मुल्तबीमै थियो ।

उक्त घटनाका अरू आरोपित मिङमार छिरिङ तामाङ, छेवाङ उटुक लामा र कारसाङ भनिने रिसाङ लामालाई सर्वोच्च अदालतबाट सात वर्ष कैद र एक लाखका दरले जरिवाना भइसकेको छ । अर्का बलराम श्रेष्ठलाई ५ वर्ष कैद भयो । थोप्तेन तामाङले आरोपबाट सफाइ पाएका थिए । कुञ्जोक भने फरार भएकाले उनको मुद्दा मुल्तबीमा थियो । पक्राउ परेकाहरूले उक्त घटनामा कुञ्जोक नै संलग्न रहेको बयान दिएका थिए ।

त्यतिबेला सेनाले पाटेबाघको छाला ५ थान, चितुवाको छाला ३६ थान, ओंतको छाला २ सय ३८ थान र बाघको १ सय १३ किलोग्राम हड्डी बरामद गरेको थियो । उक्त घटनाका प्रमुख योजनाकार कुञ्जोक लामा भनिने कुञ्जोक छिरिङ तामाङलाई गत असार ११ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंबाट पक्राउ गरेर लाङटाङ राष्ट्रिय निकुञ्जमा बुझाएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ मा बाघलगायतका वन्यजन्तुको अवैध कारोबार गर्ने र संलग्न हुनेलाई ५ देखि १० लाख रुपैयाँ जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्मको कैद वा दुवै सजाय हुने व्यवस्था छ । निकुञ्जले अधिकतम कारबाहीको माग राखेको थियो ।

पहिले आफैंले मुद्दा हेर्ने गरेको निकुञ्जले नयाँ संविधान जारी भएपछि भने एक वर्षभन्दा बढी कैद सजाय हुने मुद्दा हेर्न सक्दैनथ्यो । निकुञ्जबाट उक्त मुद्दा जिल्ला अदालत रसुवा पुग्यो । जिल्ला अदालतले गत असार १४ गते कुञ्जोकलाई पुर्पक्ष थुनामा पठाउन आदेश दियो । आदेशविरुद्ध कुञ्जोकले उच्च अदालत पाटनमा निवेदन दिए । उच्च अदालत पाटनमा निवेदन विचाराधीन भएकै अवस्थामा कुञ्जोकले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । उनले पाटन र सर्वोच्चमा समेत आफू कुञ्जोक लामा नभई ‘कुञ्जोक छिरिङ तामाङ’ रहेको दाबी गरेका थिए ।

यथार्थमा दुवै नाम उनैको थियो । गत कात्तिक २४ गते सर्वोच्च अदालतले कुञ्जोकको पक्राउ कानुनसम्मत रहेको ठहर गरेर उनको निवेदन खारेज गरेपछि रसुवामा रहेको मुद्दा अघि बढेको थियो । उनको सञ्जालमा रहेका डान्डुक लामा र नुटुप लामासँग भारत, नेपाल र तिब्बतको नागरिक पुष्टि हुने प्रमाणपत्र (परिचय) रहेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो ।

उनीसँग पनि तीन वटै देशको नागरिक पहिचान हुने प्रमाणपत्र छ । नेपालमा भने कञ्जोकको स्थायी ठेगाना हुम्लाको नाम्खा गाउँपालिका–४ हो । उनले लामो समयदेखि काठमाडौंको बौद्धमा बसेर अवैध गतिविधि गर्दै आएका थिए । उनले भारतको सिलिगुडीमा पस्मिना कारखानासमेत चलाएका थिए । उक्त कारखानामा तिब्बतको पठारमा पाइने चिरुको रौंबाट अत्यधिक महँगो सल निर्माण हुने गरेको थियो ।

प्रकाशित : वैशाख २३, २०७८ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?