कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भेन्टिलेटर बिग्रिएपछि बिरामीको बिचल्ली

धनुषा — महोत्तरी मटिहानीकी ५४ वर्षीया कोरोना संक्रमित महिला बुधबार दिउँसो प्रादेशिक कोभिड अस्पताल जनकपुरमा भर्ना भइन् । अवस्था गम्भीर भएका कारण उनलाई भेन्टिलेटरमा राखियो ।

भेन्टिलेटर बिग्रिएपछि बिरामीको बिचल्ली

तर, दिउँसो केहीबेर चलेको भेन्टिलेटर बिग्रिएपछि ती महिलाको बिचल्ली भएको छ । सिकिस्त महिलालाई रेखदेख गर्न कुरुवामा छोरा खटिएका छन् । भेन्टिलेटरले काम नगर्दा आमाको अवस्था बिग्रिन थालेको छोराले बताए । भेन्टिलेटरका लागि साँझसम्म चिकित्सकका अगाडि हारगुहार गर्दा पनि पहल नभएको पीडित परिवारले जनाएको छ ।

प्रदेश सरकारले स्थापना गरेको कोभिड अस्पतालमा रहेका पाँच वटा भेन्टिलेटर सबै बिग्रिएको अस्पतालका प्रवक्ता डा. मनीष पाण्डेले बताए । ‘गत वर्ष कोभिड अस्पताल स्थापनाका बेला किनिएका भेन्टिलेटर प्रयोग गरिरहेका थियौं,’ उनले भने, ‘पाँच वटा भेन्टिलेटरमध्ये एउटै पनि प्रयोग गर्ने अवस्थामा छैनन् । मर्मत गर्ने प्रयास भने भइरहेको छ ।’

कोभिड अस्पतालमा धनुषा र महोत्तरीका ३१ जना सिकिस्त संक्रमित भर्ना भएको डा. पाण्डेले बताए । प्रादेशिक अस्पताल मेडिकल सुपरिन्टेन्डेन्ट प्रमोद यादवले पुरानो भेन्टिलेटर बिग्रिएपछि प्रदेशबाट नयाँ माग गरिएको बताए । ‘केहीबेर चल्ने र बिग्रिने भएपछि समस्या भएको हो,’ डा. यादवले भने, ‘प्रदेशबाट २ थान भेन्टिलेटर उपलब्ध भएको छ । तत्काल २ वटा प्रयोगमा आउनेछ ।’

बुधबार उपलब्ध भएका दुई थान भेन्टिलेटर जडान गर्न सकिएको छैन । प्राविधिक बोलाएर जडान गरिएपछि बिहीबारबाट भेन्टिलेटर सेवा सञ्चालनमा आउने अस्पतालले जनाएको छ । निजी अस्पतालहरूबाट प्रादेशिक कोभिड अस्पतालमा बिरामी आउने क्रम बढेकाले अस्पतालले भार थाम्न सक्ने अवस्था नभएको उनले बताए ।

जनकपुरको काव्या, नवजीवन र जलेश्वरबाट सिकिस्त संक्रमित आउने क्रम जारी रहेको डा. यादवले बताए । उनका अनुसार प्रादेशिक कोभिड अस्पतालमा ६३ बेड तयारी अवस्थामा छन् । अस्पतालमा १२ आईसीयू र ४१ बेडमा अक्सिजन उपलब्ध छ ।

प्रकाशित : वैशाख २३, २०७८ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?