कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

भारतबाट आउनेलाई क्‍वारेन्टाइन राख्‍न ८ वटा होटल

सुरज कुँवर

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ललितपुर, भक्तपुर र काठमाडौंका ८ वटा होटललाई क्‍वारेन्टाइन तोकेको छ ।

भारतबाट आउनेलाई क्‍वारेन्टाइन राख्‍न ८ वटा होटल

भारत–नेपाल उडानबाट आउने यात्रुका लागि ललितपुरको गोदावरीमा रहेको होटल भ्यु भृकुटी, भक्तपुरको जगातीमा रहेका फार्म हाउस रिसोर्ट र ए वान रिसोर्ट, काठमाडौंको गुहेश्वरीमा रहेको माधव होटल, गौशालाको आमादब्लम र रिडर्स इन होटल तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको एयरपोर्ट होटललाई क्‍वारेन्टाइन तोकिएको हो । सरकारले बिहीबार मध्यरातिदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान ८ दिन स्थगन गरे पनि ‘एयर बबल’ अवधारणाअनुरूप नेपाल–भारत उडान सातामा दुई दिन हुनेछ ।

भारतबाट आउने यात्रुले १० दिन क्‍वारेन्टाइनमा बस्नुपर्नेछ । होटलले यात्रुसँग प्रतिदिन मूल्य अभिवृद्धि कर र सेवा शुल्कसहित ३ हजार रुपैयाँ लिई शाकाहारी खाना र कोठा उपलब्ध गराउनेछन् । होटल क्‍वारेन्टाइनमा १० दिन बस्दा ३० हजार रुपैयाँ तिर्नुपर्नेछ । गत वर्ष महामारीका बेला काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्रले २ सयवटा होटल छानेको थियो । जसमा साना मझौलादेखि ५ तारेहोटलसम्म सूचीकृत गरिएका थिए । त्यसबेला न्यूनतम प्रतिदिन प्रतिव्यक्ति शुल्क १५ सय थियो भने अधिकतम पाँचतारे होटलको प्रतिदिन क्‍वारेन्टाइन बसाइ शुल्क ९ हजार रुपैयाँसम्म तोकिएको थियो ।

होटलले यात्रुलाई विमानस्थलबाट आफ्नै सवारीसाधनमा ल्याउनुपर्नेछ । नेपाल पर्यटन बोर्डले नेपाल र भारत दुवै देशका सरकारी ध्वजावाहक वायुसेवा नेपाल एयरलायन्स र एयर इन्डियासँग समन्वय गरी यात्रुको विवरण लिनुपर्ने र होटल तोकिदिनुपर्नेछ । पर्यटन विभाग, बोर्ड र प्रहरी सम्मिलित टोलीले यात्रु होटलमा बसे नबसेको अनुगमन गर्दै हरेक दिन सीसीएमसी, गृह मन्त्रालय र पर्यटन मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्नेछ ।

८ वटा होटलको सूची सार्वजनिक गर्नुअघि नेपाल पर्यटन बोर्डले ६० वटा होटलको नाम दिएको थियो । छनोटमा संलग्न एक सदस्यका अनुसार बोर्डले ३० वटा होटल संघ नेपाल (हान) र ३० वटा नेपाल होटल व्यवसायी महासंघअन्तर्गतका गरी ६० वटा होटलको नाम पठाएको थियो । मन्त्रालयले यात्रुको संख्या वृद्धि भए होटलको सूची थपिने जनाएको छ ।

प्रकाशित : वैशाख २२, २०७८ २२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?