लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

माओवादी केन्द्र प्रवेश गर्ने तयारी

वैशाख २२, २०७८

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले पदबाट राजीनामा दिएका छन् । उनी दाङको निर्वाचन क्षेत्र नम्बर २ 'ख' बाट निर्वाचित भएका थिए । 

डाँगीले बुधबार प्रदेश सभा सचिवालयमा राजीनामा पत्र दर्ता गराएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले बताए । उनले हालको राजनीतिक अवस्था देखेर राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् । संविधानको धारा १ सय ८० को 'क' बमोजिम सभामुखले उक्त पत्रलाई प्रक्रियामा लगेको सचिव पुन मगरले बताए । 

डाँगीलाई आफ्नो पार्टीमा स्वागत गरिने माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताए । यसअघि एमालेका प्रदेश सभा सदस्य कपिलवस्तुका दृगनारायण पाण्डेले राजीनामा दिएका थिए । उनी कांग्रेसमा प्रवेश गरेका छन् । नेकपाबाट उपचुनाव लडेकी सांसद विमला कुमारी खत्री माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । योसँगै लुम्बिनीमा एमालेमा प्रदेश सभा सदस्य घटेर ३८ जना भएका छन् । 

८७ सदस्यीय प्रदेशसभा ७९ मा झरेको छ ।  जसमा २ जनाको स्वेच्छिक राजीनामा भएको छ भने माओवादी केन्द्रका २ र जसपाका ४ सदस्य निष्कासनमा परेका छन् ।

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully