कोरोनाले बैतडी र झापामा गरी थप दुईको मृत्यु- समाचार - कान्तिपुर समाचार

कोरोनाले बैतडी र झापामा गरी थप दुईको मृत्यु

कान्तिपुर संवाददाता

बैतडी/काँकडभिट्टा — बैतडीमा कोरोनाबाट एक शिक्षकको मृत्यु भएको छ । पाटन नगरपालिका–१ का ४२ वर्षीय उनको उपचारका क्रममा मंगलबार राति १ बजेर ४० मिनेटमा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

१२ दिनअघि लक्षणसहितको संकमण देखिएका उनी होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा धेरै समस्या आएपछि मंगलबार साँझ उपचारका लागि उनलाई जिल्ला अस्पताल ल्याइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । अस्पताल पुर्‍याउँदा उनमा अक्सिजनको मात्रा निकै घटेको जनाउँदै उनले भने, ‘उपचारपछि केही सुधार भएको थियो । तर फेरि अवस्था बिग्रँदै गएपछि मृत्यु भयो । ’

त्यस्तै झापामा होम क्वारेन्टाइनमा रहेकी एक संक्रमित महिलाको बुधबार बिहान मृत्यु भएको छ । मेचीनगर–६ बर्मेली बस्तीमा बस्दै आएकी ५६ वर्षीया महिलालाई चार दिनअघि कोरोना पुष्टि भएको थियो ।

पारिवारिक स्रोतका अनुसार उनी कलेजोको क्यान्सरबाट समेत पीडित थिइन् । उनलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएकोमा त्यहाँ जाँच गर्दा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनी घर फर्किएर गत शुक्रबारदेखि क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

प्रकाशित : वैशाख २२, २०७८ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्

ऐना फुटाएको निहुँमा बालकको हत्या

कान्तिपुर संवाददाता

लमजुङ — आमाले छाडेर हिँडेपछि ७ वर्षीय युकेश गुरुङ बुबा राजकुमार र हजुरआमासँगै बस्थे । घरमा अरू कोही छैनन् । दूधपोखरी गाउँपालिका–३ फुलिङगिरीका युकेश गाउँकै फुलिङगिरी प्रावि कक्षा २ मा पढ्थे ।

चैत ३० मा विद्यालय छुट्टी भएपछि उनी खेल्दै छिमेकीको घरमा पुगेका थिए । खेल्दाखेल्दै साथीकी आमा ४८ वर्षीय फूलमाया विकले प्रयोग गर्ने ऐना भुइँमा झरेर फुटेको थियो । त्यही कारण फूलमायाले कुटपिट गर्दा युकेश बेहोस भएका थिए ।

त्यसपछि बेपत्ता युकेशलाई स्थानीयले वैशाख १ गते साँझ ५ बजेतिर घरदेखि अन्दाजी ३ सय मिटर टाढा रहेको खोल्सामा मृत अवस्थामा फेला पारे । ‘सानै उमेरमा भवितव्य हुन नसक्ने र उक्त ठाउँमा आउने कुनै कारण देखेनौं । कर्तव्य नै हुनुपर्छ भन्ने कोणबाट अनुसन्धान थाल्यौं । केही घाउचोट पनि थियो,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी गंगाबहादुर थापाले भने, ‘घाँटीमा केही चिजले प्रहार गरेको जस्तो देखिएपछि शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायौं ।’

उनका अनुसार मृतकका आफन्त, परिवारलगायत मृतक जान सक्ने सम्भावित ठाउँका मानिसमाथि सूक्ष्म अनुसन्धान थालिएको थियो । सोधपुछका क्रममा फूलमायाकै छोराले आमाका कारण घटना भएको बताएका थिए । प्रमाण नहुँदा प्रहरीले पक्राउ गर्न सकेको थिएन । फूलमायाले ‘होइन’ भन्दै छोरालाई चुप लाग्न भनेकी थिइन् ।

‘हामीले प्रमाण जुटाउँदै गयौं । १२ गते घरबाटै पक्राउ गर्‍यौं,’ डीएसपी थापाले भने । अदालतबाट म्याद थपेर थप अनुसन्धानका क्रममा फूलमायाले घटना स्वीकार गरेपछि प्रहरीले विस्तृत बयान लिएको थियो । ‘कर्तव्य ज्यान अभियोगमा मुद्दा अगाडि बढाएका छौं,’ डीएसपी थापाले भने ।

प्रकाशित : वैशाख २२, २०७८ ०९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×