भेरी अस्पतालमा ४१ स्वास्थ्यकर्मी थपिए- समाचार - कान्तिपुर समाचार

भेरी अस्पतालमा ४१ स्वास्थ्यकर्मी थपिए

रामलीला मैदानमा अक्सिजनसहितको ५० बेडको कोभिड आइसोलेसन निर्माण 
रुपा गहतराज

नेपालगन्ज — भेरी अस्पतालमा ४१ स्वास्थ्यकर्मी थप गरिएको छ । स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ भर्ना गरिएको हो । संक्रमितले बेड नपाउने अवस्था आएपछि नेपालगन्ज उपमहानगरपालिकाले अस्थायी अस्पताल निर्माण गरेरसमेत उपचार थालेको छ ।

रामलीला मैदानमा अक्सिजन– सहितको ५० बेडको कोभिड आइसोलेसन निर्माण गरिएको छ । ‘बिरामीको अक्सिजन लेभल मेन्टेनका लागि आइसोलेसनमा राख्ने गर्छौं,’ उपप्रमुख उमा थापामगरले भनिन्, ‘सुरुमा अक्सिजन आइसोलेसनको मापदण्डका आधारमा सञ्चालन गरिए पनि अहिले गम्भीर प्रकृतिका कोभिड संक्रमित आउँदा समस्या थपिएको छ ।’ आइसोलेसनमा २५ बेड सञ्चालनमा छ ।

गत वर्ष नै यहाँको ह्वाइट हाउस होटलमा सञ्चालनमा ल्याइएको आइसोलेसनलाई यस पटक पनि निरन्तरता दिइएको छ । ‘होटल आइसोलेसन उपमहानगरभित्रका संक्रमितलाई राख्न बनाइएको हो,’ उपप्रमुख मगरले भनिन्, ‘अहिले ह्वाइट हाउसमा रहेका १ सय २० जनामध्ये उपमहानगरका १८ जना मात्रै छन् ।’

नेपालगन्ज उपमहानगरले रामलीला मैदानस्थित सार्वजनिक भवनमा बनाएको अक्सिजनसहितको आइसोलेसनमा उपचाररत संक्रमिच । तस्बिर : रुपा गहतराज/कान्तिुपर

उपमहानगरले भेरी अस्पतालमा उपचाररत संक्रमित र अन्य बिरामीका कुरुवालाई खाना खुवाउने अञ्जनी माता रसोईलाई मासिक एक लाख रुपैयाँ सहयोग गर्न थालेको छ । कार्यपालिका बैठकले मासिक एक लाखको दरले तीन महिना सहयोग गर्ने निर्णय गरेको हो । ‘यो संकटमा गरिएको मानवीय सेवा हो,’ सुन्दर काण्ड मित्रमण्डलका सदस्य जितेन्द्र सिंहले भने, ‘जेनतेन मिलाइरहेका थियौं, त्यसैमा उपमहानगरको साथ पाएका छौं ।’

सोमबार उपमहानगर प्रमुख धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले एउटा एम्बुलेन्ससमेत थप गर्ने निर्णय गरेको छ । ‘उपमहानगरमा संक्रमित बढी देखिएकाले यो निर्णय गरेका हौं,’ उपमहानगरका प्रवक्ता तथा वडा १ का अध्यक्ष प्रमोद रिजालले भने, ‘धेरै संक्रमित घरकै आइसोलेसनमा छन्, त्यसैले अर्को एम्बुलेन्स भयो भने संक्रमितलाई सजिलो हुन्छ ।’ उपमहानगरले भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा बाल मन्दिरमा तत्काल थप आइसोलेसन सञ्चालन गर्ने निर्णयसमेत गरेको प्रवक्ता रिजालले बताए ।

स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार जिल्लामा १० हजार ५ सय ८० जना संक्रमित छन् । ३ हजार ४ सय २३ जना होम आइसोलेसनमा छन् । उपमहानगरपालिकामा कोभिडबाट १९ महिला र २४ पुरुष गरी ४३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : वैशाख २२, २०७८ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्

बुटवलको कोरोना अस्पतालमा थप चार संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र १ पुरुष छन् । 

वैशाख १९ गते कोरोना पुष्टि भई उपचारका लागि ल्याइएकी कञ्चन गाउँपालिका–४ की २७ वर्षीया महिलाको बुधबार बिहान ५ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

त्यसै गरी १८ गते भर्ना भएकी बुटवल–९ की ५४ वर्षीया महिलाको बिहान साढे ६ बजे, २१ गते भर्ना भएकी तिलोत्तमा–४ की ४० वर्षीया महिलाको बिहान साढे ६ बजे र १५ गते भर्ना भएका बुटवल–१२ का ४७ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको गौतमले जानकारी दिए ।

अस्पतालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएका उनीहरूको इमर्जेन्सी र फिभर क्लिनिकमा उपचार हुँदै थियो ।


प्रकाशित : वैशाख २२, २०७८ ०९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×