कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

होला रातो मत्स्येन्द्रनाथको जात्रा ?

उपत्यकामा निषेधाज्ञा जारी छ, सँगसँगै रथ निर्माण पनि भइरहेको छ । संक्रमणको जोखिमका बीच हजारौंको उपस्थिति रहने रथयात्रा होला त ? भइहाले पनि कसरी गरिएला भन्ने आमचासो छ ।
प्रशान्त माली

काठमाडौँ — वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ निर्माण थालिएको मंगलबार ७ दिन पुग्यो । ललितपुरको पुल्चोकमा पाटन यावाल गुठीका १२ जना र बाराही गुठीका २३ जनाले धमाधम रथ निर्माण गरिरहेका छन् ।

होला रातो मत्स्येन्द्रनाथको जात्रा ?

आगामी वैशाख २९ मा रथारोहण र जेठ १ मा रथयात्राको साइत परेको छ । तर काठमाडौं उपत्यकामा वैशाख मसान्तसम्म निषेधज्ञा जारी छ । सरकारले संक्रमणको जोखिम भन्दै अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिरहेको छ । यस्तोमा बाजागाजासहित हजारौंको उपस्थितिमा सम्पन्न हुने रथयात्रा होला त ? भइहाले पनि कसरी गरिएला भन्ने अहिले आमचासो छ ।

गत चैत २६ मा ललितपुर प्रशासनमा सरोकारवालासहित बसेको बैठकले रथ निर्माण र जात्रा गर्ने निर्णय भने गरिसकेको छ । गतवर्ष रथारोहणपछि मत्स्येन्द्रनाथलाई अनिर्णयको बन्दी बनाएर बिचल्ली बनाएको भन्दै स्थानीय रथ तान्न बाहिर निस्कँदा झडप भएको थियो । जात्रा व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी गुठी संस्थान र ललितपुर महानगरको हो । शान्ति सुरक्षा र रथ तान्न प्रशासन कार्यालय र स्थानीय २१ जातीय खलक जिम्मेवारीमा छन् ।

गुठी संस्थान ललितपुर शाखा प्रमुख खिमा वली भन्छन्, ‘जात्रा व्यवस्थित बनाउने बारे पटक–पटक छलफल भइरहेको छ । स्वास्थ्य मापदण्ड अपनाएर परम्परालाई निरन्तरता दिने भन्ने छ ।’ तर अहिले नै यस्तै गर्ने भन्ने पूरा टुंगो भने लागिनसकेको उनले बताए । ‘रथ तयार भइसकेपछि कति जनाको उपस्थितिमा कसरी तान्ने भन्ने विषयमा स्थानीय जातीय खलकलगायत सरोकारवालासँग छलफल थालेर निष्कर्ष निकाल्नेछौं,’ उनले भनिन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले वैज्ञानिक प्रक्रिया अपनाई रथयात्रा गर्न सरोकारवालासँग छलफल गरेर अगाडि बढ्ने बताए । महानगरले पनि रथयात्रा न्यून सहभागितामा गर्न ज्यापू समाजका प्रतिनिधिसँग छलफल थालेको जनाएको छ ।

यात्राको पहिलो दिन रथ पुल्चोकबाट पाटन गाःबहाल पुर्‍याइन्छ । त्यहाँ ९ वटा धिमे बाजा खलक उपस्थित हुन्छन् । लगनखेलमा १९ वटा धिमे बाजा थपिन्छन् । सुन्धारा, चक्रवाहल, जावलाखेलमा पनि छुट्टाछुट्टै बाजा उपस्थित हुने प्रचलन छ । तर यसपटक सीमित बाजा मात्र उपस्थित गराइने महानगर प्रवक्ता राजु महर्जनले बताए । ‘जात्रा व्यवस्थित बनाउन रथ तान्ने, बाजा बजाउनेलाई छुट्टाछुट्टै टिसर्ट र क्यापको व्यवस्था गर्छौं । सेनिटाइजर, मास्क, ग्लोब्स, थर्मल गन उपलब्ध गराउँछौं,’ उनले भने । पाटनमा गाःबहाल, वछु त्वाः, लगः याः र पुचः गरेर चारवटा जात्रा व्यवस्थापन समिति छन् । यी समितिमार्फत रथ तान्न पालो पर्नेलाई मात्र उपस्थित गराउन भनिएको महर्जनले बताए । महानगर प्रमुख चिरीबाबु महर्जनले रथयात्रा सम्पन्न गर्न महानगरको तर्फबाट कुनै पनि कमी–कमजोरी हुन नदिने प्रतिबद्धता जनाए ।

ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले न्यून जनसहभागितामा स्वास्थ्य मापदण्ड अपनाएर जात्रा सम्पन्न गरिने बताए । मत्स्येन्द्रनाथ सूर्य दक्षिणायन हुँदा ६ महिना बुङमती र उत्तरायण हुँदा ६ महिना पाटन मत्स्येन्द्रबहालस्थित मन्दिरमा राखिन्छ ।

भारत असमको कामरुप कामाक्ष पर्वतबाट मत्स्येन्द्रनाथ नेपाल ल्याउन भूमिका खेलेका भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव मल्ल, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजुको पालादेखि चल्दै आएको परम्परा हो । रातो मत्स्येन्द्रनाथका ज्योतिषी कीर्तिमदन जोशी भन्छन्, ‘मत्स्येन्द्रनाथ र मीननाथको रथयात्रा गर्न कम्तीमा एक सय जनशक्ति चाहिन्छ । यस पटक सीमित व्यक्ति र रथको अगाडि–पछाडि दुईवटा उपकरणमार्फत गन्तव्यमा पुर्‍याउन सकिन्छ ।’ उनले ६/६ महिना बुङमती र पाटनमा रात बसाल्ने परम्परा कुनै पनि हालतमा तोड्न नमिल्ने बताए ।

गत भदौ १८ मा स्थानीय रथ तान्न पुल्चोक पुगेपछि भएको प्रहरीसँगको झडपमा २४ जना पक्राउ परेका थिए । झडपपछि भदौ २१ मा क्षमापूजा गरी बाँकी प्रक्रियालाई औपचारिकता मात्रै दिइयो । नरिवल खसाल्ने र भोटो पनि देखाइएन । स्थानीय पृथविन्दु महर्जन भन्छन्, ‘गत वर्षको जस्तो घटना नदोहोरियोस् । सबैको बेलैमा ध्यान जाओस् ।’

प्रकाशित : वैशाख २२, २०७८ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?