निषेधाज्ञाका प्रावधान कडा, कार्यान्वयन फितलो- समाचार - कान्तिपुर समाचार

निषेधाज्ञाका प्रावधान कडा, कार्यान्वयन फितलो

संक्रमण रोक्ने अभिप्रायले ल्याइएका आदेश र निर्देशन अटेर गर्ने सर्वसाधारणको प्रवृत्तिले संक्रमणको जोखिम झन् बढाएको छ
मातृका दाहाल

काठमाडौँ — कोरोना महामारीको चेन ब्रेक गर्न मन्त्रिपरिषद् र स्थानीय प्रशासनबाट जारी गरिएका आदेश तथा निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा काठमाडौं उपत्यकामा अत्यावश्यक सेवाबाहेकका आवागमन रोकिएको छैन । 

उपत्यकासहित देशभर संक्रमणको ग्राफ दैनिक बढ्दो क्रममा छ तर त्यसलाई रोक्न सरकार निर्मम रूपमा प्रस्तुत हुन सकेको छैन । संक्रामक रोग ऐन र स्थानीय प्रशासन ऐनका अलावा संक्रमणविरुद्ध मन्त्रिपरिषद्, मन्त्रालय र प्रशासनले आवागमन नियन्त्रण गर्न पटक–पटक आदेश र निर्देशन जारी गरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गरेर निषेधाज्ञा कडाइका साथ लागू गरिने बताए । गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अलावा प्रशासनका आदेश पनि दैनिकजसो आइरहेका छन् । तर, व्यावहारिक रूपमा कडाइ गरिएको छैन । आदेश उल्लंघन गर्नेलाई पनि दण्ड/जरिवानाको तहसम्म कारबाही भएको छैन । महामारीविरुद्ध जुध्न स्वयं नै गम्भीर हुनुपर्नेमा नागरिकले पनि कानुन कार्यान्वयन र जनस्वास्थ्यका मापदण्ड पालनामा अटेरी गरिरहेका छन् 

मन्त्रिपरिषद्ले वैशाख ५ मै ३० बुँदे आदेश जारी गर्दै संक्रमणविरुद्ध प्रतिकार्य योजना तय गरेको थियो । त्यसको करिब डेढ सातापछि वैशाख १६ बाट उपत्यकाका तीनवटै जिल्लामा अत्यावश्यक र तोकिएका सीमित सेवाबाहेकमा निषेधाज्ञा जारी गरियो । त्यसअघि वैशाख १३ मा मन्त्रिपरिषद्ले तराई र काठमाडौं उपत्यकामा ५ सय तथा हिमाली र पहाडी जिल्लामा सक्रिय संक्रमित २ सय नाघे कडा निषेधाज्ञा लगाउन निर्देशन दिएको थियो । संक्रमण रोक्ने अभिप्रायःले ल्याइएका आदेशको फितलो कार्यान्वयन र आदेश/निर्देशन अटेर गर्ने सर्वसाधारणको प्रवृत्तिले संक्रमणको जोखिम झन् बढाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले अब आदेश उल्लंघन गर्नेमाथि प्रशासनिक बल प्रयोगकै नीतिमा जान स्पष्ट निर्देशन दिइएको बताए । ‘स्वास्थ्य संवेदनशीलताप्रति नरम बनेरै सरकार किन बल प्रयोग र दण्ड/जरिवानामा जाने भन्नेमा थियो तर आदेश उल्लंघन गर्ने, मापदण्ड नमान्ने प्रवृत्ति बढेपछि निर्मम हुनुपर्ने देखियो,’ उनले भने, ‘अब निषेधाज्ञा उल्लंघन गर्नेलाई आवश्यक पर्दा कैद र जरिवानाकै नीतिमा जानुको विकल्प छैन । चेन ब्रेक गर्न प्रशासनले कडा शैली अपनाउनुपर्ने देखियो ।’

उपत्यकामा साताअघि जारी निषेधाज्ञा बुधबार सकिँदै छ । वैशाख २९ सम्म निषेधाज्ञा लम्ब्याउने गरी उपत्यकाका तीनवटै प्रशासनले मंगलबारै अत्यावश्यक र अन्य केही क्षेत्र खुलाउन कडा सर्तसहितका प्रावधान थप गरेका छन् । तर, आदेश अटेर गरेर आवागमन गर्नेको संख्या हेर्दा कार्यन्वयनमै समस्या देखिएको छ । गत वर्ष फिल्डमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिइने भनियो ।

मन्त्रिपरिषद्बाटै निर्णय गराएर जोखिम भत्ताको निर्णय भयो । त्यसले सुरक्षाकर्मीमा जिम्मेवारीप्रति ऊर्जा थपेको थियो तर अहिलेसम्म गत वर्षको जोखिमभत्ता दिइएको छैन । त्यसको असर दोस्रो लहरको महामारी रोकथाम तथा नियन्त्रणका लागि ल्याइएका प्रतिकार्य योजनामा पर्न थालेको नाम नबताउने सर्तमा एक सुरक्षा अधिकारीले बताए । ‘गत वर्ष जोखिम भत्ता पाइन्छ भनेर पनि फिल्डमा खटिने सुरक्षाकर्मी उत्साहित थिए,’ ती सुरक्षा अधिकारीले कान्तिपुरसँग भने, ‘एक वर्षअघिको भत्ता अहिले पनि पाएका छैनन्, भत्तै नदिने कुरा पनि आएको छ, अनि कुन जोस र जाँगरले उच्च मनोबलका साथ फिल्डमा जिम्मेवारी निर्वाह गर्ने ?’

निषेधाज्ञामा कतिपय सेवा बन्द गर्न सकिने भए पनि निर्माणदेखि सहकारी र वित्तीय संस्थासम्मले मनमौजी कर्मचारी खटाउने गरेका छन् । सडकमा बग्रेल्ती अनुमतिवाहक सवारीको चाप छ । मंगलबार मात्रै उपत्यकाका तीनवटै प्रशासनले काठमाडौंबाहिर जान गन्तव्य स्थानको पालिकाले १० दिन क्वारेन्टाइनमा राख्ने प्रतिबद्धतासहितको सिफारिसपत्र अनिवार्य गरेका छन् । तर, यसको कार्यान्वयन पक्ष बलियो हुनेमा आशंका छ । वैशाख १६ देखि २१ सम्म निषेधाज्ञा उल्लंघन गर्ने करिब १८ हजार मानिसलाई सडकबाटै नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखियो । करिब ११ हजार सवारी निषेधाज्ञा उल्लंघनको आरोपमा नियन्त्रणमा लिइए । तर, अधिकांशलाई त्यसै छाडियो । त्यसले पनि कानुन कार्यान्वयनमा फितलोपन देखाएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठौरले अब निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना तहकै कारबाहीमा जान लागिएको बताए । ‘निषेधाज्ञा उल्लंघन गरेर हुने आवागमन रोक्न सुरक्षाकर्मी खटिएकै छन्, ३ सयभन्दा बढी ठाउँमा चेकप्वाइन्ट स्थापना भएका छन्, त्यसकै नतिजा यो अवधिमा मानिसलाई होल्डिङ सेन्टरमा राख्ने र सवारीलाई नियन्त्रणमा लिएका छौं,’ राठौरले भने ।

उपत्यकामा थप कडाइ गर्न निर्देशन

तीनवटै जिल्ला प्रशासन कार्यालय र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखको संयुक्त बैठकले उपत्यकाबाहिर जान थप कडा प्रावधान गरी निर्णय गरेका छन् । यस्तै उपत्यकाभित्रको आवागमनमा पनि थप कडाइ गरिएको छ ।

ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार उपत्यकाबाहिर जान सम्बन्धित स्थानीय तहले अनिवार्य रूपमा १० दिन क्वारेन्टाइनमा राख्ने प्रतिबद्धतासहितको सिफारिसका आधारमा मात्रै प्रशासनले सम्बन्धित मानिसलाई गन्तव्यसम्म जान अनुमति दिन सक्नेछ । उपत्यकाभित्रको आवागमनमा पनि कडाइ गरिएको छ । उपत्यकाबाट संक्रमण बोकेर मानिसहरू गाउँ तथा स्थायी थातथलो जाने गरेको तर त्यसलाई व्यवस्थित गर्न सरकार संवेदनशील नभएको गुनासो थियो । उक्त गुनासोलाई उपत्यकाका तीनवटै प्रशासनले मंगलबार गरेको निर्णयबाट सम्बोधन भएको छ । ‘निषेधाज्ञालाई थप कडा बनाएर मानिसलाई अनावश्यक हिँडडुल गर्नबाट रोक्ने र जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्ने तीनवटै प्रशासनको संयुक्त निर्णय हो,’ ललितपुरका निमित्त प्रजिअ बस्नेतले भने ।

यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरिएको छ । नयाँ पास औचित्य र आवश्यकताका आधारमा जारी गरिने निमित्त प्रजिअ बस्नेतले बताए । प्रशासनले बिहीबारबाट बिहान ९ बजेसम्म मात्रै किनमेलका लागि समय दिने भएको छ । बेलुकाको किनमेलको समय कटौती गरिएको छ । कवाडी संकलन, फुटपाथ/ठेलागाडा र साइकलमा सञ्चालन हुने व्यापार/व्यवसायमा पनि रोक लगाइएको छ ।

अत्यावश्यक सेवाबाहेक तोकिएका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमालगायत कार्यालयमा एक चौथाइ मात्र कर्मचारी रहने गरी सेवा सञ्चालन गर्नुपर्ने छ । सरकारी कार्यालयको हकमा मन्त्रालयका सचिव वा विभागीय प्रमुखबाट जारी सबारी पास र परिचयपत्रका आधारमा सडकमा आवागमन दिइने छ । बैंक वित्तीय संस्थाको हकमा काठमाडौं उपत्यकामा २५ प्रतिशत, शाखा कार्यालय र केन्द्रीय कार्यालयको हकमा २० प्रतिशतमात्रै जनशक्ति राखेर सेवासञ्चालन गर्नुपर्ने छ । त्यसको विवरण, जारी गरिएका पासको अभिलेखसहित नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउनुपर्नेछ ।

पत्रकारलाई सूचना विभागले दिएका परिचयपत्र र सूचना विभागबाट नलिएकाको हकमा सम्बन्धित मिडिया हाउसबाटै जारी परिचयपत्रका आधारमा हिँडडुल गर्न दिइनेछ तर त्यसका लागि मिडिया हाउसले न्यूनतम कर्मचारीमात्रै खटाउने र त्यसको जानकारी प्रशासनलाई दिनुपर्ने निषेधाज्ञामा उल्लेख छ । आयोजना तथा विकास निर्माणका काममा आवासीय कामदार राखी खटाउनुपर्ने छ । अत्यावश्यक काम, बिरामी कुरुवा, मृत्यु संस्कार तथा मलामीको हकमा विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रशासनले सहजीकरण गर्नेछ ।

९ सदस्यीय समिति गठन

सरकारले कोरोना महामारीविरुद्ध चालिएका प्रतिकार्य योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न एवं स्वास्थ्य, उपचार, उपभोग्य वस्तुको सहज आपूर्ति/अनुगमन गर्न गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी र सशस्त्रका डीआईजी तथा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक सदस्य छन् । यसलाई अत्यावश्यक सेवा सञ्चालन, समन्वय र अनुगमन समिति भनिएको छ ।

दाहालले निषेधाज्ञा पालना/कार्यान्वयन भए/नभएको, आपूर्ति व्यवस्थापनको अवस्था, निजी अस्पतालले कोभिडका बिरामीलाई लिने शुल्क, आईसीयू, भेन्टिलेटर, एचडीयूको अद्यावधिक विवरण र अवस्था अनि अक्सिजनको खपतलगायत नियमन र अनुगमन गर्न समितिले काम थालिसकेको बताए । अस्पतालबाहेक अन्यत्र खपत भएका सबै अक्सिजन सिलिन्डर सम्बन्धित ठाउँमा बुझाउन उत्पादक र वितरकलाई आग्रह गरिने उनले बताए ।

प्रकाशित : वैशाख २२, २०७८ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल सुपर लिग : खाली रंगशालामा उत्कृष्ट गोल

राजु घिसिङ

काठमाडौँ — ‘अक्सन’ मा लिइएका खेलाडीमा आधारित नेपाल सुपर लिग (एनएसएल) मा पहिलो चरणका खेल खासै गतिला थिएनन् । सातवटै फ्रेन्चाइज टिमले पूरा टिम (अक्सनबाट लिएका १४, मार्की १, विदेशी ३ (विदेशमा खेलिरहेका नेपालीसहित) र स्थानीय २ खेलाडी) एक साता पनि अभ्यास गर्न पाएका थिएनन् । दशरथ रंगशालाको प्यारापिट खाली भए पनि मैदानमा प्रतिस्पर्धाले दोस्रो चरणबाट गति लिन थाल्यो ।

अधिकांश टिमलाई आजको पर्सि नै खेल्नुपर्ने बाध्यता छ । त्यसैले धेरै टिमलाई चोटले नराम्रैसँग पिरोलेको छ । चोटका कारण लिगमा फर्किन नसक्ने खेलाडीको स्थानमा अर्को खेलाडी ल्याउन पाइने प्रावधान पनि छ । जसअनुसार एक टिमलाई चार खेलाडीसम्मै परिवर्तन गरेका छन् । चौथो चरणको अन्तिम खेलमा मंगलबार काठमाडौं रेजर्सले बुटवल लुम्बिनी एफसीलाई १–० ले हरायो । क्यामरुनी फरवार्ड स्टेफेन समिरले पाँचौं मिनेटमा गरेको गोलले बुटवल लुम्बिनीको अपराजित यात्रामा पूर्णविराम लगाइदियो ।

दोस्रो जित हात पारेको काठमाडौं रेजर्सले चार खेलमा दुई गोल गरेको छ र दुवै गोल अफ्रिकी खेलाडीले गरेका छन् । विराटनगर सिटी एफसीका स्पेनी फरवार्ड पेड्रो मान्जीले पनि एनएसएलमा दुई गोल गरेका छन् । धनगढी एफसीका फरवार्ड ओलावाले आफिजले सर्वाधिक चार गोल गरेका छन् । यसको मतलब देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगितामा विदेशी खेलाडी हाबी भएको भने होइन । हरेक खेलमा विदेशी खेलाडी निर्णायक भएका छैनन् । स्वदेशी खेलाडीको प्रदर्शन पनि उत्तिकै दमदार छ ।

चौथो चरणसम्म प्रतिखेल दुई गोलको औसतमा २८ गोल भएका छन् । सबैभन्दा फराकिलो अन्तर ३–० को रह्यो । यति ठूलो जित दुईपल्ट हात पारेको धनगढीले एकपल्ट उस्तै अन्तरको हार पनि बेहोर्‍यो । पोखरा थन्डर्सले काठमाडौं र ललितपुर सिटीविरुद्ध गोलरहित खेल्यो । यिनै गोलरहित खेल निकै निरस थिए । विराटनगर सिटीले दुईपल्ट पछाडि परेर पनि बुटवल लुम्बिनीविरुद्ध २–२ को बराबरी खेल्यो । यस खेलमा तेस्रो चरणको उक्त खेलमा फुटबलमा पाइने सबै खालको रोमाञ्च अनुभव गर्न सकिन्थ्यो ।

लिगमा तीन चरण अर्थात् सात खेल बाँकी छन् । शीर्ष तीनमा रहेका धनगढी, विराटनगर सिटी र काठमाडौंको समान ७ अंक छ । बुटवल लुम्बिनी र पोखरा थन्डर्स ५–५ अंकमा छन् । शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने होडमा प्रतिस्पर्धा उनीहरू नै हुने देखिएको छ । पुछारका दुई टिम ललितपुर सिटी (३ अंक) र एफसी चितवन (२ अंक) को पनि प्लेअफमा पुग्ने गणितीय सम्भावना कायमै छ । तर, उनीहरूको भाग्य अरु टिमकै नतिजामा निर्भर हुनेछ । फाइनल प्रवेशका लागि शीर्ष दुई स्थानमा रहने टिमलाई सजिलो हुनेछ । त्यसैले, एनएसएलमा लिगका बाँकी खेल अझै रोमाञ्चक हुन सक्छ ।

चौथो चरणको समाप्तिमा एनएसएलका सात विशेषता :

आफिजको फिनिसिङ

एनएसएलमा हरेक टिमले एक करोड रुपैयाँ बढी लगानी गरेका छन् । लाखौं खर्च गरेर विदेशी खेलाडी ल्याएका छन् । भारतको आई लिग खेलेका मात्र होइन, युरोपका लिग र एएफसी च्याम्पियन लिगका अनुभवी खेलाडीलाई पनि ल्याएका छन् । केही टिम भने खेलेरै कमाउने बहानामा नेपाल आएका अफ्रिकी खेलाडीमै भर परेको छ । केही क्लबले भने यहाँको सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिसकेका खेलाडीलाई विश्वास गरेका छन् ।

कुनै पनि टिमलाई एकसाथ तयारी गर्ने अवसर एक साता पनि थिएन । यसै बेला कोरोना भाइरसको महामारीले दक्षिण एसियालाई नै संकटमा पारिरहेको थियो । त्यसैले खाली प्यारापिटमा एनएसएलका खेल भइरहेका छन् । यस्तो बेला नयाँ खेलाडीलाई दशरथ रंगशालामा जम्न गाह्रै हुन्छ । त्यो पनि अक्सनबाट लिइएका मिश्रित खेलाडीको टिममा । यसमा अलि चलाख धनगढी देखियो । किनभने टोलीले जेठ १ सम्म हुने एनएसएलका लागि नेपाली फुटबल बुझेका नाइजेरियन फरवार्ड ओलावाले आफिजलाई ल्यायो ।

तर, धनगढी पहिलो खेलमै विराटनगर सिटीविरुद्ध ३–० ले हार्‍यो । निकै खराब हार थियो त्यो । किनभने धनगढीले गोलका दस अवसर खेर फालेको थियो र त्यसमा आधा मौका त आफिजले नै गुमाएका थिए । त्यसपछि भने आफिजसँगै धनगढी लयमा फर्कियो । ए डिभिजन लिगमा आरसीटी, संकटा, थ्रीस्टार र मनाङ मर्स्याङ्दीबाट खेलिसकेका आफिजले धनगढीका लागि बालगोपाल महर्जनको टिम काठमाडौंविरुद्ध ३–० को जितमा दुई गोल गरे । उनले ललितपुर र चितवनविरुद्ध पनि एक–एक गोल गरेर आफ्नो गोल संख्या चार खेलमा चार पुर्‍याए । सर्वाधिक गोलकर्तामा सन्तोष (३ गोल) भन्दा अगाडि रहेका उनी अझै आरसीटी र संकटामा छँदाजस्तो उत्कृष्ट लयमा भने छैनन् । पहिलाभन्दा अलि सुस्त भएका छन् । थुप्रै अवसर पनि गुमाइरहेका छन् । तैपनि गोल गरेकै छन् ।

चार पेनाल्टी, तीनमा चुक्यो

एनएसएलमा चौथो चरणको समाप्तिसम्म चारपल्ट पेनाल्टी भएको छ । तर, तीन पेनाल्टीमा गोल भएन । जबकि खेलमा गोल गर्न सबैभन्दा सहज अवसरमा पर्छ पेनाल्टी । तर, यो १२ यार्डको प्रहारमा खेलाडीहरू लगातार असफल भइरहेका छन् । प्रहार नै कमजोर वा गोलकिपर उत्कृष्ट हुन् ? छुट्याउनै गाह्रो छ ।

ललितपुर सिटीले सबैभन्दा बढी दुईपल्ट पेनाल्टी पायो । तर, दुईपल्टै चुक्यो । कप्तान एवं मार्की अञ्जन विष्टले चितवनविरुद्ध २१ औं मिनेटमा प्रहार गरेको पेनाल्टीमा बल गोलकिपर विशाल सुनारले रोकिदिए । त्यो खेलमा युवा गोलकिपर विशालको प्रदर्शन उत्कृष्ट थियो । दोस्रो हाफमा कमल श्रेष्ठको नसोचिएको गोलमा ललितपुर सिटीले अग्रता लिएको थियो । तर, इन्ज्युरी समयमा पाएको पेनाल्टीमा अमित तामाङ भने चुकेनन् र ललितपुर १–१ मा रोकियो ।

लगत्तै अर्को खेलमा पनि ललितपुर सिटीले पेनाल्टी पायो । धनगढीका कप्तान किरण चेम्जोङको गल्तीमा पाएको पेनाल्टी अजरबैजानी मिडफिल्डर नुर्लान जाहिदले प्रहार गरे । तर, उनको प्रहार फितलो रह्यो र बल किरणले समाते । दोस्रो हाफमा दुवै टिमले गोल गरे र खेल १–१ मा सकियो । दुई पेनाल्टी चुकाइकै कारण पनि हो, भाटभटेनी सुपरमार्केट स्वामित्वको क्लब अझै जितविहीन छ ।

पेनाल्टीमा चुक्ने अर्का खेलाडी हुन् विलियम ओपोकु । बुटवल लुम्बिनीका यी मिडफिल्डरले मंगलबार काठमाडौंविरुद्ध छैटौं मिनेटमा प्रहार गरेको बल गोलकिपर विकेश कुथुले रोकिदिए । बुटवल लुम्बिनी एक गोलले पछाडि परेको अर्को मिनेटमै पाएको बराबरी गर्ने अवसर उपयोग गरेको भए अपराजित एक्लो टिम हुने थियो ।

पट्टी बाँधेरै खेलिरहे

दोस्रो हाफ चलिरहेको थियो । चितवनका मिडफिल्डर शिशिर लेखी र विराटनगर सिटीका डिफेन्डर सरोज दाहाल हेडद्वारा बल प्रहार गर्न क्रममा जुध्न पुगे । सरोजको दाँतले शिशिरको टाउको चोट लाग्यो । रगत बग्यो । प्राथमिक उपचारपछि टाउकोमा पट्टी बाँधेरै शिशिर खेल्न थाले । त्यसरी खेल्दा अप्ठ्यारो महसुस गरेपछि उनले पट्टी खोलेर फालिदिए । तर, हेडिङ गर्ने क्रममा उनको टाउकोबाट फेरि रगत बग्न थाल्यो । उनले फेरि पट्टी बाँधेर खेल्न थाले । उनलाई प्रशिक्षकले यसरी नै पूरा समय खेलाए । विराटनगरले २–० ले जितेको खेलपछि उनी सिधै हस्पिटल गए । उनको टाउकोमा तीन टाँका लगाइएको छ ।

उत्कृष्ट गोल

दोस्रो चरणको सुरुआतसँगै एनएसएलमा उत्कृष्ट गोलहरू भइरहेका छन् । बुटवल लुम्बिनीका फरवार्ड आशिष लामाले चितवनविरुद्ध गरेको गोल निकै उत्कृष्ट थियो । उनले करिब २५ यार्डबाट प्रहार गरेको बल गोलकिपर विशाल सुनारले रोक्ने अवसर नै पाएनन् ।

विराटनगर सिटीका स्पेनी फरवार्ड पेड्रो मान्जी दुई गोल गरेका छन्, बुटवल लुम्बिनी र चितवतविरुद्ध । दुवै गोल उत्कृष्ट रहे । उनले दुवै गोल उस्तै गरी पेनाल्टी क्षेत्रको ठीकबाहिरबाट प्रहार गरेका थिए । विराटनगरकै आक्रामक मिडफिल्डर सन्तोष तामाङले तीन गोल गरेका छन् । इन्ज्युरी समयमा बुटवल लुम्बिनीविरुद्ध सुनिल खड्काले गरेको भनिएको बराबरी गोल पनि पछि रेफ्रीले सन्तोषकै नाममा गरिदिएका छन् । त्यसमा उनले फ्रि–किक प्रहारमा निकै चलाखी गरेका गरेका थिए ।

सन्तोषले धनगढीविद्ध हात पारेको ३–० को जितमा पनि गोलकिपर किरणलाई मौका दिएका थिएनन् । विशष्ोगरी उनले चितवनविरुद्ध २–० ले जितेको खेलमा ८९ औं मिनटमा गरेको गोल निक्कै उत्कृष्ट थियो । उनले पाएको बललाई विपक्षीका दुई खेलाडीलाई उछिन्दै पेनाल्टी क्षेत्रको ठीकबाहिरबाट प्रहार गरे, जसले विराटनगरको दोस्रो जित पक्का गरेको थियो ।

विवादमा रेफ्री

विराटनगर सिटीविरुद्ध २–० ले हारेपछि चितवनका सहायक प्रशिक्षक शैलेश कर्माचार्यले रेफ्रीले अन्याय गरेको दाबी गर्दै भनेका थिए, ‘पहिलो गोल हातमा लागेपछि भएको थियो । त्यसैले खेलमा फरक पार्‍यो ।’ तर, पेड्रो मान्जीले दायाँ खुट्टाले रोकेपछि बल सूक्ष्मरूपमा हेर्दा हातमा होइन, छातीमा लागेको देखिन्छ । त्यसपछि उनले आकर्षक गोलमा परिणत गरिदिएका थिए ।

विराटनगर सिटीका प्रशिक्षक यान लले पनि बुटवल लुम्बिनीविरुद्ध २–२ मा टुंगिएको खेलमा रेफ्रीको खुबै आलोचना गरेका थिए । उनले नेपालको जस्तो खराब रेफ्री कहिल्यै नदेखेको दाबी गर्दै देशको फुटबलको स्तर उकास्ने एनएसएलमा विदेशी रेफ्री ल्याउनुपर्ने जिकिर पनि गरेका थिए । अरु टिमका प्रशिक्षकले पनि रेफ्रीको धेरथोर आलोचना गरेका छन् । खासमा पेनाल्टी प्रहार गर्ने बेला गोलकिपर अगाडि बढेको अवस्थालाई रेफ्री र सहायक रेफ्रीले त बिर्सिएका छन् नै, टिमका प्रशिक्षकहरूले पनि याद गरेका छैनन् ।

प्रशिक्षक नै बर्खास्त

लगातार चार खेलसम्म जितविहीन रहेपछि ललितपुर सिटीले मुख्य प्रशिक्षक प्रदीप हुमागाईंलाई बर्खास्त गर्‍यो । टिमका मालिकमध्येका एक कल्याण गुरुङले आइतबार चितवनविरुद्धको खेल गोलरहित सकिएलगत्तै हुमागाईंलाई बर्खास्त गरेको बताए । त्यसको कारण टिमको खराब नतिजा भएको पनि उनले बताए । पछि हुमागाईंले राजीनामा दिएको दाबी गरे । तर, त्यसअघि नै टिमबाट बर्खास्त गरिएको समाचार छ्याप्छ्याप्ती आइसकेको थियो । व्यावसायिक फुटबलमा टिमको असफलतामा प्रशिक्षकलाई हटाउने परम्परा नै छ र एनएसएलमा यसरी बर्खास्त हुने पहिलो प्रशिक्षक भए हुमागाईं । अमेरिकाबाट आएका उनलाई हटाइएपछि सहायक प्रशिक्षक राजु तामाङलाई कार्यबाहकको जिम्मेवारी दिइएको छ ।

मनीषको ‘किलर’ हेडर

दक्षिण कोरियाको फुटबल एकेडेमीमा प्रशिक्षण गरिरहेका फरवार्ड मनीष डाँगी निकै मिहिनेती छन् । भलै उनको खेल शैली बुझ्ने खेलाडी टिममै कमै देखिन्छन् । उनलाई एनएसएलमा विराटनगर सिटीले स्थानीय खेलाडीको रूपमा भित्र्याएको हो । सब्स्टिच्युटको रूपमा नियमित खेलिरहेका उनी पनि चितवनविरुद्ध सन्तोषले गरेको गोलमा मुख्यपात्र हुन् । कप्तान रजिन धिमालको फ्रि–किकमा लगभग बाहिर गइसकेको बललाई उनले मुस्किलले हेड गर्दै लाइनबाट भित्र ल्याएका थिए । अशोक थापाले नियन्त्रण गरेको त्यो बललाई चितवनका डिफेन्डर जोनाथन रुडीले हेडद्वारा क्लियर गर्ने प्रयास गरे । त्यही बल पाएपछि सन्तोषले सुन्दर गोल गरेका थिए ।

प्रकाशित : वैशाख २२, २०७८ ०७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×