कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सर्वाधिक संक्रमण र मृत्यु

७५८७ जनालाई कोरोना, ५५ को मृत्यु, मृत्यु हुनेमा आधाभन्दा बढी ३०–५० वर्ष उमेर समूहका 
अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ बाट मंगलबार हालसम्मकै बढी संक्रमण र मृत्यु भएको छ । १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जना (४७.०३ प्रतिशत) मा संक्रमण पाइएको छ भने एकै दिन ५५ जनाको मृत्यु भएको छ ।

सर्वाधिक संक्रमण र मृत्यु

लगातार तेस्रो दिन ७ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ हजार ४ सय ४८ र आइतबार ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो । यसमा एन्टिजेन परीक्षणमा रिपोर्ट पोजिटिभ आउनेको संख्यासमेत सामेल छ । आइतबार र सोमबार संक्रमण दर क्रमशः ४२.९९ र ४३.३६ प्रतिशत थियो ।

मृत्यु हुनेमा आधाभन्दा बढी ३०–५० वर्ष उमेर समूहका र तराई जिल्लाका छन् । सातायता मात्रै कोभिडले मृत्यु हुनेको संख्या २ सय २३ पुगेको छ । ‘सक्रिय उमेर समूहका संक्रमितको मृत्यु बढी भइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘कोभिडको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेमा ३० देखि ५० वर्ष उमेर समूहका सबैभन्दा बढी छन् ।’

सातायता मृत्यु हुनेमध्ये करिब २० प्रतिशतलाई कोमर्बिडिटी देखिएको डा. अधिकारीले बताए । वैशाख १५ देखि २० गतेसम्म कोभिडले मृत्यु हुने १ सय ६८ जनामध्ये ३३ जनालाई कोमर्बिडिटी (दुई वा दुईभन्दा बढी रोग हुनु) देखिएको हो । यो साता सबैभन्दा बढी उमेरअन्तर्गत गत शनिबार काठमाडौंका

१०२ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा मृत्यु भएको थियो । उनलाई कुनै कोमर्बिडिटी थिएन । तराईका जिल्लामा क्षति बढी देखिएको जनाउँदै डा. अधिकारीले भने, ‘आज (मंगलबार) मृत्यु हुने ५५ जनामा अधिकांश तराईका छन् । काठमाडौंमा मृत्यु भए पनि बिरामी तराईकै धेरै छन् ।’ उनका अनुसार तराई क्षेत्रका कोभिडका बिरामी एकदमै क्रिटिकल (गम्भीर) भएर अस्पताल आउने गरेको समेत देखिएको छ ।

कोभिडको पहिलो लहर आउँदाको संक्रमणमा कोमर्बिडिटीले मृत्यु हुने बढी हुन्थे । अहिले यो मात्र मृत्युको कारण भइरहेको छैन । कुनै पनि स्वास्थ्य जटिलता नभएका मानिसमा पनि संक्रमण भएर मृत्यु भएको छ । अस्पतालमा जटिल स्वास्थ्य स्थिति भएर भर्ना हुनेहरूको निको हुने दरसमेत एकदमै कम छ । देशभरिमा मंगलबार कोभिडले जटिल स्वास्थ्य स्थिति भई आईसीयूमा ६ सय १६ र भेन्टिलेटरमा १ सय ७९ जना गरी सघन उपचारमा ७ सय ९५ जना छन् । भेन्टिलेटरमा पुगेका ९० प्रतिशतभन्दा बढीको मृत्यु भइरहेको डा. अधिकारीले बताए । ‘आईसीयू, भेन्टिलेटरमा रहेकामध्ये निको हुने प्रतिशत तुलनात्मक रूपमा एकदमै कम देखिएको छ,’ उनले भने ।

आउँदा दिनमा कोभिडले हुने मृत्युको संख्या अझ बढ्ने संकेत देखिएको औंल्याउँदै स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘ठूलाबडा र पहुँच भएकाहरू पहिल्यै आत्तिएर आईसीयूमा बस्ने अवस्था देखिएको छ । आवश्यकता भएकालाई अस्पतालमा भर्ना गर्नै समस्या भएको छ ।’ ती अधिकारीका अनुसार अब विस्तारै बेड नपाएर, आत्तिएर र डराएर अझ बढी मृत्यु हुने जोखिमसमेत बढेको छ ।

अस्पतालमा चिकित्सकीय निर्णयका आधारमा भन्दा पनि सोर्स र पहुँचका आधारमा भर्ना हुने अवस्थाले गर्दा वास्तविक जटिल उपचारको खाँचो रहेकाहरूले उचित उपचार, बेड नपाएर मृत्युवरण गरिरहेको दाबीसमेत स्वास्थ्य मन्त्रालयका अर्का एक उच्च अधिकारीले गरे । हाल पहिलाको दाँजोमा सबै उमेर समूहकाको कोभिडले मृत्यु भइरहेको जनाउँदै सेती अञ्चल अस्पतालका डा. शेरबहादुर कमर भन्छन्, ‘यस पटक हाम्रो क्षेत्रमा मृत्यु हुनेमा ३० देखि ५० वर्ष उमेर समूहका बढी देखिएका छन् ।’ यस पटक कोभिडले उत्पन्न निमोनियाका बिरामी बढी भर्ना भइरहेको समेत उनले बताए ।

त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासका अनुसार अत्यन्त गम्भीर अवस्थाका बिरामी अस्पताल आएका छन् । अस्पताल आउने सबैलाई अक्सिजन आवश्यक देखिएको छ भने अधिकांश बिरामी निमोनिया लिएर अस्पताल पुग्ने गरेका छन् ।

निमोनिया जटिल भएर ढिलो गरी अस्पताल पुग्नेहरूको संख्या बढी हुँदा मृत्यु हुनेहरूको प्रतिशतसमेत यस पटक बढी देखिएको डा. दासले बताए । ‘अन्य कुनै कोमर्बिडिटी पहिचान नभएको बाहिरबाट स्वस्थ देखिने युवाको समेत उल्लेख्य मृत्यु भइरहेको छ ।’

प्रकाशित : वैशाख २२, २०७८ ०६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?