राष्ट्रपतिद्वारा सात वटा अध्यादेश जारी- समाचार - कान्तिपुर समाचार

राष्ट्रपतिद्वारा सात वटा अध्यादेश जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सात वटा अध्यादेश जारी गरेकी छन् । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ लगायत जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि पहिलो संशोधन अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ जारी गरेकी छन् ।

पुन:स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा अध्यादेश पेस हुन सकेका थिएनन् ।


प्रकाशित : वैशाख २१, २०७८ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार : अस्पताल

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।  

मंगलबार नर्भिक इन्टरनेशनल अस्पतालले विज्ञप्ति जारी गरी पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था सुधार भइरहेको जानकारी दिएको हो । खनाल कोरोना संक्रमण भई गत शनिबार अस्पतालमा भर्ना भएका थिए । नेता खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नर्भिकमै उपचाररत पूर्वरानी कोमल शाहको पनि स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई ११ दिनअघि अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आइसियूमै राखेर उपचार भइरहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ । सोही अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ ।

प्रकाशित : वैशाख २१, २०७८ १६:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×