२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

महाकालीदेखि नारायणी नदीसम्म लाइडर प्रविधिबाट हवाई सर्वेक्षण गरिँदै

माधव ढुंगाना

भैरहवा — नापी विभागले मंगलबार लाइडर प्रविधिबाट महाकालीदेखि नारायणी नदीसम्मको २० हजार वर्ग किमी क्षेत्रफलको हवाई सर्वेक्षण सुरु गरेको छ । यो प्रविधि भौगोलिक धरातलको यथार्थ नाप–नक्सा र स्वरूप पत्ता लगाउने अत्याधुनिक प्रक्रिया हो । 

महाकालीदेखि नारायणी नदीसम्म लाइडर प्रविधिबाट हवाई सर्वेक्षण गरिँदै

यति धेरै क्षेत्रफलमा लाइडर प्रविधिबाट हवाई सर्वेक्षण थालिएको यो नेपालमै पहिलोपटक हो । नापी विभागका अनुसार यस सर्भेक्षणमा विशेष खालको क्यामेरा र सेन्सर जडित विमानको प्रयोग गरिन्छ । ती क्यामेरा र सेन्सरले विभिन्न संकेत धरातलमा फ्याँक्ने गर्छन् । ती संकेत जमिनका विभिन्न स्थानमा मेसिनसहित गाडिएको स्याटेलाइट पिल्लरमा ठोक्किँदै पुन: सेन्सरमै तस्बिरसहित पुगेर डाटा संकलनमा सघाउँछन् ।

यी डाटा विकासनिर्माण कार्यका लागि निकै उपयोगी हुने नापी विभागका निर्देशक दामोदर ढकालले बताए । उनका अनुसार लाइडर सर्वेक्षणबाट डाटाहरू उपलब्ध भएपछि विकास निर्माणका कार्यहरू जलविद्युत्, सडक, खानेपानी, सिँचाइ, दैवीप्रकोप पूर्वानुमान, सुरक्षा रणनीतिलगायत कामका लागि सर्वेक्षण गर्दा फिल्डमै पुग्नुपर्ने बाध्यता हुँदैन ।

‘घरमै वा अफिसमै बसेर विकास निर्माण वा आयोजनाको सर्वेक्षण गर्न सकिन्छ,’ ढकालले भने, ‘यस प्रविधिको सर्वेक्षणले आयोजनाको लागत, समय र जनशक्तिको बचतसमेत हुन्छ ।’


मंगलबार भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले लाइडर सर्वेक्षणको शुभारम्भ गरिन् ।

पहिलो चरणमा कञ्चनपुरदेखि चितवनसम्मको २० हजार वर्गकिलोमिटर क्षेत्रको लाइडर सर्वेक्षण चालू आवमा सक्ने योजना छ । दोस्रो चरणमा पूर्वी तराईका जिल्लाको सर्वेक्षण गरिनेछ । पहिलो चरणको सर्वेक्षणका लागि फ्रान्सबाट आर्थिक सहयोग र विमानसहितको प्राविधिक विशेषज्ञ टोली आएको छ । दोस्रो चरणको लाइडर सर्वेक्षणका लागि जापानको जाइकाले सहयोग गर्ने जनाइसकेको छ ।

मन्त्रालयका सचिव टेकनारायण पाण्डेले भैरहवा, नेपालगन्ज र धनगढी गरी तीनवटा प्वाइन्टबाट पहिलो चरणको सर्वेक्षण गरिने बताए । सात वर्षमा पूरै देशको सर्वेक्षण सम्पन्न गर्ने लक्ष्य छ । यो सर्वेक्षण धरातलमा अर्को कुनै परिवर्तन नआएसम्मका लागि उपयोगी हुने जनाइएको छ ।

प्रकाशित : वैशाख २१, २०७८ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?