कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

संक्रमितका घरघरमा अक्सिजन पुर्‍याउँदै मेयर

विनोद भण्डारी

विराटनगर — श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भए पनि विराटनगर–५ का विष्णु कार्कीले भर्ना गर्न खोज्दा अस्पतालमा शय्या पाएनन् । विकल्प नहुँदा श्रीमती सुन्दरीलाई घरैमा हेरचाह गर्दै थिए । उनलाई सास फेर्न समस्या भएको खबर छिमेकमार्फत विराटनगर महानगरपालिका कार्यालयमा पुग्यो ।

संक्रमितका घरघरमा अक्सिजन पुर्‍याउँदै मेयर

महानगर प्रमुख भीम पराजुली आफ्नो गाडीमा अक्सिजन सिलिन्डर बोकेर कार्कीको घर पुगे । सँगै गएका प्राविधिकले बिरामीलाई अक्सिजनको पाइप जोडिदिए ।

विराटनगर–१६ का ललितबहादुर लिम्बूलाई पनि कोरोना पुष्टि भएपछि शरीरमा अक्सिजनको मात्रा घट्यो, सास फेर्न गाह्रो भएको थियो । उनलाई पनि मेयर पराजुलीले घरमै अक्सिजन सिलिन्डर पुर्‍याइदिए । अक्सिजन सपोर्ट पाएर राहत भएपछि लिम्बूले भने, ‘अब त बाँचिन्छ जस्तो लागेर आयो ।’

विराटनगर–५ का बाबुराम पोखरेल कोरोना संक्रमण पुष्टिपछि शरीरमा अक्सिजनको मात्रा घट्दा आत्तिएका थिए । उनी अक्सिजन सिलिन्डर खोज्दै थिए । उनलाई पनि सोमबार महानगरपालिका प्रमुख पराजुलीले घरमै अक्सिजनको सिलिन्डर पुर्‍याइदिए । पराजुलीले आफू चढ्ने गाडीमा अक्सिजनका सिलिन्डर लोड गरेर राखेका छन् । होम आइसोलेसनमा बसेकाहरूले माग्नेबित्तिकै अक्सिजन घरमा पुर्‍याइदिन थालेका हुन् ।

पछिल्लो समय विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ठूला अस्पतालले व्यवस्था गरेका शय्या भरिएका छन् । शय्या नपाएर भर्ना हुन नपाएका धेरै बिरामी होम आइसोलेसनमा छन् । यसरी बसेका संक्रमितलाई अक्सिजनको कमीले गाह्रो पर्न थालेपछि महानगरपालिकाले घरमै सिलिन्डर पुर्‍याइदिन थालेको हो । उक्त काममा महानगर प्रमुख पराजुली आफैं खटिएका छन् ।

‘सोमबारसम्म नगरका ४५ संक्रमितको घरमा अक्सिजनका सिलिन्डर पुर्‍याएसकिएको छ,’ पराजुलीले भने, ‘होम आइसोलेसनमा बसेकालाई पनि हामीले सकेसम्म सुविधा दिनुपर्छ भनेर खाँचो परेकालाई अक्सिजन सिलिन्डर पुर्‍याइदिन थालेका हौं ।’ महानगरले धान्न सकेसम्म अक्सिजन सिलिन्डर घरघरमा पुर्‍याएर जीवन बचाउन सघाउने लक्ष्य लिइएको उनले बताए ।

अघिल्लो चरणको कोरोना संक्रमणको समयमा पनि महानगरले केही परिवारमा अक्सिजन सिलिन्डर घरघर पुर्‍याएको थियो । त्यतिबेला महानगरले दुई सय वटा सिलिन्डरका लागि विनायक र भाजुरत्न अक्सिजन कम्पनीमा प्रतिगोटा १५ हजार धरौटी राखेको थियो । त्यसरी व्यवस्था गरिएको सिलिन्डरमा यतिबेला सानोमा २ सय ५० र ठूलोमा ५ सय रुपैयाँमा अक्सिजन भरेर संक्रमितको घरघरमा पुर्‍याउन थालिएको हो ।

‘हामीसँग अझै अक्सिजन भरेर राखिएका डेढ सयवटा सिलिन्डर छन्,’ प्रमुख पराजुलीले भने । महानगरमा कोरोना संक्रमितको संख्या सोमबारसम्म एक हजार नाघेको छ । अस्पतालमा भर्ना हुन नपाएका र अक्सिजन अभावमा छटपटाएका संक्रमितको घरघरमा सिलिन्डर पुर्‍याउन दिनरात टोली खटिरहेको पराजुलीले बताए । यो अभियानलाई कोरोनाको संक्रमण रहेसम्म महानगरपालिकाले निरन्तरता दिने तयारी गरेको छ । ‘महानगरवासीको स्वास्थ्य र ज्यानभन्दा अरू केही होइन,’ उनले भने, ‘त्यसैले सबै संयन्त्र यो कामका लागि परिचालन गरेका छौं ।’

महानगरसँग अक्सिजनका दुई सय सिलिन्डर छन् । अरू थप दुई सय सिलिन्डर लिने तयारी पनि गरेको उनले बताए । संक्रमण दर बढ्दा मोरङका दुई ठूला अस्पतालका सबै शय्या भरिएका छन् । भर्ना हुन नपाएका र घरैमा बसे पनि निको हुन सकिन्छ भन्नेहरू होम आइसोलेसनमा छन् । कोरोना संक्रमितको उपचारका लागि यहाँको नोबेल शिक्षण अस्पतालले व्यवस्था गरेका ४९ वटा आईसीयूसहित एक सय चार र विराट शिक्षण अस्पतालका एक सयवटा शय्या भरिएका छन् ।

शय्या भरिएपछि आइतबार मात्रै २५ जना संक्रमितलाई भर्ना लिन सक्तैनौं भनेर फर्काउनुपरेको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । संक्रमितको चापलाई ध्यान दिएर सोमबार मात्रै २६ वटा क्याबिनलाई पनि कोभिड उपचारका लागि खुला गरेको उनले जनाए । अस्पतालको आईसीयूमा सोमबार ३७ जनाको उपचार भइरहेको छ । त्यसैगरी अक्सिजनसहितका ७७ सामान्य शय्या पनि भरिएका छन् ।

विराट शिक्षण अस्पतालले कोभिड उपचारका लागि व्यवस्था गरेको एक सयवटा शय्या भरिएपछि त्यहाँबाट पनि आइतबारदेखि दैनिक २० जना संक्रमित फिर्ता हुँदै आएको अस्पतालको कोभिड उपचार अनुगमन समितिका सदस्य काशी चुडालले बताए । अस्पतालले कोभिड संक्रमितको उपचारका लागि ३४ वटा आईसीयूसहित सय शय्या छुट्याएको उल्लेख गर्दै उनले सबै भरिएपछि सोमबारदेखि अस्पताल आएका बिरामीलाई भर्ना गर्न नसकिएको बताए ।

प्रदेश सरकारले सञ्चालनमा ल्याएको ९६ बेडको कोभिड अस्पतालका शय्या भने खाली छन् । अस्पतालका अनुसार सोमबारसम्म ३२ जना भर्ना भएका छन् । यो अस्पतालले गम्भीर स्वास्थ्य अवस्था भएका संक्रमितलाई मात्र भर्ना लिने गरेकाले पनि सरकारी अस्पतालमा उपचारका लागि भर्ना हुनेको संख्या कम भएको हो ।

प्रकाशित : वैशाख २१, २०७८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?