अस्पताल बनाउँदै पालिकाहरू- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पताल बनाउँदै पालिकाहरू

कतै आइसोलेसनलाई स्तरोन्नति गरेर अक्सिजन सिलिन्डरलगायत सुविधा थपिँदै
दुर्गालाल केसी, मनोज पौडेल, ठाकुरसिंह थारु, सन्जु पौडेल, नवीन पौडेल

दाङ, कपिलवस्तु, नेपालगन्ज, रूपन्देही,परासी — अस्पतालमा बेड नपाएर कोरोना संक्रमितको ज्यान जाने अवस्था आएपछि लामो समय मौन रहेका स्थानीय सरकार अस्पताल निर्माणमा जुटेका हुन् । कतै भने सामान्य आइसोलेसनलाई स्तरोन्नति गरेर अक्सिजन सिलिन्डरसहितको सुविधामा परिणत गरिएको छ ।

रूपन्देहीको सैनामैनामा सञ्चालित कोभिड अस्थायी अस्पतालमा उपचाररत संक्रमितहरू । तस्बिर : सन्जु पौडेल/कान्तिपुर

दाङको तुलसीपुर उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शय्याको अस्पताल तयार पारेको छ । अक्सिजन उपलब्ध हुनासाथ अस्पताल सञ्चालन हुने नगर प्रमुख घनश्याम पाण्डेले बताए ।

बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा भुइँमा राखेर उपचार गर्ने अवस्थापछि शनिबार १० आईसीयू, ५० एचडीयू र ४० सामान्य गरी १ सय शय्या बढाइएको छ । यसअघि ५ आईसीयू र ३० सामान्य गरी ३५ शय्या मात्रै थिए ।

लमही नगरपालिकाले २५ शय्या, बबई गाउँपालिकाले ३०, दंगीशरणले १०, शान्तिनगरले २० र बंगलाचुलीले १५ शय्याका अस्पताल तयार पारेका छन् । दिनहुँ औसतमा एक सयभन्दा बढी बिरामी थपिइरहेका छन् ।

दाङको लमही नगरपालिकाले तयार पारेको अक्सिजनसहितको २५ शय्याको आइसोलेसन । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर

घोराहीमा गत मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले अस्पतालहरूमा शय्या विस्तार गर्ने निर्णय गरेको थियो । बैठकले गाउँपालिकाले कम्तीमा २० तथा उपमहानगर र नगरपालिकाले ४० शय्याका अक्सिजनसहितका आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार स्थानीय तह आइसोलेसन अस्पताल बनाउने तयारीमा जुटेका हुन् ।

देउखुरी उपत्यकाका चार पालिकालाई केन्द्रित गरी लमहीमा आइसोलेसनसहितको अस्पताल बनाउने काम अन्तिम चरणमा पुगेको लमही नगर प्रमुख कुलबहादुर केसीले बताए । लमही नगरपालिका, राजपुर, गढवा र राप्ती गाउँपालिका मिलेर आइसोलेसन अस्पताल तयार पारेको उनले बताए । ‘अक्सिजनसहितको २५ शय्याको अस्पताल सञ्चालन गर्दै छौं,’ उनले भने, ‘अस्पताललाई कुर्नुभन्दा आफैं अस्पताल बनाउन सुरु गरेका छौं ।’

बबई गाउँपालिकाले तयार पारेको ३० शय्याको आइसोलेसन अस्पताल । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर

जिल्लामा पीसीआर परीक्षण गर्ने स्थान घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै छ । विभिन्न ठाउँका संक्रमित सार्वजनिक सवारीसाधनमा चढेर परीक्षण गर्न आउने गरेको र यसले जोखिम बढाएको केसीले बताए । गढवामा पनि १५ शय्याको आइसोलेसन अस्पतालको तयारी भइरहेको गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिरले बताए । बंगलाचुली गाउँपालिकाले १५ शय्याको आइसोलेसन सेन्टर स्थापना गरेको तर अक्सिजन पाउन नसकेको अध्यक्ष भक्तबहादुर वलीले बताए ।

अक्सिजन दिनुपर्ने बिरामीको संख्या बढेपछि कपिलवस्तुका स्थानीय तहले सामान्य आइसोलेसनलाई स्तरोन्नति गरेर अक्सिजन सिलिन्डरसहितको सुविधामा परिणत गरेका छन् । कपिलवस्तु नगरपालिकाले २२ बेडको आइसोलेसन सेन्टर बनाएको छ । नगरपालिकाले शनिबारदेखि कोभिड–१९ अस्थायी अस्पताल नाम दिएर केन्द्र सञ्चालनमा ल्याएको हो । साविकको महिला विकास कार्यालय भवनमा बेड र अक्सिजन सिलिन्डर राखेर सुविधा दिइएको छ ।

कपिलवस्तु अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले भने, ‘बिजुली, पानी र खानाको व्यवस्थापन गरेका छौं, अक्सिजन सिलिन्डर पनि राखिएको छ,’ उनले भने, ‘नगरपालिकाले लाग्ने खर्च व्यवस्थापन गर्ने जिम्मा लिएको छ ।’ ५० बेड क्षमता भए पनि जनशक्ति र अक्सिजनको अभावमा अहिले २२ बेडबाट सेवा सुरु गरिएको छ । भेन्टिलेटर र आईसीयू चाहिनेबाहेक नगरका संक्रमितलाई यहाँ राख्न सकिने नगरपालिकाले जनाएको छ ।

कपिलवस्तुको तौलिहवास्थित पत्रकार महासंघको सभाकक्षमा बनाइएको अक्सिजन सिलिन्डरसहितको आइसोलेसन सेन्टर । तस्बिर : मनोज पौडेल/कान्तिपुर

वाणगंगा नगरपालिकाले बुङचीस्थित सिद्धार्थ क्याम्पसको सभाहलमा तत्कालका लागि १५ शय्याको अक्सिजन सुविधासहितको आइसोलेसन सेन्टर तयार गरेको छ । यहाँ पिपरा अस्पतालका दुई एमबीबीएस डाक्टर र २० जना स्वास्थ्यकर्मी खटिनेछन् । विजयनगर गाउँपालिकाले पनि आइसोलेसन सेन्टर तयार गरेको छ । ‘गणेशपुर स्वास्थ्य चौकीको नवनिर्मित भवनमा बेड राख्ने, विद्युत्, पानी, स्वास्थ्यकर्मीको खानपिन र आवासको व्यवस्थापन गरियो,’ गाउँपालिका अध्यक्ष गोपाल थापाले भने, ‘आइतबारबाट सञ्चालनमा आएको छ ।’ १८ बेडको यस सेन्टरमा ५ वटा अक्सिजन सिलिन्डर भरेर आइसके, थप ५ वटा आउँदै छन् । आवश्यकताअनुसार थप गर्दै लगिने उनले बताए ।

बाँकेमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकाले आइसोलेसन सेन्टर बनाएका छन् । नेपालगन्ज उपमहानगरले शुक्रबारदेखि ५० बेडको आइसोलेसन सञ्चालन गरेको छ । भेरी अस्पतालमा बिरामीको चाप थेग्न गाह्रो भएपछि उपमहानगरले अक्सिजनसहितको आइसोलेसन सेन्टर चलाउने निर्णय गरेको हो । स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले रामलीला मैदानस्थित नारी उत्थान केन्द्रको सभाहलमा कोभिड वार्ड सञ्चालन गरिएको बताए । ‘वडाको सिफारिसमा संक्रमितलाई त्यहाँ राख्छौं,’ उनले भने, ‘यसअघि ह्वाइटहाउस होटलमा सञ्चालन गरिरहेको आइसोलेसन सेन्टरसमेत नियमित हुनेछ ।’ उपमहानगरका वडाले पनि आइसोलेसन बनाएका छन् ।

नेपालगन्ज उपमहानगरले बनाएको अक्सिजनसहितको आइसोलेसन । तस्बिर : रुपा गहतराज/कान्तिपुर

नेपालगन्ज–४ मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा अक्सिजनसहितको १० आइसोलेसन वार्ड बनाउन लागिएको अध्यक्ष मोहम्मद सफिक बेहनाले बताए । ‘दुई एमबीबीएस डाक्टर र केही नर्स नियुक्तिका लागि अन्तिम नामावली आइसकेको छ । डाक्टरसँग सल्लाह गरेर वैशाख २० बाट सञ्चालनमा ल्याउँछौं,’ उनले भने, ‘वडावासीलाई मात्र उपचार गर्न सक्यौं भने अस्पतालको भार कम गर्न सकिन्थ्यो ।’ उनले कोरोना परीक्षणलाई पनि तीव्रता दिने बताए । खजुरा गाउँपालिकाले दुई ठाउँमा गरेर ५० बेडको आइसोलेसन सेन्टर बनाएको छ । जनक शिक्षा सामग्री केन्द्रमा अक्सिजन सुविधासहितको आइसोलेसन छ । खजुरा–१ को राधापुर स्वास्थ्य चौकीमा १० बेडको आइसोलेसन सेन्टर तयार गरिएको छ । गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले आवश्यकताअनुसार बेड थप्दै जाने बताए ।

कोहलपुर नगरपालिकाले वडा नं. २ स्थित प्राकृतिक चिकित्सालय तथा योग केन्द्रमा अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको छ, जहाँ १० जना बिरामीलाई राखिएको छ । अस्पतालको बेड बढाएर २५ पुर्‍याउने र अन्यत्र २५ बेडको सुविधा सम्पन्न आइसोलेसन बनाउने उपमेयर सन्जु थारूले बताइन् । अक्सिजनसहितको अस्थायी कोभिड अस्पतालमा एक जना चिकित्सक, चार जना नर्स गरी आवश्यक स्वास्थ्यकर्मीको पदपूर्तिसमेत गरिएको छ । यद्यपि, अहिलेसम्म नगरपालिकाको आफ्नै एम्बुलेन्स छैन । अस्पतालले रेडक्रससँग भाडामा लिएको एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । त्यस्तै, चारवटा ठूला खाले अक्सिजन सिलिन्डर प्रयोग भइरहेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेले चैतमै स्थानीय तहलाई आइसोलेसन केन्द्र तयार गर्न अनुरोध गरेको थियो ।

रूपन्देहीका धेरै पालिकाले अस्थायी अस्पताल सञ्चालन गर्ने र एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्न थालेका छन् । सैनामैना नगरपालिकाले अस्थायी कोभिड अस्पताल सुरु गरेको छ । सैनामैना–१ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा अस्थायी अस्पतालको सेवा सुरु गरिएको हो । पाँच बेड स्वीकृत भएको अस्पतालमा तीनवटा एचडीयू र दुईवटा अक्सिजनसहितका बेड छन् । अन्य ४५ बेडमा घर राखी उपचार सम्भव नभएका बिरामीलाई उपचार गर्न सकिने गरी आइसोलेसन बेड तयार भएको नगरका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले बताए । ‘कुल २५ जना चिकित्सक, कर्मचारीले सिफ्टमा सेवा दिइरहेका छन्,’ उनले भने, ‘होम आइसोलेसनमा बस्दा अक्सिजन दिनुपर्ने अवस्था भएका बिरामीलाई अस्पताल र आइसोलेसन सेन्टरमा राखेर अक्सिजन दिइरहेका छौं ।’

तिलोत्तमा नगरपालिका २ को स्वास्थ्य कार्यालयलाई स्थानान्तरण गरी २० शय्याको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । त्यस्तै पुष्पलाल वाटिकामा पालिकाले अन्य २० बेडको आइसोलेसन सेन्टर चलाएको नगरपालिकाका कोभिड फोकल पर्सन केशव भट्टराईले बताए । सियारी गाउँपालिकाले पनि कोभिड अस्थायी अस्पताल सञ्चालनका लागि संघीय सरकारले दिएको १० लाख रुपैयाँ अनुदानबाट पाँच शय्याको अक्सिजनसहितका बेड तयार गरी सेवा जारी राखेको छ । पालिकाको वडा ७, अमुवा बजारमा रहेको साविक हेल्थपोस्टको भवनमा पाँच जना बिरामीले सेवा लिइरहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले बताए । ‘एक मेडिकल अफिसर र नौ जना स्वास्थ्यकर्मी खटाई बिरामीको उपचार गरिरहेका छौं,’ उनले भने, ‘गत मंसिरमै उद्घाटन गरिएको अस्पताल वैशाख १५ देखि कोरोना बिरामीका लागि मात्र प्रयोग गर्न थालिएको हो ।’

जिल्लाका १६ पालिकामध्ये यीबाहेकका अन्य पालिकाले कोरोना नियन्त्रणका लागि आइसोलेसन सेन्टर वा अस्थायी अस्पताल बनाउनेबारे तयारी गरिरहेका छन् । स्थानीय तहले सरकारले निर्देशन दिएबमोजिम कोरोना नियन्त्रणमा भूमिका निर्वाह गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका सदस्य डा. राजेन्द्र गिरीले बताए । ‘यो भयावह स्थिति पार गर्नेतर्फ हरेक पालिकाले दायित्व निर्वाह गर्न जरुरी छ,’ उनले भने ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले अक्सिजनसहितको २० बेडको कोरोना उपचार केन्द्र सोमबारबाट सञ्चालनमा ल्याएको छ । जिल्लामा अक्सिजन सिलिन्डर नपाएपछि जिल्लाबाहिरबाट ल्याएर उपचार कक्ष सञ्चालन गरिएको हो । सुनवल १ सोमनाथको प्रगति बालउद्यानमा आइसोलेसन तयार गरिएको नगर प्रमुख भीमबहादुर थापाले बताए । ‘यसअघि अक्सिजनबिनाको आइसोलेसन थियो, अहिले संक्रमण भएका अधिकांशमा अक्सिजनको मात्रा कम भएको पाइएकाले अक्सिजनसहितको उपचार कक्ष सञ्चालनमा ल्याएका हौं,’ थापाले भने, ‘तत्कालका लागि २० बेड तयार भएको छ । आवश्यक भएमा थप गरिनेछ ।’ आइसोलेसनमा नगरभित्रका स्वास्थ्य केन्द्र र अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी परिचालन हुनेछन् । आवश्यक परे करारमा पनि भर्ना गरेर उपचार सेवालाई निरन्तरता दिने तयारी छ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले सञ्‍चालनमा ल्याएको आइसोलेसन सेन्टर । तस्बिर : नवीन पौडेल/कान्तिपुर

बर्दघाटमा नगरपालिकाले १० बेडको अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएको छ । आइसोलेसन सञ्चालनका लागि नगरले ९ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य उपकरण र सामान खरिद गरेर चिसापानी अस्पताल बर्दघाटलाई हस्तान्तरण गरेको छ । ‘स्थानीय तहले भेन्टिलेटर र आईसीयू सुविधा दिन नसके पनि अक्सिजनसहितको कोरोना उपचार कक्ष सञ्चालनमा ल्याएका छौं,’ बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले भने, ‘लक्षण देखिएका र सामान्य समस्या भएका संक्रमितलाई नगरभित्रै उपचारको व्यवस्था मिलाएका छौं ।’

जिल्ला कोरोना संकट व्यवस्थापन समिति नवलपरासीले सबै स्थानीय तहमा कम्तीमा पनि १० बेडको अक्सिजनसहितको कोरोना उपचार कक्ष स्थापना गर्ने निर्णय भएको थियो । सोहीअनुसार स्थानीय तहले अक्सिजनसहितको उपचार कक्ष सञ्चालनको तयारी थालेका हुन् । जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख शिवशंकर रायले सातवटै स्थानीय तहले आइसोलेसन निर्माण गरे पनि मागअनुसार अक्सिजन पाउन नसक्दा तत्कालै सञ्चालन हुन नसकेको बताए ।

चिकित्सक अभाव

आइसोलेसन सेन्टरमा चिकित्सकको भने अभाव छ । स्वास्थ्यकर्मीको निगरानीमा सामान्य लक्षण देखिएका संक्रमितलाई आइसोलेसनमा राख्न आग्रह गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । ‘स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई परिचालन गरेर आइसोलेसन सञ्चालन गर्ने निर्देशनबमोजिम आइसोलेसन सञ्चालनमा आएका हुन्,’ उनले भने, ‘मेडिकल अफिसर त सबै ठाउँमा सम्भव हुँदैन । त्यसैले स्थानीय तहमा स्वास्थ्यकर्मीले नै काम गरिरहनुभएको छ ।’

भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. राजन पाण्डेले सबै निजी अस्पताललाई संक्रमितको उपचार गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिनुपर्ने बताए । ‘अहिलेको पहिलो स्टेप भनेको सबै स्थानीय तहले निजी तथा सरकारको स्वामित्वमा रहेका अस्पताललाई कोरोनाका बिरामीको उपचार गर्न दबाब दिनुपर्छ । अहिलेका कोरोनाका बिरामी आईसीयूमा थुनेर राखेर उपचार गर्न मात्र सम्भव छैन,’ उनले भने, ‘यो मानवीय सेवा मात्र नभई अहिले पोलिटिकल स्टन्ट मात्र हो । एक्सरे, ल्याब, सलाइन दिने कुरा वडामा सम्भव छैन ।’

प्रकाशित : वैशाख २१, २०७८ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्

निषेधाज्ञामा जग्गा खरिद–बिक्री रोक्का

निषेधाज्ञाभर मालपोत कार्यालयहरूको सेवा बन्द
नुमा थाम्सुहाङ

काठमाडौँ — निषेधाज्ञाभर जग्गा खरिद तथा बिक्री कारोबार गर्न नमिल्ने भएको छ । निषेधाज्ञाभर सेवाग्राहीलाई दिइने सेवा बन्द गरिएकाले जग्गा खरिदबिक्री गर्न नमिल्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए ।


‘मालपोत कार्यालयहरूमा प्रगति प्रतिवेदन तयार गर्ने, छुटेका विवरण राख्नेलगायत आन्तरिक काम मात्र भइरहेका छन्,’ उनले भने । मालपोत कार्यालयहरूमा सेवाग्राहीको उपस्थितिले संक्रमणको जोखिम निम्त्याउन सक्ने भएकाले निषेधाज्ञाभर बाह्य सेवा बन्द गरिएको उनको भनाइ छ । यसकै लागि विभागले मालपोत कार्यालयमा हुने सेवाग्राहीको उपस्थितिलाई कम गर्न अनलाइनमा आधारित ‘भू–सेवा केन्द्र’ अर्थात् पब्लिक एक्सेस मोडल (पाम) सञ्चालनमा आएको एक वर्ष पूरा भइसकेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७६ असार ५ देखि ‘भू–सेवा केन्द्र सञ्चालन निर्देशिका–२०७६’ जारी गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो । यससँगै सेवाग्राही आफैंले इन्टरनेटमार्फत घरजग्गा हक हस्तान्तरणसम्बन्धी काम गर्न सक्ने भनिए पनि विभागले पूर्ण रूपमा अनलाइनमा आधारित सेवा प्रवाह गर्न सकेको छैन । जसले गर्दा सेवाग्राहीले निषेधाज्ञाको समयमा समेत अनलाइनमार्फत जग्गाको खरिद तथा बिक्री गर्न नमिल्ने भएको हो ।

‘विभागले सञ्चालनमा ल्याएको भू–सेवा प्रणालीबाटै जग्गा खरिदबिक्री गरिनुपर्ने हो । तर यो पूर्ण रूपमा अनलाइनमा आधारित भइसकेको छैन,’ उनले भने, ‘जग्गा खरिदबिक्री र स्वीकृतिका लागि मालपोत कार्यालयमा आएर सहीछाप र ल्याप्चे लगाउनुपर्ने अवस्था छ । केही कानुनी कुरालाई मिलाएर एक वर्षभित्र भने पूर्ण रूपमा अनलाइन नै बनाउने तयारी गरिरहेका छौं ।’ यसपछि सेवाग्राहीहरूले घरबाटै जग्गाको खरिद, बिक्री र स्वीकृति लिन सक्ने उनले बताए ।

विभागअन्तर्गत १ सय २६ वटा मालपोत कार्यालय छन् । आर्थिक वर्ष २०७७/७८ मा थप २५ वटा कार्यालयबाट भू–सेवा केन्द्र सञ्चालनमा ल्याउने वार्षिक कार्यक्रम छ । तर अहिलेसम्म विभागले १९ कार्यालयमा मात्र उक्त सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । साथै विभागले आगामी आर्थिक वर्षभित्र देशभरका कार्यालयमा उक्त प्रणाली सञ्चालनमा ल्याउने योजनाका साथ तयारी गरिरहेको प्रवक्ता सुवेदीले जानकारी दिए ।

काठमाडौंका कलंकी, साँखु, चाबहिल, डिल्लीबजार, टोखा र मनमैंजु, ललितपुर एवं भक्तपुरमा गरी आठ वटा मालपोत कार्यालयहरूमा भू–सेवा केन्द्र सञ्चालनमा छन् । उपत्यकाबाहिर कास्कीका २ वटा मालपोत कार्यालयमा पनि केन्द्र सञ्चालनमा छन् । पाँचथर, इलाम, स्याङ्जा, काभ्रेपलाञ्चोक, धनुषा, धादिङ, चितवन, पर्वत, बुटवलका मालपोत कार्यालयमा पनि उक्त सेवा सञ्चालनमा आइसकेको विभागले बताएको छ । मालपोतमा सेवाग्राहीको भीड कम गर्न र काम सजिलो बनाउन विभागले यसको सुरुवात गरेको हो ।

प्रकाशित : वैशाख २१, २०७८ ०६:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×