मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई बहिष्कार गर्ने चार दलीय गठबन्धनको निर्णय - समाचार - कान्तिपुर समाचार

मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई बहिष्कार गर्ने चार दलीय गठबन्धनको निर्णय 

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशको विपक्षी चार दलीय गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई अवैधानिक दाबी गर्दै बहिष्कार गर्ने निर्णय गरेको छ । सरकारलाई चारदलीय गठबन्धनबाट मात्र नभै प्रदेशभरिका जनताबाट बहिष्कार गर्न अपिल समेत गरेका छन् ।

सोमबार दिउँसो बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रदेशसभाको बहुमत आफूसँग रहेको भन्दै गठबन्धनले अल्पमतका मुख्यमन्त्री पोखरेललाई खारेज गरेको घोषणा समेत गरे । गठबन्धनले प्रदेश प्रमुख धर्मनाथ यादवलाई तत्काल बर्खास्त गर्न समेत माग गरेको छ ।

गठबन्धनले विशेष अधिवेशन आह्वान गरेकै दिन अधिवेशन नै नगरी अन्त्य गर्नु प्रदेश प्रमुखको गैर जिम्मेवारी, पदीय मर्यादा विपरित गरिएको गैरकानुनी र असंवैधानिक कदम भएको आरोप लगाउँदै संघीय सरकार मार्फत उनको बर्खास्तीको माग गरेको हो । साथै, गठबन्धनले विमलाकुमारी खत्रीले नेकपा माओवादी केन्द्र रोजिसकेका बेला उनको किर्ते हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउनु गलत भएको बताउँदै विरोध गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले असंवैधानिक, अलोकतान्त्रिक, अराजनीतिक रुपमा बनेका मुख्यमन्त्री पोखरेल र उनको सरकारलाई कुनै मान्यता नदिने बताए । त्यसका लागि चारदलीय गठबन्धन र जनता साथमा रहेको उनले दाबी गरे । एमाले सरकार टिकाउन सांसद किनबेच र किर्ते काममा लागेको दाबी गर्दै उनले बहुमत प्रदेशसभा सदस्य आफूसँग भएकाले आफू जनताको मुख्यमन्त्री भएको बताए । ‘विधि प्रक्रिया नियम संविधान कानुन सबै मिचेर बनेको सरकार धेरै दिन टिक्न दिन्नौं, बहुमत प्राप्त हामी छिटै सरकारमा जान्छौं ,’ उनले भने ।

कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कानोडियाले केन्द्रमा केपी ओलीले गरेको असंवैधानिक र अराजनीतिक कदम र शैलीलाई मुख्यमन्त्री शंकर पोखरेलले पछ्याएको बताए । ‘उनको कदमको भण्डाफोर गर्ने र सरकारबाट हटाउन कानुनी, राजनीतिक र संवैधानिक बाटो खोज्ने छौं,’ कानोडियाले भने ।

प्रकाशित : वैशाख २०, २०७८ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाबाट ३७ जना संक्रमितको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — २४ घण्टामा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २१ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।

हालसम्म पीसीआर परीक्षण २५ लाख २१ हजार १ सय ६४ पुगेको छ । आइसोलेसनमा ५४ हजार ४१ जना र क्वारेन्टाइनमा २१२ जना रहेको मन्त्रालयले जनाएको छ ।

सोमबार ७ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६ सय ५८ पीसीआर परीक्षणबाट ७ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ ।

प्रकाशित : वैशाख २०, २०७८ १७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×