१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

लुम्बिनी प्रदेशसभाका एमाले सांसद पाण्डेको राजीनामा स्वीकृत

काठमाडौँ — लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले)का सांसद दृगनारायण पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ । पाण्डेको राजीनामा स्वीकृत भएसँगै लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री पोखरेलको बहुमत औपचारिक रूपमा नै गुमेको छ ।

लुम्बिनी प्रदेशसभाका एमाले सांसद पाण्डेको राजीनामा स्वीकृत

प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै पाण्डेले सभाको सदस्यबाट दिएको राजीनामा स्वीकृत भएको जानकारी दिएको छ ।

'दृगनारायण पाण्डेले हालको राजनितिक परिस्थिति दर्शाई मिति २०७८ वैशाख १९ आइतबारदेखि लागू हुने गरी प्रदेशसभा सदस्य पदबाट माननीय सभामुखसमक्ष लिखित राजीनामा पेस गर्नु भई नेपालको संविधानको धारा १८० (क) बमोजिम स्थान रिक्त भएकोले प्रदेशसभाको बैठक चालु नरहेको अवस्थामा प्रदेशसभा नियमावली २०७४ नियम १८५ को उपनियम २ बमोजिम जानकारीको लागि आदेशानुसार यो सूचनापत्र प्रकाशन गरिएको छ,' सचिवालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

पाण्डे कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नम्बर २ (क) बाट २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।

पाण्डेको राजीनामा स्वीकृत भएसँगै लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएका छन् । विमला वलीले माओवादी केन्द्र रोजेपछि र पाण्डेको राजीनामा स्वीकृत भएसँगै प्रदेश सभामा अब एमालेका ३९ सदस्य छन् ।

मुख्यमन्त्री पोखरेलले भने आफूसँग बहुमत रहेको दाबी गर्दै आइतबार नै पुनः मुख्यमन्त्रीमा एकल बहुमतको दलको नेताको हैसियतमा शपथ लिएका छन् । उनले मन्त्रिपरिषद् पनि विस्तार गरिसकेका छन् । विपक्षी कांग्रेस, माओवादी र जसपाको एक खेमाले त्यसको विरोध गर्दै आएको छ ।

प्रकाशित : वैशाख २०, २०७८ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?