१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रोकिएन घर फर्किनेको लर्को

सामान्य जाँचका भरमा सिधै घर जाँदा समुदायमा संक्रमण फैलिँदो
भवानी भट्ट

कञ्‍चनपुर — भारतबाट घर फर्किनेको लर्को अझै कम भएको छैन । चैत अन्तिमदेखि सुरु भएको घर फर्कने क्रम अहिले पनि त्यही अनुपातमा चलिरहेको छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक ४/५ सयको संख्यामा नेपालीहरू घर फर्किरहेका छन् ।

रोकिएन घर फर्किनेको लर्को

निषेधाज्ञाअघिसम्म दैनिक ७/८ सय नेपाली घर फर्किने गरेका थिए । आइतबार पनि नाकाबाट ४ सय १८ जना भित्रिएका छन् । जसमध्ये ८९ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच जनामा कोरोना पुष्टि भएको छ । कैलालीको गौरीफन्टा नाकाबाट पनि दैनिक ७/८ सयको संख्यामा घर फर्किरहेका छन् । निषेधाज्ञाअघिसम्म यहाँबाट एक हजारभन्दा बढी फर्किने गरेका थिए ।

भारतमा संक्रमण तीव्र भएसँगै रोजगारी गुमेपछि नेपालीहरू धमाधम घर फर्किन थालेका हुन् । उनीहरू सामान्य मजदुरीसमेत नपाइने अवस्था आएपछि जेनतेन घर फर्किन लागेका हुन् । ‘उता काम केही छैन, त्यही भएर घर फर्कियौँ भन्छन्,’ गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज आकाश बारुडीले भने, ‘केही दिनयता आउने क्रम कम भएको छ ।’ गड्डाचौकीबाट चैतमा २२ हजार ३ सय जना भित्रिएका छन् । वैशाख १९ गतेसम्म १३ हजार ९ सय जना भित्रिएका छन् । खासगरी कोरोनाको उच्च जोखिम भएका दिल्ली, हरियाणा, पञ्जाब र महाराष्ट्रलगायत कञ्चनपुरको सीमा जोडिएको उत्तरप्रदेश र उत्तराखण्डका विभिन्न क्षेत्रबाट नेपालीहरू घर फर्किरहेका हुन् ।

कोरोना संक्रमणका कारण भारतमा पनि ठाउँठाउँमा निषेधाज्ञा र कर्फ्यु लगाइएको छ । कतै हिँडेर त कतै सवारी साधनमा भोकभोकै घर फर्किएको उनीहरू बताउँछन् । गत वर्ष पनि कोरोनाको संक्रमणका कारण नेपालीहरू यसैगरी फर्किएका थिए ।

भारतबाट फर्किनेलाई नाकामा सामान्य जाँच गरेर गन्तव्यतर्फ पठाउने गरिएको छ । उनीहरूलाई दशगजामै रोकेर सार्वजनिक यातायातमा सम्बन्धित जिल्लातर्फ पठाउने गरिएको हो ।

प्रकाशित : वैशाख २०, २०७८ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?