कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बल प्रयोग गरेर मुख्यमन्त्रीको शपथ

अमृता अनमोल

बुटवल — विपक्षी सांसदहरूमाथि बल प्रयोग गरेर लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको शपथ गराइएको छ । बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर र उपस्थितिमा मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदर गर्न र शपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा धर्ना बसिरहेका विपक्षी दलका सांसदमाथि बल प्रयोग गरिएको हो ।

बल प्रयोग गरेर मुख्यमन्त्रीको शपथ

धर्नाका कारण प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण सम्भव भएको थिएन । त्यसपछि आफ्नै परिसरमा धर्ना बसेका सांसदमाथि बल प्रयोग गराएर प्रदेश प्रमुख धर्मनाथ यादवले नजिकै रहेको मुख्यमन्त्री कार्यालयमा पुगी मुख्यमन्त्री शंकर पोखरेललाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । प्रदेश प्रमुखलाई सेनाले घेरेर कार्यालयबाट बाहिर निकालेका थिए । नेपाल र सशस्त्र प्रहरीले विरोध प्रदर्शन गरिरहेका सांसदमाथि बल प्रयोग गरेका थिए ।

परिसरमा नाराबाजी गरिरहेका विपक्षी सांसदलाई प्रहरीले धकेलेको थियो । महिला सांसदलाई धकेलेपछि विरोध भएको थियो । प्रदेश प्रमुख यादव कार्यालयबाहिर निस्कँदा विपक्षी दलका प्रदेशसभा सदस्यले नाराबाजी गरेका थिए । त्यसक्रममा प्रहरीले बल प्रयोग गर्दा कांग्रेस सचेतक निर्मला क्षत्री, माओवादी केन्द्रकी सदस्य लौटी थारू र गीता थापालाई चोट लागेको थियो । उनीहरूले हातपात भएको दाबी गरेका छन् । सचेतक क्षत्रीले राजनीतिक घटनामा बल प्रयोग गरेर घाइते बनाउनु शक्तिको दुरुपयोग र ज्यादती भएको बताइन् ।

कांग्रेस, माओवादी, जसपा र राजमोलगायत दलका सांसदको विरोधका बीच मुख्यमन्त्री पोखरेलले साँझ करिब ८ बजे शपथ लिएका थिए । आइतबार मुख्यमन्त्रीसँगै ७ सदस्यीय नयाँ मन्त्रिपरिषद् पनि गठन भएको छ । पहिलो चरणमा मुख्यमन्त्रीसहित एमालेका दुई मन्त्रीले शपथ लिए । आर्थिक मामिला तथा योजना मन्त्रीका रूपमा वैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रूपमा हरि रिजालले शपथ लिएका हुन् । नवलपरासी पश्चिमको निर्वाचन क्षेत्रका चौधरी पहिलो सरकारमा भौतिक पूर्वाधारमन्त्री थिए । वैशाख ६ मा मन्त्रिपरिषद् हेरफेर हुँदा उनी आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । रिजाल प्यूठानबाट निर्वाचित हुन् । उनी पहिलो पटक मन्त्री बनेका हुन् ।

साँझ करिब ९ बजे दोस्रो चरणको शपथ भयो । जसमा राजपाबाट यसअघि मन्त्री बनेका सन्तोष पाण्डेले भौतिक पूर्वाधार विकासमन्त्री र विजयबहादुर यादवले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीको शपथ लिए । मुख्यमन्त्रीले आइतबारै जसपाका कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरेका छन् ।

राजनीतिक घटनाको उपज : मुख्यमन्त्री

मुख्यमन्त्री पोखरेलले सरकार फेरबदल र पुन: मुख्यमन्त्रीको नियुक्ति राजनीतिक घटनाक्रमको उपज भएको बताएका छन् । प्रदेशसभामा अल्पमत/बहुमतको खेल खेलिएकाले बहुमत सदस्यको आधारमा आफू मुख्यमन्त्री बनेको उनले बताए । सदस्य तानातान गरेर अराजकता प्रस्तुत गरिएकाले उसै दिन राजीनामा र पुन: मुख्यमन्त्रीको प्रक्रिया थालेको उनले बताए ।

आफू बहुमत प्राप्त दलका तर्फबाट मुख्यमन्त्री नियुक्त भएपछि पनि विपक्षी दलले देखाएको विरोध र अवरोधको शैली विडम्बनापूर्ण भएको बताए । आफ्ना सदस्यको राजीनामा र माओवादी केन्द्रलाई समर्थन गरेकोबारे आधिकारिक जानकारी नभएको उनले बताए । ‘किन त्यसो गरियो वा गराइयो, अब सोधीखोजी गर्नेछौं,’ उनले भने । हाल अल्पमतमा भए पनि प्रदेशसभामा बहुमत पुर्‍याएर जाने उनले बताए । ‘जसपाका चार सदस्यको निष्कासनविरुद्ध कानुनी उपचार सुरु भएको छ, अरूको पनि सरकारमा साथ र समर्थन हुन सक्छ,’ उनले भने ।

संविधानको मर्मविपरीत भयो : विपक्षी दल

विपक्षी दलले मुख्यमन्त्रीको नियुक्ति र शपथ असंवैधानिक र अनैतिक भएको बताएका छन् । यस्तो निर्णय फिर्ता गराउन जनता र कानुनी उपचारमा जाने उनीहरूले प्रतिक्रिया दिएका छन् । कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले अल्पमत सदस्य रहेका व्यक्तिलाई मुख्यमन्त्री बनाउनु प्रदेश प्रमुखको लज्जास्पद निर्णय भएको बताए । ‘हामीमाथि अन्याय भयो,’ उनले भने, ‘कानुन र जनतामाझ गएर न्याय खोजिनेछ ।’

आफूहरूले कांग्रेस, माओवादी, जसपा र राजमोको गठबन्धनमा ४२ सदस्यको हस्ताक्षर गरेर नयाँ सरकारका लागि प्रदेश प्रमुखकोमा लिखित निवेदन पेस गर्दा पनि ३७ सदस्यमा खुम्चिएको एमालेका संसदीय दलका नेतालाई मुख्यमन्त्री बनाउनु असंवैधानिक कदम भएको बताए । प्रदेश प्रमुखको कार्यालयबाहिर बसेका सदस्यमाथि बल प्रयोग गरेर मुख्यमन्त्रीले आफ्नै कार्यालयमा शपथ लिनु अर्को विडम्बना भएको उनले बताए ।

माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले बहुमत सदस्यको समर्थन रहेकाले आफू मुख्यमन्त्री बन्ने दाबी गरे । प्रदेश प्रमुखले मुख्यमन्त्रीमा अरूलाई नियुक्त गरे पनि बहुमत सदस्य र जनताको मुख्यमन्त्री बनेको उनले दाबी गरे । ‘प्रदेश प्रमुखले सत्ता र शक्तिमा डुबेर निर्णय गरे,’ उनले भने, ‘यस्तो नियुक्ति बदरका लागि जस्तोसुकै कदम चालिन्छ ।’

प्रकाशित : वैशाख २०, २०७८ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?