कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भेरी अस्पतालको व्यथा : बेड संख्या १४२, संक्रमित २९२ 

नेपालगन्ज — बाँकेमा फैलिएको कोरोना महामारीप्रति प्रदेश र संघीय सरकार संवेदनशील बन्न नसकेको गुनासो स्वास्थ्यकर्मीहरूले गरेका छन् । नेपालगन्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीको ठूलो पंक्ति नै संक्रमित भएपछि मेडिकल टिम माग गरिए पनि नपठाइएको उनीहरूले बताए ।

भेरी अस्पतालको व्यथा : बेड संख्या १४२, संक्रमित २९२ 

‘बिरामीको चापलाई सीमित चिकित्सकले थेग्न सकिँदैन,’ भेरी अस्पतालका मेडिकल अधिकृत तथा फिजिसियन डा. राजन पाण्डेले भने, ‘महामारीलाई आपत्कालीन रूपमा सम्बोधन गरिनुपर्थ्यो । भनिरहेका छौं, कराइरहेका छौं तर केन्द्र र प्रदेश सरकारले ध्यान दिएका छैनन् ।

भेरी अस्पतालमा अहिले एउटै नर्सिङ स्टाफले ३० जनाभन्दा बढी बिरामी हेर्नुपरिरहेको छ । चिकित्सकहरूका अनुसार एक नर्सिङ स्टाफले एक जना बिरामीलाई हेर्नुपर्ने हो । आफू संक्रमित हुँदाहुँदै पनि उनीहरू ड्युटीमा खटिएका छन् । जनशक्ति अभाव भएकैले एक जनाले १६ घण्टासम्म खटिनुपरेको छ । ‘एउटा नर्सले दर्जनौंलाई हेर्नुपर्ने स्थिति छ । आईसीयू र भेन्टिलेटरका बिरामीलाई झन् धेरै केयर चाहिन्छ,’ भेरी अस्पतालकै कोभिड वार्डमा कार्यरत नर्सिङ अधिकृत शिला शर्माले भनिन्, ‘स्थिति धेरै गाह्रो भइसकेको छ । यस्तो भयावह स्थितिमा पनि थप जनशक्ति नपठाउँदा संकट झन् बढेको छ ।’

अन्य बिरामी भएको भए एउटै नर्सिङ स्टाफले १५/२० जनासम्म बिरामी हेर्न सक्छन् । तर कोभिडका बिरामी संवेदनशील हुन्छन् । उनीहरूलाई अक्सिजन दिइरहनुपर्छ । सुईबाट औषधि दिनुपर्छ । ‘ज्वरो मापनदेखि अक्सिजन लेभलसम्म निगरानी गरिरहनुपर्छ,’ नर्सिङ अधिकृत शर्माले भनिन् । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले कोभिड वार्डको क्षमताभन्दा दुई गुणा बढी बिरामी भर्ना भएपछि थेग्न नसक्ने अवस्था आएको बताए । ‘कोभिड वार्ड १ सय ४२ बेडको छ । तर, क्रिटिकल बिरामी आएपछि बेड थपेर राख्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘स्थिति भयावह भइसक्यो । संक्रमित भएका स्वास्थ्यकर्मीले आराम गर्न पाएका छैनन् । बिरामीको सेवामै छन् ।’

अस्पतालमा कोरोनाका बिरामीको चाप थेग्नै नसक्ने गरी बढ्नुका साथै उपचारमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएपछि केन्द्र सरकारसँग चिकित्सकसहितको मेडिकल टिम माग गरिएको थियो । अस्पतालको मागपछि संघीय सरकारले चिकित्सकसहित ८० स्वास्थ्यकर्मीका लागि ६८ लाख रुपैयाँ विनियोजन गरेको थियो । अस्पताल प्रशासनले तीन दिनभित्र जनशक्ति भर्ना गर्न वैशाख १३ गते विज्ञापन गर्‍यो । तर नर्सिङ अधिकृत, नर्सिङ स्टाफ, ल्याबबाहेक मेडिकल अधिकृतहरूमा माग गरेको अनुपातमा कसैले निवेदन दिएनन् । अस्पताल प्रशासनले एनेस्थेसियोलोजिस्ट तीन, मेडिकल अधिकृत १०, नर्सिङ अधिकृत दुई, ल्याब टेक्निसियन ५ र स्टाफ नर्स ४० जना करारमा माग गरेको थियो ।

अस्पतालमा कोरोनाका बिरामीको उपचारमा खटिएका ८ चिकित्सकसहित ७० भन्दा बढी स्वास्थ्यकर्मी आफै सक्रमित भएका छन् । उनीहरूले नै संक्रमितको उपचार गरिरहेका छन् । कोरोनाको महामारीले भयावह स्थिति उत्पन्न भइसक्दा पनि चिकित्सकलगायत स्वास्थ्यकर्मी नथपिएका कारण अस्पताल प्रशासनले चाहेर पनि सेवा दिन सकिरहेको छैन ।

जटिल अवस्थाका संक्रमितबाहेकलाई अस्पतालले भर्ना गर्न छाडेको छ । भेरी अस्पतालको कोभिड आइसोलेसन बिरामीले भरिएको छ । अस्पतालमा २ सय ९२ जना संक्रमित भर्ना गरिएको छ । इमर्जेन्सी कक्षमा बेड पर्खिनेको संख्या उत्तिकै छ । गम्भीर बिरामीले पनि पालो पाउन कुनै बिरामी डिस्चार्ज हुनुपर्छ या त कसैको मृत्यु कुर्नुपर्छ ।

अस्पतालका कोरोना स्रोतव्यक्ति तथा फिजिसियन डा. संकेत रिसालका अनुसार मेडिकल अधिकृतमा दुइटा मात्रै दरखास्त परेको छ । ‘हामीलाई मुख्य कुरा डाक्टर चाहिएको थियो । मुख्य पदमा नै दरखास्त परेन,’ उनले भने, ‘यो महामारीको समयमा दुई महिनाको करारमा बोलाएर हुँदैन । प्रोत्साहन र स्थायी पद्धति विकास गर्न जरुरी छ ।’

जुम्लाबाट २२ स्वास्थ्यकर्मी आइपुगे

भेरी अस्पतालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट तीन जना चिकित्सकसहित २२ स्वास्थ्यकर्मी आइतबार आइपुगेका छन् । स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक मानबहादुर नेपालीले सोमबारबाट उनीहरूले अस्पतालका बिरामीको सेवा गर्ने बताए ।

प्रकाशित : वैशाख २०, २०७८ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?