कोरोनाले प्रभावित श्रमिकलाई राहत दिन सरकारसँग दाहालको माग

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कोभिड–१९ को दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगारी गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवी वर्ग गम्भीर समस्यामा परेको भन्दै उनीहरुलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

कोरोनाले प्रभावित श्रमिकलाई राहत दिन सरकारसँग दाहालको माग

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै दाहालले समस्यामा परेका रोजगारविहीन श्रमिकहरुका लागि सहयोगी हात बढाउन पनि सबैसँग आग्रह गरेका छन् ।

‘कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगारी गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको छ । उनीहरुका लागि उचित राहतसहित खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न म सरकारसँग जोडदार माग गर्दछु’, दाहालको सन्देशमा छ, ‘साथै सबै राजनीतिक कायकर्ता र समाजसेवीहरुमा पनि खुला हृदयले समस्यामा परेका रोजगारविहीन ती श्रमिकहरुका लागि सहयोगी हात बढाउन अपिल गर्दछु ।’

सन्देशमा दाहालले श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि माथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको भन्दै प्रतिवादमा उत्रन पनि आह्वान गरेका छन् ।

‘श्रमजीवी वर्ग, राज्यको बहुआयामिक विकासका मुख्य आधार हुन् । श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव हुँदैन । यसैकारण संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिएको हो’, दाहालको सन्देशमा छ, ‘तर, श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको छ । पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत देखिएकाले प्राप्त उपलब्धिको रक्षाका लागि एकतावद्ध भएर प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो ।’

श्रमिकका समस्या सम्बोधन गर्न नेपालले गरे सरकारसँग माग

एमाले नेता माधवकुमार नेपालले कोरोना महामारीका कारण श्रमिकले भोग्दै आएका समस्या सम्बोधन गर्न सरकारको विशेष ध्यानाकर्षण गराएका छन् । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार उनले शुभकामना सन्देश जारी गर्दै श्रमजीवी तथा मजदुर वर्गले उठाउँदै आएका अन्य मागप्रति गम्भीर बन्न पनि सरकारसँग माग गरेका छन् ।

‘समाजवाद उन्मुख अर्थ व्यवस्थाको आधार श्रमिक वर्ग नै भएकाले सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा कायम हुनुपर्दछ । श्रमजीवी तथा मजदुर वर्गले उठाउँदै आएको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा तथा श्रम कानुनमा गरिएका व्यवस्थाको कार्यन्वयन जस्ता मागप्रति गम्भीर बन्न र कोरोना महामारीका कारण श्रमिकले भोग्दै आएका समस्या सम्बोधन गर्न सरकारको विशेष ध्यानाकर्षण गराउँछु’, नेपालको सन्देशमा छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न पनि नेपालले सरकारसँग आग्रह गरेका छन् । ‘हाल देशमा ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि विदेसिने क्रम बढिरहेको छ । स्वदेशमा रोजगारीको अवसर उपलब्ध गराइ उनीहरुको ज्ञान र सीप देश विकासमा लगाउन, वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाइ वैदेशिक रोजगारीमा जाने श्रमिकको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न पनि आग्रह गर्दछु’, उनको सन्देशमा छ । आफ्नो सन्देशमा नेता नेपालले नेपालको कम्युनिस्ट आन्दोलनको एकता र रक्षाका लागि नेपाली श्रमिक वर्ग एकजुट भएर अगाडि बढ्ने विश्वास पनि लिएका छन् ।

अबको विकल्प संयुक्त सरकार र जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवादी सत्ता : चन्दनेत्रविक्रम चन्द

नेतृत्वको नेकपाले अहिलेको संकट टार्न संयुक्त सरकार र जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवादी सत्ता विकल्प हुने बताएको छ । १३२ औँश्रमिक दिवसको अवसरमा महासचिव चन्दले वक्तव्य जारी गर्दै नेपालमा यसको उचित परिस्थिति बनेको दाबी गरेका छन् ।

‘नेपाल ऐतिहासिक रूपान्तरणको सम्भावनाबाट अघि बढिरहेको छ । यहाँको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था व्यवहारमा पनि असफल भइरहेको छ । तर यसले आफ्नो सङ्कट टार्न साम्राज्यवादी शक्तिहरूको निर्देशनमा अनेकौँ जालझेल गर्दैछ । नेपालकामजदुर, किसान र आमश्रमिकहरूले बुझ्नैपर्छ– आवश्यकताआमूल परिवर्तन र वैज्ञानिक समाजवादको छ’ चन्दको वक्तव्यमा छ, ‘यसका लागि हाम्रो पार्टीले संसदीय सरकारको ठाउँमा आम प्रगतिशील, वामपन्थी, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, कम्युनिस्टहरूको राजनीतिक समीक्षा सभा, प्रगतिशील संयुक्त सरकार र दलाल पुँजीवादी सत्ताको ठाउँमा जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवादी सत्ताको विकल्प पेस गरेको छ ।’

यसका लागि राजनीतिक परिवेश तयार भएको दाबी गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘ विश्वभर पैदा भएको पुँजीवादी सङ्कटले साबित गर्छ–मानवजातिको उन्नत जीवनका लागि वैज्ञानिक समाजवादबाहेक अर्को कुनै विकल्प छैन । नेपालमा यसको उचित परिस्थिति बनेको छ ।’ जीवन र समाजलाई परिवर्तन गर्ने जिम्मेवारी आउँदा मजदुरहरूले श्रमसँगै विद्रोह गर्ने र नयाँ समाजको निर्माण गर्ने अग्रगामी भूमिका पूरा गर्नुपर्ने चन्दको विज्ञप्तिमा छ । उनले नेकपाका श्रमिकवर्गको जीवन आधारभूत आवश्यकता गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारजस्ता समस्याहरूको चाङभित्र रहेको उल्लेख गरेका छन् । साथै चन्दले श्रमिकहरु पुँजीवादीहरूको असीमित शोषणमा रहेको उल्लेख गरेका छन् ।

मजदुरहरूमाथिका शोषणको अन्त्य गर्न मसालको माग

नेकपा मसालले मजदुरहरूमाथि भएका विभिन्न शोषणको अन्त्य गर्दै उनीहरुको समस्या सम्बोधनमा गम भीर बन्न सरकारसँग आग्रह गरेको छ । अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा पार्टी महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ती जारी गर्दै मजदुरहरुको जीवनको सुरक्षा, सुविधा र अन्य कानुनी हकको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन् ।

‘हामीले जोड दिन्छौँ कि, एकातिर, वैदेशिक रोजगारमा रहेका नेपाली मजदुरहरुमाथि अन्तर्राष्ट्रिय कानुनमा व्यवस्था भएका सुविधा अनुसार व्यवहार गरिनुपर्दछ । उनीहरुको जीवनको सुरक्षा, सुविधा र अन्य कानुनी हकको सुनिश्चितता हुनुपर्दछ’, सिहंको विज्ञप्तिमा लेखिएको छ, ‘अन्तराष्ट्रिय कानुनी व्यवस्था अनुसार आफ्ना नागरिकहरुको सुविधा र सुरक्षाको रेखदेखका लागि नेपाल सरकारले ध्यान पु¥याउनु पर्दछ । त्यसका साथै अर्कातिर, देशभित्रका मजदुरहरूमाथि भएका बिभिन्न शोषणको अन्त्य गर्दै जीविकाको सुनिश्चिता सहित उनीहरुका विभिन्न अधिकार, सुरक्षा र हितमाथि ध्यान दिनाका लागि पनि हामी सरकारको ध्यान आकर्षण गर्दछौँ ।’कोरोना भाइरस महामारीको घटनाले सबैभन्दा बढी मजदुरहरु प्रभावित भएको तथा उनीहरुको स्वास्थ्यसुविधा, रोजगार, अधिकार र अन्य सुविधामा अनेक कटौती भएकोमा मसालले चिन्ता व्यक्त गरेको छ । ‘कतिपयले जीवन गुमाएका छन् भने कतिपयले रोजगार गुमाएका छन् । त्यसरी विश्वका मजदुरमा विभिन्न समस्या उत्पन्न भएका छन् । अहिले उनीहरुको हकअधिकारको विषय पनि एउटा गम्भीर समस्याको रूपमा अगाडि आएको छ’, सिंहको विज्ञप्तिमा छ ।

विज्ञप्तिमा कोरोनाबाट पीडित मजदुरलाई सहयोग गर्न पनि माग गरिएको छ । ‘कोरोना कहरको विपत्ति सहँदै विदेश भूमिमा लाखौँ नेपालीहरु मजदुरको रुपमा कार्यरत छन् । विश्वमा आएको मजदुरसम्बन्धीको संकटबाट ती लाखौँ नेपाली मजदुर पनि प्रभावित प्रभावित भएका छन्’ विज्ञप्तिमा छ, ‘कतिपयले रोजगार गुमाएर स्वदेश फर्कनुपरेको छ भने कतिपय अवस्थाको जटिल बन्न गएको छ । त्यस प्रकारको समस्यामाथि ध्यान दिएर नेपालको सरकारले नेपालमा नै रोजगारी व्यवस्थापनको कार्यलाई सुनिश्चित र व्यवस्थित गर्नका लागि कुनै ठोस योजना र कार्यक्रम पनि अगाडि सारेको छैन।’

प्रकाशित : वैशाख १८, २०७८ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?