आईसीयू अभावमा छटपटिँदै मृत्यु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईसीयू अभावमा छटपटिँदै मृत्यु

सन्जु पौडेल, अमृता अनमोल, दुर्गालाल केसी, ठाकुरसिंह थारु, रुपा गहतराज

रुपन्देही, दाङ, बाँके — अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुष भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परे । निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याए ।

दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा शय्या अभाव भएपछि पेटीमा अक्सिजन जोडेर उपचार गरिँदै। तस्बिर सौजन्य : द्रोण वली

कोरोना पुष्टि भएपछि बेड पाएनन् । परिवारका सदस्यले काठमाडौं, चितवन, भैरहवाका अस्पतालमा फोन गरेर बेडको उपलब्धताबारे जानकारी लिए । कतै बेड खाली पाएनन् ।

संक्रमित बुबालाई लिएर छोरा घर फर्किए । अक्सिजन जोहो गरेर घरमै दिइयो । समस्या बल्झिएपछि सन्धिखर्क अस्पताल पुर्‍याइयो । त्यहाँ पुर्‍याएको दुई घण्टापछि उनको मृत्यु भयो ।

‘बेड हुन्थ्यो भने बचाउन सकिन्थ्यो कि ?’ मृतककी आफन्त अस्मिता भुसालले भनिन्, ‘उपचार नपाएरै बित्नु भो ।’ श्वासप्रश्वासमा समस्या भएपछि रूपन्देहीको बुटवल–११ का एक पुरुषलाई बुधबार साँझ लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइयो । चिकित्सकले संक्रमितका लागि तत्काल अक्सिजनसहित आईसीयू बेड चाहिने बताए । धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा बेड खाली थिएन । फिभर क्लिनिक पनि भरिएको थियो । २४ घण्टादेखि अस्पतालको आपत्कालीन कक्षमा बेडको प्रतीक्षा गरिरहेका ती ८३ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भयो । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले आपत्कालीन कक्षमा अक्सिजनको सहायतामा राखिए पनि उनको मृत्यु भएको बताए ।

गत आइतबार नवलपरासीको रामग्राम नगरपालिका–९ का ५० वर्षीय पुरुषको मृत्यु भयो । किरियामा बसेका छोरालाई पनि कोरोना देखिएपछि अक्सिजन दिएर उपचार थालियो । ‘स्वास्थ्यमा सुधार आएन,’ मृतककी बहिनी पिन्कु केवटले भनिन्, ‘त्यसपछि बुटवल, भैरहवा लैजान चिकित्सकले सुझाव दिए ।’ दुवै स्थानका अस्पतालमा बुझ्दा आईसीयू बेड अभाव रहेको जानकारीपछि चिकित्सकले रेफर गर्न मानेनन् ।

मंगलबार बिहान उनको मृत्यु भयो । आईसीयू बेड मिलाइदिन हारगुहार गरे पनि उपलब्ध नहुँदा तीन दिनको फरकमा कोरोनाबाट बुबा र दाइ गुमाउनुपरेको उनले बताइन् । अहिले केवट परिवारका पाँच जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू घरमै बसिरहेका छन् ।

गत मंगलबार आईसीयू बेड अभावमा रूपन्देहीको देवदह–६ की कोरोना संक्रमित ४९ वर्षीया महिलाले लुम्बिनी अस्पतालको फिभर क्लिनिकमा छटपटाएरै ज्यान गुमाइन् । ‘बिहान ९ बजे अस्पताल पुर्‍याएका थियौं,’ देवदह नगर प्रमुख हीराबहादुर खत्रीले भने, ‘प्रादेशिक अस्पताल, भीम अस्पताल, क्रिमसन, काठमाडौंको ग्रान्डी, ह्याम्सलगायत सबै अस्पतालमा आईसीयूको खोजी गर्‍यौं, बेड छैन भन्ने जवाफ आयो । फिभर क्लिनिकमै ज्यान गयो ।’

अर्घाखाँचीमा कोरोना अस्पताल नहुँदा रूपन्देहीको बुटवल र भैरहवा रिफर गर्नुपर्ने बाध्यता छ । रूपन्देहीका अस्पतालमा बेड अभाव छ । त्यसैले उपचार नपाएरै संक्रमित फर्किने गरेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेश पौडेलले बताए । ‘स्थानीय तहले निर्माण गरेका पाँच आइसोलेसन बेड प्रयोगविहीन छन्,’ उनले भने, ‘चिकित्सक माग गरिए पनि उपलब्ध नहुँदा समस्या परेको छ ।’ जिल्ला अस्पताल अर्घाखाँचीमा २ आइसोलेसन बेड छन् । तिनमा बाहेक सबै संक्रमित होम आइसोलेसनमा रहेको उनले बताए ।

होम आइसोलेसनमा रहेका संक्रमितलाई घाँटी खसखसाउने, जीउ गल्ने, ज्वरो आउने लक्षण देखिएको दाङको बेलझुन्डीस्थित कोरोना अस्पतालका चिकित्सक डा. कमल खड्काले बताए । ‘अस्पतालमा लक्षण देखिएका बिरामी आए पनि भर्ना गरेर राख्ने अवस्था छैन,’ उनले भने, ‘हाम्रो कोरोना अस्पतालका ४० बेड खचाखच छन् ।’ उनले अहिले नै पाँच संक्रमितलाई भुइँमा राखेर उपचार गरिरहेको बताए । पाँचवटा आईसीयूमा मेसिनबाट अक्सिजन दिइरहेको र एचडी बेडमा सिलिन्डर प्रयोग गरिरहेको बताए । चिकित्सकले भयावह अवस्था सिर्जना भएकाले तत्काल नयाँ अस्पताल निर्माण गर्नुपर्ने, स्थानीय तहले बनाएको आइसोलेसन सेन्टरमा चिकित्सकसहित अक्सिजनलगायत सुविधा उपलब्ध गराउनुपर्ने बताएका छन् । संघ, प्रदेश र स्थानीय सरकारले कोरोना उपचारमा हेलचेक्र्याइँ गरिरहे बिरामी मृत्युदर ह्वात्तै बढ्ने उनीहरूको भनाइ छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख डा. राजेन्द्र खनालले भौतिक पूर्वाधार र जनशक्ति अभावले बिरामीको बिजोग भएको बताए । ‘सरकारी सहयोग नाममात्रको छ । संघीय सरकारले प्रतिबिरामी उपचार खर्च पठाएको छैन,’ उनले भने । अस्पतालले धागो कारखानामा सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा १३ वटा आईसीयू बेड र दुईवटा भेन्टिलेटर छन् । ३६ बेडको आइसोलेसन छ । भीम अस्पतालमा २२ बेडको एचडीयू र पाँच बेडको आईसीयू कक्ष छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालयका कोभिड फोकल पर्सन कौशल भण्डारीका अनुसार लुम्बिनीमा वैशाख १६ गतेसम्म यहाँ रहेका ४ वटा कोरोना विशेष अस्पतालमा १ सय ९२, विभिन्न आइसोलेसन अस्पतालमा ३ सय ३४, आइसोलेसन सेन्टरमा ४ सय गरी ९ सय २६ बेडमा संक्रमितको उपचार भइरहेको छ ।

पेटीमै गयो ज्यान

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ रझेनाकी ६९ वर्षीया लक्ष्मी भण्डारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भयो । गाह्रो भएपछि बेलझुन्डीस्थित कोरोना विशेष अस्पताल पुर्‍याइयो । गेटसम्म पुर्‍याइँदा भित्र शय्या नभएको जानकारी गराइयो । दुई घण्टा कुर्दाकुर्दै बिहान ९ बजे उनको मृत्यु भयो । ‘समयमै उपचार पाए ज्यान बच्थ्यो,’ उनका छिमेकी वीरबल खड्काले भने, ‘समयमै अक्सिजन चढाउन सकिएन । अस्पतालको पेटीमै छटपटिएर ज्यान गयो ।’

शव व्यवस्थापन गर्न नेपाली सेना आउँछ भन्दै दिनभर उनको शव पेटीमै राखियो । ‘सीडीओलाई फोन गरेपछि बल्लबल्ल दिउँसो सवा ३ बजे सेना आइपुग्यो,’ खड्काले भने, ‘जिउँदो हुँदा मात्रै होइन, मृत्युपछि पनि सुख मिलेन । यसरी उपचार नपाएर ज्यान जानु जस्तो विडम्बना अरू के हुन सक्छ ?’ हालसम्म कोरोना अस्पताल पुगेका भण्डारीसहित १३ जनाको ज्यान गइसकेको छ । ३५ शय्या क्षमता भएको अस्पतालमा ४३ बिरामी छन् । तीमध्ये अन्यलाई बल्लबल्ल शय्या मिलाइएको र ६ जनालाई बाहिरै पेटीमा अक्सिजन जोडेर राख्नुपरेको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । ‘मान्छे अन्तिम अवस्थामा क्यापक्याप गर्दै अस्पताल आइपुग्छन् । यहाँ बेड नै छैन । कसरी राख्नु ?’ वलीले भने, ‘बिरामीको अवस्था देखेर मनले नमानेपछि केहीलाई पेटीमै अक्सिजन जोडेर राखेका छौं ।’

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबारको बैठकले कोरोना अस्पतालमा शय्या बढाएर ६५ वटा बनाउने निर्णय गरे पनि अहिलेसम्म विस्तार हुन सकेको छैन । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एक सय शय्या बनाउने निर्णय भएको थियो । स्थानीय तहमा पनि आइसोलेसन सेन्टर बनाउने निर्णय भएर तयारी थालिएको छ तर अक्सिजन नभएका कारण अन्य ठाउँका आइसोलेसन सेन्टर सञ्चालनमा आउन सकेका छैनन् ।

अस्पतालमा ‘निषेध’

ज्वरोले ओछ्यानमा ढलेका उनका श्रीमान् तीन दिनपछि निको भए । श्रीमान्को सेवामा जुटेकी उनी ज्वरोले थलिइन् । त्यही बेला अस्पतालका बेड संक्रमितले भरिएको र नयाँ बिरामी भर्ना बन्द गरेको खबर सुनिन् । श्रीमान्लाई सन्चो भएकाले नेपालगन्ज–४ की ५० वर्षीया महिला निको हुने विश्वासमा थिइन् । उनी स्वास्थ्य मापदण्ड अपनाउँदै घरमै बसिन् । पीसीआर परीक्षण गर्न दबाब दिँदा अटेर गरिन् । गत मंगलबार उनको होम आइसोलेसनमा मृत्यु भयो । ‘हल्का प्रेसर थियो, डरले आत्तिएर मृत्यु भयो,’ मृतकका ज्वाइँ ईश्वर खड्काले भने, ‘ज्वरोलाई सामान्य ठानियो । उपचार नगराउँदा ज्यानै गयो ।’

कोरोनासित मेल खाने लक्षण देखिएर कोहलपुरका भूपेन्द्र खड्का परीक्षणका लागि शिक्षण अस्पताल पुगे । कर्मचारीले गेटभित्र छिर्न दिएनन् । त्यस्तो व्यवहारले हतोत्साहित भए । ‘कोरोना पुष्टि भइसकेको भए कस्तो व्यवहार हुन्थ्यो कुन्नि,’ उनले भने, ‘कोरोनाका बिरामीका लागि बेड छैन । अस्पतालले भर्ना लिन छाडेपछि समस्या भएको छ ।’ कोरोनाको लक्षण देखिएर अस्पतालमा भर्ना नलिने र अस्पतालमा उपचारका लागि नजाने प्रवृत्तिले मृतकको संख्या बढेको छ ।

उनी मात्र होइन, सामान्य रुघाखोकी लागेपछि उपचारलाई बेवास्ता गर्दा दाङकी २० वर्षीया स्टाफ नर्सले भेरी अस्पतालमा ज्यान गुमाइन् । कोरोनाका लक्षण देखिँदा पनि ढिलो पीसीआर परीक्षण गर्दा उपचारका क्रममा उनको मृत्यु भएको थियो । उनकी आमालाई संक्रमण देखिएपछि भेरी अस्पतालमा उपचार भइरहेको छ । मृतकका बुबा सन्तोष वलीमा पनि कोरोना पोजिटिभ देखिएको छ । आफू संक्रमित भएको भन्दा श्रीमती संक्रमित भएपछि उनलाई बढी पीडा छ । ‘छोरीलाई कोरोनाले खोस्यो । श्रीमती पनि पोजिटिभ छन्,’ उनले भने, ‘अब त बाँच्नु र मर्नुमा के फकर रह्यो ? म आफैं पोजिटिभ छु ।’

गत शनिबार कोहलपुर नगरपालिका–९ झन्डहवाका ६० वर्षीय कोभिड संक्रमित पुरुषले घरमै आत्महत्या गरे । सुरुमा सामान्य उपचारका लागि मेडिकल कलेज कोहलपुर पुगेका उनलाई अस्पतालले उपचार गर्न मानेन । पीसीआर रिपोर्ट ल्याएमात्र उपचार गर्ने भनेपछि उनले कोरोना जाँच गरेर घर फर्के । कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि उनी अस्पतालमा बस्न चाहेनन् । घरमा अवस्था सुधार नभए पनि उनले परिवारसँग केही भनेनन् । ‘के समस्या थियो भन्ने नै थाहा भएन । अस्पतालले पनि पहिला उपचार गर्न मानेन,’ मृतकका छोरा टेकमान केसीले भने, ‘उपचार गरेको भए समस्या त थाहा पाउँथ्यौं । उपचार गर्न सकिन्थ्यो ।’

घरकै फ्यानमा डोरी बाँधेर झुन्डिएका उनलाई परिवारले निकालेर राख्दासम्म होसमा थिए । ‘एम्बुलेन्स बोलाइयो । समयमा आएन,’ माइला छोरा नेटबहादुर केसीले भने, ‘बोलाएको २ घण्टामा एम्बुलेन्स पुग्दै थियो, बुबाको सास गएपछि बाटोबाट एम्बुलेन्स फर्काइदियौं ।’ भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापाले क्रिटिकल अवस्था भएपछि मात्र अस्पताल आउने कारणले मृत्युदर बढ्दै गएको बताए । ‘अवस्था क्रिटिकल भएकालाई फर्काउने अवस्था कमै रहन्छ,’ उनले भने ।

प्रकाशित : वैशाख १८, २०७८ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्

थेग्नै नसक्ने स्थितिमा पुग्यौं : सरकार

स्वास्थ्य मन्त्रालयले भन्यो– ‘अब संक्रमितलाई अस्पतालमा बेड छैन’
विज्ञहरुको सुझाव– ‘संक्रमण नै घटाउनुको विकल्प छैन’
स्वरूप आचार्य

काठमाडौँ — वीर अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गर्ने क्रममा बिहीबार रेनुका केसी आचार्यलाई कोरोना संक्रमण रहेको पत्ता लाग्यो । शल्यक्रियालगत्तै उनलाई कोभिड वार्डमा भर्ना गरियो । तर २४ घण्टा बित्दा पनि कुनै चिकित्सकले खोजखबर गरेनन् ।

दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत बिरामीहरु । तस्बिर : कान्तिपुर

आचार्यसँगै सो वार्डमा अन्य २५ जना कोरोना संक्रमित छन् । ती सबैका आफन्तको एउटै गुनासो छ– ‘चिकित्सक छन्, नर्स पनि छन् तर संक्रमितलाई छुन मानिरहेका छैनन् ।’

वीरमा मात्रै होइन, काठमाडौं उपत्यकाका प्रायः सबै कोभिड अस्पतालमा अहिले कोरोना संक्रमितको चाप थेगिनसक्नु छ । आफन्तको आकांक्षा पूरा गर्न चिकित्सकलाई हम्मे परिरहेको छ । सरकारी अस्पताल होस् वा निजी, सबैले आफ्नो क्षमताभन्दा माथि नै कोरोना संक्रमितको उपचार गरिरहेका छन् । काठमाडौंमा कोरोना संक्रमितलाई बेड मात्र नभई केहीथरी औषधिको पनि संकट पर्ने देखिएको छ । यही अनुपातमा संक्रमितको संख्या बढ्दै गए उपत्यकाका जेनेरल अस्पतालले कोरोना संक्रमितका लागि सबै बेड छुट्याए पनि धान्न कठिन पर्ने भएको छ ।

कोभिड–१९ को संक्रमण उच्च गतिमा फैलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ । यो भनाइबाट सरकारले महामारी नियन्त्रणमा हात उठाएको हो ? भन्ने प्रश्न उठेको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक अपिल जारी गर्दै काठमाडौं उपत्यकासहित २२ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भएकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको जनाएको हो । शुक्रबार मात्रै मुलुकभर ५ हजार ७ सय २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ हजारभन्दा बढी काठमाडौं उपत्यकामा छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको अपिलमा संक्रमण रोकथामका लागि सबैलाई जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । कुनै पनि मार्गबाट देशविदेश जानेआउने वा आन्तरिक/बाह्य पर्यटनका लागि कहींकतै जाने काम पूर्ण रूपमा नगर्न/नगराउन पनि अपिल गरिएको छ । सार्वजनिक स्थलमा नजान र भीडभाड नगर्न पनि भनिएको छ । ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबै जना संवेदनशील बनिदिनुहुन अनुरोध छ,’ अपिलमा भनिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयले जारी गरेका निर्देशन तथा आदेशको पालना सर्वसाधारणले नगरेकै कारण यो अवस्था आएको बताए । ‘यो अवस्था आयो भन्नु हाम्रो बाध्यता हो । हामीसँग अब धेरै विकल्प बाँकी छैन,’ उनले भने । ‘अब पनि लकडाउन र जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने हो भने झनै भयावह अवस्था आउन सक्छ,’ उनले भने ।

जनस्वास्थ्यविद् डा. दिनेश न्यौपानेका अनुसार सरकारले आजभन्दा पनि भोलिको अवस्थालाई ख्याल गरेर स्वास्थ्य संयन्त्रले धान्न नसक्ने अवस्था आयो भनेको हुन सक्छ । ‘संक्रमण घटेन भने अस्पतालको क्षमता जति नै बढाए पनि त्यसले धान्न सक्दैन,’ उनले भने, ‘हाम्रो देशमा अस्पतालको क्षमता त्यसै पनि सानो छ । त्यसमा पनि दिनमा ३/४ सय बिरामी भर्ना गरेर उपचार गर्नुपर्‍यो भने सकिँदैन । हामी सर्वसाधारणले त्यो कुरा बुझेर सरकारलाई सहयोग गर्नुपर्छ ।’

डा. न्यौपानेका अनुसार सबै राजनीतिक दलले पनि सत्ताको खिचातानीलाई केही समय धकेलेर सरकारलाई कोरोना संक्रमण रोकथाममा मात्रै केन्द्रित हुने वातावरण मिलाइदिनुपर्छ । ‘सरकारले हामीले नसक्ने अवस्था आयो भनेर अहिले नै साँचो बोल्नु सकारात्मक हो । तर अब के गर्ने भनेर निर्णय पनि सरकारले नै गर्ने हो नि,’ उनले भने, ‘त्यसैले सरकारले अब उपचारका साथसाथै संक्रमण रोक्नतर्फ ध्यान दिनुपर्छ ।’

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार कोरोना संक्रमितको उपचार गर्न भनेर छुट्याइएका बेड मात्रै अहिले भरिएका छन् । ‘सरकारले कोरोना संक्रमितका लागि छुट्याइएका बेड भरिए भनेको हो जस्तो लाग्छ,’ उनले भने, ‘तर हामीले सरकारको कुनै पनि निर्देशनलाई पालना नगर्ने हो भने जति नै बेड छुट्याए पनि थोरै हुन्छ ।’ सरकारले जारी गरेका निर्देशन सर्वसाधारणले विभिन्न बहानामा उल्लंघन गर्ने परिपाटी बढेकाले यो समस्या देखिएको उनले बताए ।

‘सरकारले संक्रमणको चेनलाई ब्रेक गर्न लकडाउन गरेको छ । तर हामीलाई भोज, जात्रा, सम्मेलन गर्नै परेको छ,’ उनले भने, ‘सरकारले अत्यावश्यक सेवाका लागि पास दिने भनेको छ । पास लिने लाइनमा सबैभन्दा धेरै बिनाकाम रवाफ देखाउन निस्कनेको भीड छ ।’ ह्याम्स अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले चरम विन्दुमा पुगेर सेवा दिइरहेको बताए । उनका अनुसार सय बेडको स्वीकृति लिएको अस्पतालले ८१ बेड कोरोना संक्रमितका लागि उपलब्ध गराएको छ । ‘हामीले २१ बेड आईसीयू र अन्य ६० बेड कोरोना संक्रमितलाई मात्रै राखेका छौं,’ उनले भने, ‘सबै बेडमा संक्रमित राख्न पनि भएन । हरेक दिन बिरामी भर्ना गरिदिनुपर्‍यो भनेर दर्जनौं मानिसले फोन गर्नुहुन्छ । हामी निकै प्रेसरमा काम गरिरहेका छौं ।’

पाटन अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका डा. विमल पाण्डेले अस्पतालले बेड थप्दै लगे पनि कम नै हुने देखिएको बताए । ‘हामीकहाँ अहिले ९ बेडको इमर्जेन्सीमा २१ जना बिरामी अक्सिजन लगाएर कहिले बेड पाइन्छ भनेर कुरिरहेका छन्,’ उनले भने, ‘पहिलो लहरमा अस्पताल आउनेमा बूढापाका र दीर्घरोगीको संख्या धेरै थियो । अहिले त युवा नै हाइपोक्सिया (रगतमा अक्सिजनको कमी) भएर धेरै आउँछन् । त्यो देखेर हामीलाई नै डर लाग्छ ।’

पाण्डेका अनुसार पाटनमा उपचारका लागि आएका संक्रमितमध्ये खोप लगाएकाहरूको संख्या भने निकै थोरै छ । ‘एक डोज मात्रै खोप लगाएकाहरू हाइपोक्सिया नै भयो भनेर आएको खासै थाहा छैन,’ उनले भने, ‘दुई डोज लगाएका केही हाम्रै साथी पनि संक्रमित हुनुभएको छ । तर उहाँहरूको स्वास्थ्य ठीक छ । त्यसले खोप लगाएकाहरू केही हदसम्म भए पनि सुरक्षित छन् भन्ने आशा जगाएको छ ।’ उनले बेडसँगै जनशक्तिको समस्या पनि रहेको बताए । ‘बेड र अक्सिजनको जोहो होला तर रातारात उपचारमा संलग्न हुनुपर्ने चिकित्सक र नर्स कहाँबाट ल्याउने ? त्यसैले संक्रमण नियन्त्रण नै पहिलो कुरा हो,’ उनले भने ।

सरकारले सबै सरकारी अस्पताललाई कुल बेड संख्याको ५० प्रतिशत कोरोना संक्रमितको उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । सरकारले निर्देशन दिएको एक साताभन्दा बढी भइसक्दा पनि सबै अस्पतालले सो अनुरूप तयारी गर्न सकेका छैनन् । सरकारले गत वर्ष नै ३ हजार एचडीयू बेड थप्ने भनेकामा अहिले लगभग ८ सय मात्रै तयार छन् । स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि सतर्कता अपनाउन आग्रह गरेको थियो । तर त्यसलाई कसैले गम्भीर रूपमा लिएनन् ।

‘स्वास्थ्य मन्त्रालयले कोरोना महामारीका बेला जात्रा नगरौं, सम्मेलन नगरौं, भीडभाड नगरौं भनेकै हो तर कसैले सुनेनन् । त्यो भन्दैमा मन्त्रालय आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’ उनका अनुसार स्वास्थ्य मन्त्रालयले निर्देशन जारी गरे पनि त्यसको पालना भए/नभएकोतर्फ ध्यान दिएन । ‘मन्त्रालयमा छलफल हुँदा हामीले अक्सिजनको जोहो गरौं, औषधि स्टक राखौं भनेकै हो,’ उनले भने, ‘तर सेरोप्रिभेलेन्समा राम्रो अवस्था देखिएको छ, धेरै आत्तिनुपर्दैन भनेर उहाँहरूले नै हामीलाई चुप लगाएको हो ।’

प्रकाशित : वैशाख १८, २०७८ ०६:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×