२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

कोरोना नियन्त्रणका लागि सरकारसामू देउवाका ११ माग, ४ प्रतिबद्धता

काठमाडौँ — कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्नका लागि केपी शर्मा ‌ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकाल्दै प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवाले ११ बुँदे माग राखेका छन् ।

कोरोना नियन्त्रणका लागि सरकारसामू देउवाका ११ माग, ४ प्रतिबद्धता

कोरोना भाइरस संक्रमण नियन्त्रणका सम्बन्धमा आफ्नै निवास बुढानिलकण्ठमा शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वप्रधानमन्त्री देउवाले ११ बुँदे माग राखेका हुन् । सरकारले कोरोना नियन्त्रणका क्रममा विगतमा गरेका गल्तीबाट पाठ नसिकेको एवं कांग्रेस लगायतका पार्टी र अन्य सरोकारवालाले दिएका सल्लाह र सुझाव पनि नमानेको भन्दै देउवाले ११ बुँदै माग अगाडि सारेका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि काम गर्नुपर्ने बेलामा प्रधानमन्त्री ओलीले काम पूरा नभएका योजना उद्घाटन गर्ने तथा तय नै नभएका योजना शिलान्यास गर्नका लागि भीड जम्मा गरेको आरोप देउवाले लगाएका छन् । यस्ता आरोप लगाएका देउवाले भनेका छन्, 'कोभिड—१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाई लकडाउनको समयलाई पूर्ण रूपमा सदुपयोग गरी तत्काल निम्न काम गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।'

कोरोना भाइरस संक्रमण नियन्त्रण, संक्रमितको उपचार तथा स्वास्थ्य व्यवस्थाबारे सरकारसामू देउवाले राखेका ११ माग :

  • कोभिड–१९ संक्रमितहरूको उपचारका लागि अत्यावश्यक अक्सिजन र भेन्टिलेटरको यथेस्ट आपूर्ति तत्काल सुनिश्चित गरियोस् ।
  • कोभिड—१९ संक्रमितहरूलाई आवश्यक अस्पताल बेड, आइसीयू बेड लगायतका स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधी र अन्य आवश्यक स्वास्थ्य सामाग्रीहरूको तत्काल समुचित व्यवस्था गरियोस् ।
  • देशका सम्पूर्ण जिल्लाहरूमा कन्ट्याक ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरूको पीसीआर परीक्षणलाई व्यापक गरियोस् ।
  • सीमा नाकाहरूमा अनिवार्य पीसिआर परीक्षण र परीक्षणको नतिजा नआउन्जेल होल्डिङ केन्द्रहरूमा राख्ने व्यवस्था गरियोस् । परीक्षणमा संक्रमित देखिएकाहरूलाई स्थानीय निकायहरूको समन्वयमा आइसोलेसन केन्द्रहरूको व्यवस्था गरी राखियोस् ।
  • स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीहरूलाई बीमा र जोखिम भत्ता तत्काल कार्यान्वयन गरियोस् । बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्तिको अभाव देखिएकाले अस्पतालहरूमा थप स्वास्थ्य जनशक्तिको व्यवस्था गरियोस् ।
  • पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारको गैर जिम्मेवारीपूर्ण रवैयाको भत्र्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न फेरि माग गर्दछौं ।
  • खोप आपूर्ति लगायत अत्यावश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति सुनिश्चित गर्न प्रभावकारी कुटनीतिक पहल गरियोस् ।
  • लकडाउनका समयमा पनि किसानका कृषि उपज तथा अन्य उपभोग्य वस्तुहरूको आपूर्ति र आवत—जावतलाई सहज गरियोस् ।
  • विदेशमा जानेहरूलाई आवश्यक पीसीआर परीक्षण गर्ने अस्पतालहरूको संख्या बढाइयोस् ।
  • लकडाउनका कारण आर्थिक सामाजिक मारमा परेका आम नागरिक, श्रमिक र साना व्यवसायीहरूलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याइयोस् ।
  • मास्क अनिवार्य लगाउने, साबुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा मापदण्डहरूलाई कडाइका साथ लागू गर्न अनुगमन संयन्त्र मजबुद गरियोस् ।

यी मागहरूका साथै कोरोना नियन्त्रणमा पार्टीले खेल्ने भूमिकाबारे पनि देउवाले प्रतिबद्धता जाहेर गरेका छन् । सबैलाई कोरोनाबाट जोगिनका लागि जारी गरिएका स्वास्थ्य मापदण्ड पालना गर्न आह्वान गर्दै उनले भनेका छन्, 'नेपाली कांग्रेस कोभिड—१९ संक्रमणलाई रोकथाम गर्न, संक्रमितहरूलाई उपचार पहुँचमा सघाउन तथा राहत कार्य गर्न निम्न लिखित काम गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।'

  • अनिवार्य मास्क लगाउने, साबुन पानीले हात धुने, भौतिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न नेपाली कांग्रेसका केन्द्र देखि स्थानीय तहसम्मका सबै संरचनाहरूलाई देशभरि सचेतना अभियान संचालन गर्न क्रियाशील गराइनेछ ।
  • कोभिड— १९ बाट संक्रमित भई उपचारको पहुँचमा पुग्न समस्यामा परेकाहरूलाई हरसम्भव सहयोग गर्न पनि पार्टी संरचनाहरूलाई सक्रिय गराइनेछ ।
  • लकडाउनका कारण आर्थिक सामाजिक समस्या परेकाहरूलाई गत समयमा जस्तै सहयोग अभियान चलाउन नेपाली कांग्रेस क्रियाशील हुनेछ ।
  • यसअघि नै नेपाली कांग्रेसले विकसित मित्र राष्ट्रहरूलाई आफ्नो अग्रीम बुकिङ गरेको खोप संख्याबाट आवश्यक नभएको खोप नेपाल जस्ता देशहरूलाई उपलब्ध गराउन अनुरोध गरेको थियो । यसै बीच संयुक्त राज्य अमेरिकाले खोप सहयोग गर्ने निर्णय गरेको छ । यस निर्णयको स्वागत गर्दै अन्य विकसित मित्र राष्ट्रहरूलाई पनि खोप सहयोग पुर्‍याउन अनुरोध गर्दछौं ।

प्रकाशित : वैशाख १७, २०७८ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?