नेपालगन्जका घरघरमा संक्रमित

परीक्षण गरिएकामध्ये ८० प्रतिशतसम्म संक्रमण पुष्टि, निको हुने दर घटेकोमा चिन्ता, २०–४० वर्षका सबैभन्दा प्रभावित

बाँके, रुपन्देही — कोरोना संक्रमणको दोस्रो लहरले बाँकेको नेपालगन्जलाई चपेटामा पारेको छ । सीमावर्ती सहरका घरघरमै संक्रमित बढिरहेका छन् । प्रत्येक दिन परीक्षण गरिएका स्वाबका नमुनामध्ये ८० प्रतिशतसम्ममा संक्रमण पुष्टि भइरहेको हो । 

नेपालगन्जका घरघरमा संक्रमित

दिनहुँ ठूलो संख्यामा संक्रमित थपिन थालेपछि यहाँका सरकारी र निजी अस्पतालले बिरामीको चाप थेग्न सकेका छैनन् । अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । यहाँस्थित प्रयोगशालाका अनुसार संक्रमितमध्ये धेरै सहरकै छन् । नेपालगन्ज उपमहानगरका भृकुटीनगर, कोरियनपुर र कारकाँदोका घरघरमै संक्रमित छन् । यी प्रमुख आवास क्षेत्र हुन् । यहीँ बसोबास गरिरहेका व्यक्ति संक्रमणको सिकार हुन थालेपछि स्थानीयमा त्रास बढेको छ । स्थानीयले संक्रमण ‘भुसको आगो’ झैं फैलिरहेको बताएका छन् ।

संक्रमितको सम्पर्कमा आएका र कोरोनासँग मेल खाने लक्षण देखिएपछि बिहीबार भेरी अस्पतालको प्रयोगशालामा २ सय ८८ जनाको स्वाब परीक्षण गरिएको थियो । तीमध्ये २ सय १४ जनामा संक्रमण देखियो । बिहीबार परीक्षण गरिएकामध्ये साढे ७४ प्रतिशतमा संक्रमण देखिएको हो । नयाँ संक्रमितमध्ये १ सय ३२ पुरुष र ८२ महिला छन् । १ सय ९२ जना नेपालगन्ज उपमहानगरका मात्रै छन् । प्रयोगशालाका अनुसार अधिकांश संक्रमित नेपालगन्ज–१० भृकुटीनगर, नेपालगन्ज–१२ कोरियनपुर र नेपालगन्ज–१८ कारकाँदोका छन् । बर्दियाका १२ र सुर्खेतका ३ जना छन् । संक्रमितमध्ये २० देखि ५० वर्ष उमेर समूहका १ सय ३७ जना छन्, जुन कुल पहिचान भएको संख्याको ६४ प्रतिशत हो ।

गत वैशाख १३ गते ३६ घण्टामा २ सय ८८ नमुनाको परीक्षण गर्दा २ सय ३३ जनामा संक्रमण पुष्टि भएको थियो । परीक्षण गरिएकामध्ये करिब ८१ प्रतिशतमा संक्रमण देखिएको हो । तीमध्ये १ सय ३९ जना पुरुष र ९४ जना महिला थिए । संक्रमितमध्ये बाँकेका मात्रै २ सय ८ जना थिए । तिनमा १ सय ८२ जना नेपालगन्ज उपमहानगरका थिए । बर्दियाका १३, कैलालीका २, दाङका २ र अन्य जिल्लाका ८ जना थिए । कुल संक्रमितमध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहका १ सय ७४ जना छन् । जुन कुल संख्याको ७५ प्रतिशत हो । गत वैशाख १२ गते ४ सय ७६ नमुना संकलन गरिएकामा ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये नेपालगन्जका २ सय ३६, कोहलपुरका २५ जना थिए भने बर्दियाको बारबर्दियाका २१ जनामा संक्रमण देखिएको थियो । उमेर समूहमा २० देखि ४० वर्षका सबैभन्दा प्रभावित देखिन्छन् । २० वर्षभन्दा कम उमेर समूहका ५२ जनामा संक्रमण भेटिएको अस्पतालले जनाएको छ ।

यो तथ्यांकले नेपालगन्जका घरघरमा कोरोना संक्रमण भेटिएको सहजै अनुमान गर्न सकिन्छ । लक्षण देखिएकाको मात्रै परीक्षण गर्दा पनि ठूलो संख्यामा संक्रमण पुष्टि हुन थालेको प्रयोगशालाले जनाएको छ । ‘पछिल्लो दुई सातामा बाँकेमा ३ हजार १ सय ७४ जना सक्रिय संक्रमित छन् । तीमध्ये २ हजार ५ सयभन्दा बढी नेपालगन्जका छन्,’ नेपालगन्ज उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले भने, ‘नेपालगन्जका घरघरमा कोरोनाका बिरामी हुन सक्छन् । परीक्षण नगरिएको मात्रै हो ।’

गत वैशाख ११ गते २४ घण्टामा २ सय ८८ नमुना संकलन गरिएकामा २ सय ४ जनामा संक्रमण पुष्टि भएको थियो । तिनमा बाँकेका १ सय ६१, बर्दियाका १२ र अरू बाँकी जिल्लाका रहेका थिए । त्यस्तै, वैशाख १० गते शुक्रबार २४ घण्टामा भेरीमा २ सय ६९ नमुना परीक्षण गरिएकामा २ सय ५० जनामा संक्रमण भेटिएको थियो । तीमध्ये बाँकेका २ सय ३ जना रहेका थिए । बर्दियाका २२ र बाँकी अन्य जिल्लाका थिए । ‘परीक्षणको दायरा बढाउने हो भने अझै पनि संक्रमितको संख्या बढ्न सक्छ,’ उपमहानगरका स्वास्थ्य शाखा प्रमुख चन्दले भने ।

संक्रमण घरघरसम्म पुग्नुको प्रमुख कारण भने लापरबाही भएको चिकित्सक र सरोकारवालाले बताएका छन् । सरकारले गत वर्ष समुदायमा संक्रमण फैलिएका बेला पीसीआर परीक्षण बन्द गरेको थियो । परीक्षण रोकिएपछि नेपालगन्जमा कोरोना संक्रमितको संख्यामा कमी आएको थियो । त्यसले संक्रमण नियन्त्रणमा आएको भ्रम सर्वसाधारणलाई भयो । स्थानीय प्रशासनले पनि भेरी अस्पतालको कोभिड वार्डमा आठ जना मात्रै कोरोनाका बिरामी रहेको र केही दिनमै घर फर्किने जनाएको थियो । कोरोना नियन्त्रणमा आएको भन्दै सावधानी अपनाउन छाडिएको थियो । तर पछिल्लो समय लक्षणसहितका बिरामी अस्पताल भर्ना हुन थालेपछि परीक्षण फेरि सुरु गरिएको हो । परीक्षणपछि यहाँको अवस्था भयावह देखिएको छ । भेरी अस्पतालले जटिल अवस्थाका बिरामीबाहेक भर्ना बन्द गरेको छ ।

दुई सय संक्रमितको उपचार क्षमता भएको भेरीमा मात्रै बिहीबार २ सय १४ जना कोरोनाका बिरामी भर्ना छन् । ‘हामीले कोरोनाको महामारीबारे बारम्बार सचेत गराइरहँदा पनि लापरबाही भयो, जसका कारण समुदायमा कोरोना फैलिसक्यो,’ भेरी अस्पतालमा कोरोना उपचारमा संलग्न फिजिसियन डा. राजन पाण्डेले भने, ‘अहिलेको अवस्था हेर्दा कोरोना संक्रमण नियन्त्रणबाहिर गइसकेजस्तो देखिन्छ ।’

उनका अनुसार बाँकेमा गत वर्षको भन्दा कोरोनाको फरक भेरियन्ट रहेको देखिएको छ । ‘कोरोनाको दोस्रो लहर चलेको दुई साता भयो, यसपटक जटिल खाले बिरामी बढी देखिन थालेपछि ठीक हुनेको संख्या पनि पहिलेभन्दा कम भएको छ,’ उनले भने, ‘क्रिटिकल बिरामीलाई ठीक हुन समय लाग्छ तर यति नै प्रतिशत हो भन्ने एनालाइसिस गर्न भ्याएका छैनौं ।’

चिकित्सकहरूका अनुसार नेपालगन्जमा बढी परीक्षण गरिएको संक्रमणको दर धेरै देखिएको छ । अन्य पालिकाहरूमा कोरोनाको परीक्षण र कन्ट्याक्ट ट्रेसिङ नगरिएका कारण संक्रमित कम देखिएका हुन् । जिल्लाभरि परीक्षण गर्ने हो भने कोरोना संक्रमितको संख्या थेग्नै नसक्ने देखिने चिकित्सकले बताए । भेरी अस्पतालका चिकित्सकका अनुसार बाँकेमा भारतबाट फर्किएकाभन्दा बढी यहीँ बसोबास भएका व्यक्तिमा संक्रमण देखिएको छ ।

नेपालगन्जको जमुनाह नाकास्थित इलाका प्रहरी कार्यालयका प्रमुख असई विष्णु गिरीले वैशाखयता करिब ४ हजार नेपाली भारतबाट फर्किएका छन् । तीमध्ये ७७ जनामा कोरोना देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार एक वर्षको अवधिमा बाँकेमा ८ हजार १ सय १३ जना संक्रमित भइसकेका छन् ।

सहरी क्षेत्रमा बढी

रूपन्देहीको तिलोत्तमा–६ का ७४ वर्षीय पुरुषलाई एक सातादेखि ज्वरो आउने, खोकी लाग्ने भइरहेको थियो । उनले मौसमी फ्लु ठानेर वास्ता गरेनन् । बिस्तारै खोकी लाग्न थाल्यो । खोकी बढ्दै गएपछि गत बुधबार पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । जटिल स्वास्थ्य समस्या केही नभए पनि खोकी लागिरहेको परिवारका एक सदस्यले बताए । ‘घरबाहिर काम गर्ने भएकाले नियमित मानिसको सम्पर्कमा रहनु हुन्थ्यो,’ उनले भने, ‘कोरोनाले छोएछ ।’

आफूहरूले घरमै सक्दो हेरचाह गरिरहेको र श्वासप्रश्वासमा समस्या नभएकाले नआत्तिएको उनले बताए । तिलोत्तमाकै ३४ वर्षीय पुरुष कोरोना संक्रमण पुष्टि भएपछि आत्तिएका छन् । ‘पहिले अरूलाई हुँदा जोगिएँ भन्ने लागेको थियो,’ उनले भने, ‘अहिले आफैं संक्रमित भएँ ।’ रोजगारीका सिलसिलामा धेरै जनासँग सम्पर्कमा रहेकाले संक्रमण भएको हुन सक्ने उनले बताए । होम आइसोलेसनमा रहेका उनलाई धेरै स्वास्थ्य समस्या देखिएको छैन । ‘तर डर लागिरहेको छ,’ उनले भने ।

स्वाबको नमुना परीक्षण नगरुन्जेल परिवारको नियमित सम्पर्कमै रहेको उनले बताए । उनी संक्रमित भएपछि परिवारका सदस्यमा त्रास देखिएको छ । आफूहरूमा लक्षण नदेखिएकाले जाँच नगरेको परिवारका एक सदस्यले बताए । तिलोत्तमा नगरपालिकाका २ र ३ नम्बर वडामा सक्रिय संक्रमितको संख्या धेरै रहेको स्वास्थ्य शाखाले जनाएको छ । पहिलेको भाइरस मान्छेको थुकका छिटा परेपछि सर्ने गरे पनि यसपटक कसैले खोकेर गएको ४ घण्टासम्म भाइरस सक्रिय रहने भएकाले संक्रमणको सम्भावना बढी रहेको तिलोत्तमाका कोरोना फोकल पर्सन केशव भट्टराईले बताए । किनमेल, व्यवसाय, यात्राका क्रममा संक्रमण फैलिएको आकलन गरेको उनले बताए । ‘यसपटक दोस्रो भेरियन्ट नै भएको बुझिएको छ,’ उनले भने ।

तिलोत्तमा नगरपालिकामा बिहीबार १ सय ८८ संक्रिय संक्रमित फेला परेका थिए । नगरमा अहिलेसम्म कुल २ हजार २ सय ७९ संक्रमित छन् । तीमध्ये ५ सय ७८ सक्रिय संक्रमित छन् । तिलोत्तमामा बिहीबारसम्म ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । घना र ठूलो सहर बुटवल उपमहानगरपालिका–८ का ६३ वर्षीय पुरुषमा संक्रमण देखापरेको पाँच दिन भयो । उनीसँगै दुई छोरा पनि संक्रमित छन् । होम आइसोलेसनमा बसिरहेका उनलाई ज्यान दुख्ने गरेको छ । जेठा छोरालाई खोकी लाग्ने र कान्छालाई ज्वरो आइरहेको छ । ‘कसरी लाग्यो भन्ने थाहा नै भएन,’ उनले भने, ‘घरमै बसेर हेरचाह गरिरहेका छौं ।’

अस्पताल जान परे पनि बेड नपाइने अवस्था रहेकाले कसरी हुन्छ मनोबल उँचो राख्ने र पोषिलो खानेकुरा खाइरहेको उनले बताए । उपमहानगरपालिकामा अहिलेसम्म ४ हजार ९ सय ४१ संक्रमित छन् । तीमध्ये १ हजार १ सय ३७ सक्रिय संक्रमित हेका छन् । बुटवल–८ मा अन्य वडामा भन्दा संक्रमितको संख्या धेरै भएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । बुटवल–११ जनसंख्याकै आधारमा ठूलो क्षेत्र भएकाले वडा ८ मा रहेको १ सय ९५ सक्रिय संक्रमित संख्या अन्यको तुलनामा धेरै भएको उपमहानगरले जनाएको छ । बुटवल–८ मा धेरै विद्यालय, कलेज रहेकाले १५ देखि ३० वर्षभित्रकै संक्रमित दर बढी भएको उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए । ‘समुदायमै बसिरहेका व्यक्तिमा संक्रमण देखापरेको छ,’ उनले भने, ‘९० प्रतिशत संक्रमितमध्ये ८० प्रतिशतको अवस्था सामान्य छ । १० प्रतिशतलाई निगरानी गर्ने, स्वास्थ्यबारे बुझ्ने गरिरहेका छौं ।’

अहिले उपमहानगरले घरमा बसेका संक्रमितका लागि अक्सिजन आवश्यक परे सिलिन्डरको व्यवस्थापन गर्ने गरी तयारी अवस्थामा राखेको उनले बताए । सिद्धार्थनगर नगरपालिकामा ३ सय १ जना सक्रिय संक्रमित रहेका छन् । १ सय ३ जना डिस्चार्ज भए । चार जनाको मृत्यु भयो । वडा १, ८, १२ र १९ मा बढी संक्रमित रहेको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमण हुनेमा १५ देखि ३० वर्षका धेरै छन् ।

जिल्लाको तथ्यांकले बिहीबार देखापरेका ४ सय ४७ संक्रमितमध्ये सैनामैनामा १ सय २१, देवदहमा ८२ र अन्य पालिकामा क्रमैसँग केही कम रहेको देखाएको छ । संक्रमणको दर र लक्षणलाई हेर्दा नयाँ भेरियन्ट हो कि भन्ने लागेको बुटवलस्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. नन्दु पाठकले बताए । ‘अहिले निमोनिया, ज्वरो, घाँटी खसखस, टाउको दुखाइ, पखालाजस्ता लक्षण छन्,’ उनले भने, ‘बिरामी भेन्टिलेटरमा पुगेपछि फर्काउनै गाह्रो भइरहेको छ ।’ अहिले निको हुने दर एकदमै कम रहेको उनले बताए ।

प्रकाशित : वैशाख १७, २०७८ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?