गण्डकी प्रदेशसभा बैठक कहिले ?

पोखरा — मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमाथि मतदान हुने दिन राष्ट्रिय जनमोर्चाका सांसद ‘हराए’ पछि स्थगन गरिएको गण्डकी प्रदेशसभाको अर्को बैठक कहिले हुन्छ भने यकिन भएको छैन ।

गण्डकी प्रदेशसभा बैठक कहिले ?

आफ्नो पार्टीका सांसद खिमविक्रम शाही हराएको भन्दै राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले जीवनरक्षाको माग गर्दै निवेदन दिएपछि बुधबार सभामुखले बैठक अनिश्चितकालका लागि स्थगन गरेका छन् ।

मतदानका बेला मोबाइल स्वीच अफ गरी सम्पर्कविहीन भएका सांसद शाही पोखराकै चरक मेमोरियल अस्पतालको आईसीयूमा भेटिएका थिए । प्रदेशसभा सचिवालयले कार्यव्यवस्था परामर्श समितिको बैठक पछिमात्रै अर्को बैठकबारे टुंगो लाग्ने जनाएको छ । दलरूका अनुसार विशेष अधिवेशन सरकारले आफूखुसी अन्त्य गर्न पाउँदैन ।

‘अधिवेशन विषयवस्तु टुंगो लगाएर मात्र अन्त्य हुन्छ,’ कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले भने । संसद्मा अविश्वासको प्रस्ताव पास हुने अवस्था नआए तीनवटै दलले फिर्ता लिन सक्ने र पास हुने अवस्था आए अगाडि बढाउने उनले बताए । ‘अविश्वास प्रस्ताव फेल भए एक वर्षसम्म अर्को प्रस्ताव लैजान पाइँदैन,’ उनले भने, ‘पास हुने अवस्था नआए फिर्ता लिनुपर्ने हुन्छ । तर हामीले फिर्ता लिने विषयमा केही सोचेका छैनौं ।’ उनले अविश्वासको प्रस्ताव फिर्ता लिए पनि फेरि तत्काल दर्ता गर्न सकिने बताए ।

मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव पेस गरेका हुन् । यसको पक्षमा राजमोले पनि मतदान गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका सांसद दीपक कोइरालाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेपछि मात्र प्रक्रिया अघि बढाइने बताए । उनले सांसद शाहीलाई सत्तापक्षले नियतवश लुकाएको आरोप लगाए ।

संसद्मा शाहीको अवस्था र राजमोको निर्णय सार्वजानिक नभएसम्म बैठक अगाडि नबढ्ने उनको भनाइ छ । जसपाका सांसद हरिशरण आचार्यले पनि राजमोकै विषयवस्तु प्रस्ट हुनुपर्ने बताए । ‘सांसद एकाएक बेपत्ता हुनुको कारण सार्वजानिक गर्न छानबिन समिति बनाउनुपर्छ र यथार्थ बाहिर ल्याउनुपर्छ । वैचारिक रूपमा दरो मानिएको राजमोलाई अप्ठ्यारो भएको छ,’ उनले भने, ‘व्यक्ति पार्टी बाहिर गएका हुन् या कारण अर्कै हो बुझ्न जरुरी छ ।’

राजमो संसदीय दलका नेता कृष्ण थापाले भने बुधबारै मतदान प्रक्रिया अघि बढाउन भने पनि सभामुखले रोकेको बताए । उनले अविश्वासको प्रस्तावमाथि नै मतदान गर्ने पार्टीको निर्णय परिवर्तन नभएको बताए ।

प्रकाशित : वैशाख १७, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?