पूर्वरानी कोमल शाहको अवस्था गम्भीर, आईसीयूमा सारियो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वरानी कोमल शाहको अवस्था गम्भीर, आईसीयूमा सारियो

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणका कारण थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आईसीयूमा सारिएको छ । शाहको शरीरमा अक्सिजनको मात्रा निकै कम देखिएपछि आईसीयूमा सारिएको अस्पताल प्रशासनले जनाएको छ ।

फाइल तस्बिर

बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै अस्पतालले श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको जनाएको छ । 'अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,' विज्ञप्तिमा भनिएको छ ।

अस्पताल उच्च स्रोतका अनुसार पूर्वरानी शाहलाई अस्पताल पुर्‍याएदेखि नै अक्सिजनको कमीका कारण धेरै मात्रामा अक्सिजन दिएर राखिएको थियो । अहिले भने हाईफ्लो अक्सिजनको आवश्यकता परेका कारण आईसीयूमा सारिएको हो । 'उहाँको अवस्था निकै गम्भीर छ । यस्तै अवस्था रहे कुनै पनि समय भेन्टिलेटरमा राख्नुपर्ने हुन सक्छ,' स्रोतले भन्यो, 'पूर्वराजालाई भने अहिले सामान्य अक्सिजन सपोर्ट मात्रै चाहिएको छ ।'

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर रहेको विज्ञप्तिमा उल्लेख छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेको विज्ञप्तिमा उल्लेख छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य भएकाले अक्सिजनको सपोर्ट दिनु नपरेको बताइएको छ ।

कोरोना संक्रमणपछि पूर्वराजा ज्ञानेन्द्र , पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह गत वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए ।

केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र दम्पती भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर वैशाख ५ गते नेपाल फर्किएका थिए । ज्ञानेन्द्र उत्तराखण्डको हरिद्वारमा भएको शाही स्नानमा सहभागी भएका थिए । हरिद्वारको कुम्भमेलामा सहभागी भएका सयौंलाई यसअघि नै कोरोना पुष्टि भएको छ ।

प्रकाशित : वैशाख १६, २०७८ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्

भारतलाई सहयोग गर्न विश्व समुदायसँग प्रियांकाको अनुरोध 

एजेन्सी

कोरोनाको दोस्रो लहरसँगै बढ्दो मृत्युदरसँग लडिरहेको भारतका लागि बलिउड अभिनेत्री प्रियांका चोपडाले सहयोग मागेकी छन्  । सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियोमा उनले भारतको गम्भीर अवस्थाको वर्णन गर्दै सहयोगका लागि अनुरोध गरेकी हुन् । 

'म अहिले लन्डनमा छु । मेरा साथीभाइ र परिवारबाट सुन्दैछु भारतको अस्पताल कोभिडका बिरामीले भरिभराउ छन् । आइसीयु खाली छैन । एम्बुलेन्स उस्तै अस्तव्यस्त छन् । अक्सिजनको अभाव छ । अत्यधिक मृत्युले शव जलाउन हम्मेहम्मे परेको छ । भारत मेरो घर हो र अहिले त्यहाँको अवस्था नाजुक छ,' उनले भिडियोमा भनेकी छिन् । भिडियोमार्फत् उनले भारतलाई तत्काल सहयोगको खाँचो परेको उनले बताएकी छिन् ।

'भारतको यस्तो अवस्थालाई विश्व समुदायले ध्यान दिन आवश्यक छ । किन त्यहाँ सहयोगको खाँचो छ म भन्छु- जबसम्म कोही सुरक्षित हुँदैन अरु पनि सुरक्षित हुन सक्दैनन् । त्यसैले आफ्नो स्रोत र शक्तिको प्रयोग गरेर यो महामारीलाई रोकौं,' उनले भनेकी छिन्, 'कृपया सहयोग गर्नुहोस् । मलाई थाहा छ भारतमा यस्तो परिस्थिति किन आयो भनेर धेरै सोच्दै हुनुहुन्छ । त्यसबारे पछि बहस गरौंला तर अहिले तत्काल त्यहाँ सहयोगको खाँचो छ । अहिले भारतलाई तपाईंको खाँचो छ ।'

उनले भारतको लागि राहत संकलन गर्न 'गिभ इन्डिया' फन्ड पनि बनाएकी छन् । 'तपाईंको सानो सहयोगले ठूलो फरक पार्नेछ । ६३ लाख बढीले मलाई फलो गर्नुभएको छ । एक लाखले मात्रै १० डलर सहयोग गर्नुभयो भने १० लाख हुन्छ,' उनले इन्स्टाग्राममा लेखेकी छिन् । यसअघि पनि भारतलाई सहयोग आवश्यक पर्दा प्रियांकाले बोल्दै आएकी थिइन् ।

प्रकाशित : वैशाख १६, २०७८ १२:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×