खड्काको सांसद पद गयो

इकान्तिपुर डेस्क

काठमाडौँ — नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर एमाले प्रवेश गरेका चन्द्रबहादुर खड्काको सांसद पद खारेज भएको छ । खड्कालाई सांसदबाट हटाउन भनी माओवादी केन्द्रले बुझाएको पत्र संघीय संसद् सचिवालयले स्वीकृत गरेको हो । 

खड्काको सांसद पद गयो

खड्का माओवादी केन्द्रबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए । माओवादी केन्द्रको संसदीय दल बैठकले खड्काले दल त्याग गरेको भन्दै उनको सांसद पद रिक्त गराइदिने प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई पत्र पठाउने निर्णय गरेको थियो ।

यसअघि माओवादी केन्द्रले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा र अन्य चार नेतालाई पनि सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको थियो ।

माओवादी केन्द्रबाट प्रतिनिधिसभामा निर्वाचित लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले पार्टी परिवर्तन गरेकाले सांसद पदबाट हटाउन भनी पत्र बुझाएको थियो । उनीहरू चारै जना वर्तमान सरकारमा मन्त्री छन् । उनीहरू नेकपा एमाले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनीत भएका छन् । सांसद पद गएपछि मन्त्रीबाट पनि हटेका उनीहरूलाई पुन: मन्त्री नियुक्त गरिएको हो । उनीहरू संवैधानिक प्रावधानअनुसार ६ महिना मात्रै मन्त्री बन्न पाउनेछन् । सांसद नभएको व्यक्ति ६ महिना मात्र मन्त्री बन्न पाउने व्यवस्था छ ।

फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएर नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि माओवादीका पाँच सांसद एमालेतिर लागेका थिए ।

प्रकाशित : वैशाख १५, २०७८ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?