भेरी अस्पतालका ७० स्वास्थ्यकर्मीलाई कोरोना- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेरी अस्पतालका ७० स्वास्थ्यकर्मीलाई कोरोना

मन्त्रालयका प्रमुख विशेषज्ञ भन्छन्, ‘संक्रमित स्वास्थ्यकर्मीले नै अरु संक्रमितको उपचार गरिरहेका छन्’
ठाकुरसिंह थारु, रुपा गहतराज

नेपालगन्ज — भेरी अस्पताल नेपालगन्जमा कार्यरत ७ चिकित्सकसहित ७० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ओटी, इमर्जेन्सी, पारामेडिक, आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना लागेको हो । जसमा ७ जना इमर्जेन्सीमा कार्यरत चिकित्सक छन् । 

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित । तस्बिर : कान्तिपुर

‘हामीले नर्मल बिरामीलाई भर्ना लिएकै छैनौं,’ डा. राजन पाण्डेले भने, ‘बिरामीले बेड नपाइरहेको अवस्थामा चिकित्सकले अस्पतालमा बस्ने कुरा भएन ।’ अस्पतालमा कोभिड बिरामीका लागि २ सय बेड बनाइएको छ । वार्डका कुनाकाप्चामा समेत बेड थपेर बिरामीको उपचार भइरहेको छ । ‘सामग्रीको अभाव त खासै छैन । प्रमुख कुरा जनशक्ति अभाव हो,’ अस्पताल प्रमुख डा. प्रकाश थापाले भने, ‘महामारी सुरु भएदेखि नै कम जनशक्ति अनि स्रोतसाधनको अभावका बीच स्वास्थ्यकर्मीले काम गर्न छाडेका छैनन् ।’ अस्पतालमा हाल करिब ४ सय स्वास्थ्यकर्मी कार्यरत छन् ।

गत वर्ष कोरोना उपचारका लागि छुट्याइएका चिकित्सक तथा नर्सले निरन्तर काम गरिरहेका छन् । संक्रमित भएपछि आइसोलेसनमा बस्ने र निको भएपछि फेरि उनीहरू काममै फर्किने गरेका छन् । ‘अस्पतालभित्र काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सक ढिलोचाँडो संक्रमित हुने सम्भावना भइहाल्छ,’ कोभिड वार्डकी नर्सिङ इन्चार्ज शिला शर्माले भनिन्, ‘बिरामी नछोएर उपचार सम्भव छैन । बिरामीलाई कसरी बचाऊँ भन्ने मनोविज्ञानले काम गरिरहेका हुन्छौं ।’ अस्पतालमा मास्क, पीपीई, पन्जालगायत सामग्री भने पर्याप्त छैनन् ।

अस्पतालमा भर्ना भएका कोभिडका बिरामीमध्ये ६० जना आईसीयूमा छन् भने १० जना भेन्टिलेटरमा छन् । बाँकेमा मंगलबारमात्रै ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । अस्पताल थप भर्ना लिन सक्ने अवस्थामा छैन । त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका ३० जना स्वास्थ्यकर्मी संक्रमित छन् । बेड अभावका कारण सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा बसिरहेका छन् । ‘एक चिकित्सक क्रिटिकल अवस्थामा रहेकाले अस्पतालमा उपचारमा हुनुहुन्छ,’ अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले भने, ‘यो संख्या थप बढ्न सक्छ ।’

नेपालगन्जस्थित भेरी अस्पतालमा पीपीई प्रयोग गरेर कोरोना संक्रमितको उपचारका लागि खटिएकी एक नर्स । तस्बिर : मधु शाही/कान्तिपुर

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा हाल ५० जना संक्रमित उपचाररत छन् । जसमध्ये २८ जनाको स्थिति गम्भीर अवस्थामा रहेको अस्पतालका उपनिर्देशक डा. श्रेष्ठले बताए । ‘गम्भीर प्रकृतिका संक्रमित धेरै छन् । स्वास्थ्यकर्मी नै संक्रमित हुँदा थप चुनौती थपिएको छ,’ उनले भने । उक्त अस्पतालमा चिकित्सकसहित ५ सय ५० जना स्वास्थ्यकर्मी कार्यरत छन् । कोहलपुरमा हाल १ सय ५० बेडको कोभिड वार्ड बनाइएको छ भने अक्सिजनसहित सय बेड छन् । दुई दिनभित्र अस्पतालमा २ सय ५० बेड पुर्‍याउने अस्पतालका उपनिर्देशक डा. श्रेष्ठले बताए ।

गत वर्ष स्वास्थ्यकर्मीलाई सेवा सुविधा दिने कुरासमेत सरकारले कार्यान्वयन नगरे पनि स्वास्थ्यकर्मी आफ्नो कामबाट विमुख भएका छैनन् । ‘स्वास्थ्यकर्मीको मनोबल घटेको छैन,’ भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. संकेत रिसालले भने, ‘सुविधाको लाभभन्दा पनि सेवाभावले स्वास्थ्यकर्मी बिरामीको सेवामा खटिएका छन् ।’

८० स्वास्थ्यकर्मी थपिँदै

स्वास्थ्य मन्त्रालयबाट आएको विज्ञ टोलीले गरेको सिफारिस सरकारले कार्यान्वयन गरेपछि भेरी अस्पताल प्रशासनलाई केही राहत मिलेको छ । स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा.महेन्द्र श्रेष्ठ र प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.रोशन न्यौपानेसहितको टोलीलाई भेरी अस्पतालको अवस्था बुझ्न नेपालगन्ज पठाएको थियो । अस्पताल प्रशासन र चिकित्सकहरूको परामर्शपछि विज्ञ टोलीले ८० जना स्वास्थ्यकर्मी आवश्यक रहेको सिफारिस मन्त्रालयलाई गरेको थियो ।

सिफारिस गरेको दुई दिनमै मन्त्रालयले बजेट र जनशक्ति थप्ने निर्णय गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले मन्त्रालयले निर्णय पठाएपछि तीन दिनभित्रै ८० जना जनशक्ति थप्ने गरी विज्ञापन गरिसकेको बताए । मन्त्रालयले जनशक्तिका लागि असारसम्म खर्च हुने ६८ लाख बजेट पनि निकासा गरेको छ । ‘विज्ञ टोली आएपछि धेरै ठूलो राहत मिलेको छ,’ अध्यक्ष धितालले भने, ‘तीन दिनपछि उपचारमा सहज हुने विश्वास गरेका छौं ।’ मन्त्रालयका अनुसार भेरीका लागि १० जना मेडिकल अफिसर, दुई जना नर्सिङ अधिकृत, तीन जना एनेस्थेसियोलोजिस्ट, पाँच जना ल्याब टेक्निसियन, ४० जना स्टाफ नर्स र २० जना सरसफाइकर्मी गरेर ८० जना जनशक्ति थपिँदैछन् ।

मन्त्रालयले भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामीको उपचारका लागि २५ हजार, आईसीयूका लागि १० हजार र अक्सिजन बेडका लागि ३ हजार ५ सय उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसअघि अस्पतालले भेन्टिलेटरका बिरामीका लागि १५ हजार, आईसीयूका लागि ५ हजार उपलब्ध गराउँदै आएको थियो ।

प्रकाशित : वैशाख १५, २०७८ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्

भेन्टिलेटर खरिद गर्न दिइएको डेढ करोड फ्रिज

ठाकुरसिंह थारु, रुपा गहतराज

नेपालगन्ज — भेरी अस्पताललाई कोभिड विशेष अस्पताल बनाउन स्थानीय प्रशासनले चन्दा माग गरिरहेका बेला भेन्टिलेटर खरिद गर्न दिइएको डेढ करोड रकम फ्रिज भएको छ ।

बाँके निर्वाचन क्षेत्र नम्बर २ का सांसद तथा पूर्व सहरी विकास मन्त्री इस्तियाक राईले स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत ठेक्का हुन नसकेका दुई योजनाको रकम भेन्टिलेटर खरिद गर्न डेढ करोड रकम दिएका थिए । तर नेपालगन्ज उपमहानगरपालिकाको वेवास्ताका कारण भेन्टिलेटर खरिद गर्न नसकिएको हो ।

स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम निर्देशक समितिको गत १४ गतेको बैठकबाट संशोधन गरी कोष तथा लेखा नियन्त्रण कार्यालय र नेपालगन्ज उपमहानगरपालिकालाई असार १५ गते निर्णय पठाइएको थियो । तर उपमहानगरपालिकाले रकम निकासाका लागि पत्रसमेत पठाएन ।

‘दुई लाइनको पत्र पठाएर कोभिड कोषको खातामा रकम निकासा गरेको बजेट फ्रिज हुने थिएन । तर नगरपालिकालाई पत्र लेख्नसमेत फुर्सद भएन,’ पूर्वै मन्त्री राईले भने,‘कोभिडको महामारीका बेला भेन्टिलेटरको रकम फ्रिज हुनु निकै दुःखद हो । मेयरले सार्वजनिक रुपमै माफी माग्नु पर्छ ।’ भेरी अस्पतालमा एउटा मात्रै भेन्टिलेटर छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा असार ७ गते पठाइएको पत्रमा स्थानीय तहले आफ्नो क्षेत्रमा खर्च नभई बचत भएको रकम एकिन गरेर निर्देशक समितिको संयोजक र जिल्ला समन्वय समितिलाई जानकारी गराउन निर्देशन दिएको थियो ।

निर्देशक समितिको संयोजक सम्बन्धित निर्वाचित संघीय सांसद रहने व्यवस्था छ । तर उपमहानगरपालिकाले भेन्टिलेटर किन्न छुट्याइएको बजेट बारे निर्देशक समितिको संयोजक राईसमेतलाई जानकारी नदिएर फ्रिज गराएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमसेर राणाले पूर्वमन्त्री राईले नगरपालिकालाई नभइ भेरी अस्पताललाई भेन्टिलेटर किन्‍न बजेट छुट्याएको दाबी गरे । ‘१० दिनमा डेढ करोडको समान किन्न सकिन्छ ? कम्तीमा समान किन्‍न चार महिना लाग्छ । त्यसैले हाम्रो कारणले बजेट फ्रिज भएको होइन,’ उनले भने,‘नचाहिने कुरा गरेर हुन्छ ।’ तर कोष तथा लेखा नियन्त्रक कार्यालयले भने कोभिड कोषमा रकम निकासा गरेको भए फ्रिज नहुने जनाएको छ ।

प्रकाशित : भाद्र १०, २०७७ १४:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×