जसपामा बैठक बोलाउने विषयमै विवाद- समाचार - कान्तिपुर समाचार

जसपामा बैठक बोलाउने विषयमै विवाद

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुबीच केन्द्रीय कार्यकारिणी बैठक बोलाउने विषयमा विवाद भएको छ ।  मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको शीर्ष नेताहरुको अनौपचारिक छलफलमा केन्द्रीय कार्यकारिणी बैठक बोलाउने वा नबोलाउने बिषयमा विवाद भएको हो ।

फाइल तस्बिर

छलफलमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई सहभागी थिए । जसपाका एक नेताका अनुसार भट्टराई र यादव तत्काल कार्यकारिणी बैठक बोलाएर सरकार गठनबारे निर्णय गर्ने प्रस्ताव गरेका थिए । तर, ठाकुर र महतो बैठक बोलाउने पक्षमा नदेखिएपछि नेताहरुबीच सहमति जुट्न नसकेको हो ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले नयाँ गठबन्धनबारे जसपाको औपचारिक निर्णय मागेका थिए । जसपामा ठाकुर र महतो केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने भट्टराई र यादवपक्ष ओलीविरुद्धको गठबन्धनको पक्षमा छन् ।

तर, जसपाले औपचारिक निर्णय नगरे पनि कांग्रेस र माओवादीले भने अविश्वास प्रस्ताव अगाडि बढाउने तयारी गरेका छन् । जसपामा ठाकुर र महतोले ओलीलाई समर्थन गरे भट्टराई र यादवपक्षले आफूहरुलाई सहयोग गर्ने अपेक्षा कांग्रेस र माओवादीको छ ।

प्रकाशित : वैशाख १४, २०७८ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्

दुई दिनमा एक लाखले उपत्यका छाडे

प्रशान्त माली

काठमाडौँ — सरकारले बिहीबारबाट उपत्यकासहित संक्रमण बढेका जिल्लामा १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै उपत्यका छोड्नेको संख्या बढेको छ ।

संक्रमण तीव्र भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो थातथलो पुग्ने चाहनेहरुलाई मध्यनजर गरेर तीन दिनपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

सर्वसाधारण चापागाउँ, नागढुंगा, साँगा, बालाजु, कोटेश्वर, बल्खु र थानकोट नाका भएर उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार ५२ हजार जनाले उपत्यका छाडेका हुन् ।

महाशाखाका प्रवक्ता कृष्ण अधिकारीले मंगलबार दिउँसोसम्ममा ५० हजार भन्दा बढीले उपत्यका छाडिसकेको बताए । ‘सोमबार र मंगलबार भन्दा बुधबार संख्या बढ्ने देखिएको छ,’ उनले भने ।

प्रकाशित : वैशाख १४, २०७८ १४:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×