माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक- समाचार - कान्तिपुर समाचार

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ । मंगलबार दिउँसो ३ बजेलाई बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

फाइत तस्बिर


केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेका बेला माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेस गर्ने राजनीतिक प्रतिवेदन र केन्द्रीय कार्यालयले पेस गर्ने विधानमाथि छलफल हुने भएको छ । त्यसबाहेक पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ ।

कांग्रेस, माओवादी र जसपाको एउटा समूह मिलेर प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । नेताहरूका अनुसार अविश्वास प्रस्ताव दर्ता भएपछि मात्रै माओवादीले समर्थन फिर्ता लिने भएको छ ।

तर, जसपाले औपचारिक रूपमा निर्णय नगर्दा अविश्वास प्रस्तावमा ढिलाइ भएको कांग्रेसका एक नेताले जानकारी दिए । उनका अनुसार अब जसपाले निर्णय गरे वा नगरे पनि एक–दुई दिनमा अविश्वास प्रस्ताव दर्ता गराउने तयारी भएको छ । कांग्रेस र माओवादीले भने ओली नेतृत्वको सरकार ढाल्ने औपचारिक निर्णय गरिसकेका छन् ।

प्रकाशित : वैशाख १४, २०७८ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक

कान्तिपुर संवाददाता

काठमाडौँ — तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र नेपाललाई ट्रान्जिट बनाउन रोक लगाइने भएको छ ।

अध्यागमन विभागले एक सूचना प्रकाशित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जाने उद्देश्यले नेपाल आगमन गर्न र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिटका रुपमा प्रयोग गरी अन्य गन्तव्य जान रोक लगाइएको जनाएको छ ।

अध्यागमन विभागका निर्देशक झंकनाथ खनालले वैशाख १५ गते राति १२ बजेदेखि लागू हुने गरी रोक लगाइएको बताएका छन् । पछिल्लो समय भारतबाट हुने अधिकांश उडानलाई विभिन्न मुलुकले प्रतिबन्ध लगाएका कारण भारतबाट नेपाल हुँदै तेस्रो मुलुक जानेको संख्या बढिरहेको छ ।

निर्देशक खनालले विदेशबाट नेपाललाई अन्तिम गन्तव्यस्थल बनाई आगमन गर्न र नेपालबाट विदेश जाने अनुमति भने साविकबमोजिम नै नियमित रहेको बताएका छन् ।


प्रकाशित : वैशाख १४, २०७८ १३:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×