कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

भेरी अस्पतालमा मास्क छैन

पीपीई, पन्जालगायतको पनि अभाव, दिनमा ३ सय सिलिन्डर अक्सिजन खपत
ठाकुरसिंह थारु, मधु शाही

नेपालगन्ज — कोरोना उपचार केन्द्र भेरी अस्पतालमा उपचारका दिनहुँ संक्रमित थपिने गरेका छन् । सबैलाई बेडमा भर्ना गरेर उपचार सम्भव छैन । अस्पताल आफैं अभावै अभावबाट गुज्रिरहेको छ । यहाँ बिरामीको अनुपातमा चिकित्सक र स्वास्थ्यकर्मी छैनन् ।

भेरी अस्पतालमा मास्क छैन

शनिबार संघीय सरकारसित मेडिकल टिम माग गरिएको छ । दिनमा तीन सय सिलिन्डर अक्सिजन आवश्यक परिरहेको छ । अस्पताल आर्थिक अभावमा छ । विभिन्न संस्थाले अस्पताललाई सहयोग गरिरहे पनि त्यो पर्याप्त नभएको अस्पतालको भनाइ छ ।

एक वर्षअघि कोरोनाको पहिलो लहरकै बेला अस्पतालका लागि साधन स्रोत माग गरिएको थियो । अभाव चर्किएपछि शनिबार संघीय सरकारसँग १० र प्रदेश सरकारसँग ५ करोड रुपैयाँ मागिएको छ । मिल्ने/नमिल्ने अनिश्चित छ । अहिले स्वास्थ्य सुरक्षाबिना स्वास्थ्यकर्मी अस्पतालमा खटिएका छन् । पीपीई, पन्जा, मास्क अभाव हुन थालेको छ । एउटा चिकित्सक/नर्सले दर्जनौं बिरामी हेर्नुपर्ने अवस्था छ । ‘बेड थपेर मात्र समाधान हुँदैन । अक्सिजन, भेन्टिलेटर चाहिन्छ,’ अस्पतालका चिकित्सक संकेत रिसालले भने, ‘मुख्य कुरा जनशक्ति हो । हामीलाई जनशक्ति अभाव छ ।’

आपूर्तिकर्ताले गत बिहीबार अक्सिजन सिलिन्डर समयमै उपलब्ध नगराउँदा करिब २ घण्टा तनाव भयो । अक्सिजन सिलिन्डर आपूर्तिकर्ताको प्लान्टमा विद्युत् ट्रान्सफर्मर बिग्रिएपछि भर्न नपाउँदा समस्या देखिएको थियो । कोभिड वार्डमा पछिल्लो समय बिरामीको चाप बढेसँगै अक्सिजनको माग पनि बढेको छ । खपत बढी हुँदा अभाव सिर्जना हुन सक्ने देखिएको छ । भेरी अस्पतालमा दिनमा २ सय ५० देखि ३ सय वटा अक्सिजन सिलिन्डर खपत भइरहेको छ । ‘सामान्य अवस्थामा अस्पतालमा दिनमा १० देखि १५ वटा ठूला अक्सिजन सिलिन्डर मात्रै प्रयोग हुन्थ्यो,’ भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले भने, ‘कोभिडका धेरै बिरामीमा अक्सिजनको माग बढेकाले खपत पनि बढेको हो ।’ अस्पतालमा रहेका अधिकांश बिरामी अहिले अक्सिजनसहित भेन्टिलेटरमा छन् ।

डा. थापाका अनुसार नेपालगन्जमा दुई वटा मात्रै अक्सिजन सिलिन्डर आपूर्तिकर्ता छन् । ती दुवैले भारतको एउटै कम्पनीबाट तरल अक्सिजन आपूर्ति गरी सिलिन्डर भरेर नेपालगन्जका विभिन्न अस्पताल, मेडिकल कलेज र नर्सिङ होममा दिने गर्छन् । अस्पतालसँग अक्सिजन प्लान्ट छैन । कोरोना भाइरसले ग्रस्त बनाएका बिरामीको शरीरमा अक्सिजनको मात्रा घट्दै जाँदा अक्सिजन दिएर बचाउन सकिन्छ । ‘बिरामीलाई बचाउन सकिने अक्सिजन नहुँदा उपचारमा समस्या पर्ने हो कि भन्ने चिन्ता बढेको छ,’ डा. थापाले भने । उनका अनुसार अस्पतालसँग विकल्पका रूपमा एकै पटकमा ठूलो मात्रामा भण्डारण गर्ने क्षमता पनि छैन ।

डा. थापाका अनुसार एउटा अक्सिजन सिलिन्डरका लागि ९ सय १५ रुपैयाँ खर्च हुन्छ । सरकारले बिरामीको प्रकृतिअनुसार उपचार गरेबापत रकम प्रदान गर्ने गरेको छ । ‘पहिले दिनमा १५/२० सिलिन्डर ल्याउने, प्रयोग गर्ने अनि खाली सिलिन्डर फेरि भर्न प्लान्टमा पठाउने गरिन्थ्यो,’ उनले भने । अहिले माग बढेपछि अस्पतालले लिक्विड अक्सिजन ट्यांक जोड्ने योजना अघि सारेको डा. थापाले सुनाए । ‘सिलिन्डर भर्ने, लोड गर्ने झन्झटिलो प्रक्रिया छ,’ उनले भने, ‘एक साताभित्र लिक्विड अक्सिजन ट्यांक जडान गर्ने योजना छ ।’ नेपालगन्जमा कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सहयोगका लागि संघीय सरकारसँग माग गरे पनि त्यसको कुनै प्रतिक्रिया आएको छैन ।

प्रकाशित : वैशाख १४, २०७८ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?